नाम- राखी सिंह ढकरे, बुबा- पेठा व्यापारी दिनेश सिंह, निवासी- आगरा।
यो हो भगवा लुगा लगाएकी १४ वर्षीया बालिकाको पुरानो नाम र ठेगाना। अहिले उनी गौरी गिरी महारानी बनेकी छिन्। ठेगाना जुना अखाडा हो। उनी चार दिनअघि परिवारसहित महाकुम्भमा आएकी थिइन्। नागाहरूलाई देखेर उनले सन्यास लिने निर्णय गरिन्। परिवारसहित घर जान मानिनन्। त्यसपछि अभिभावकले जुनाअखाडाका महन्त कौशल गिरीलाई दान दिए।
भारतीय सञ्चार माध्यमका अनुसार आगरा निवासी सन्दीप उर्फ दिनेश सिंह ढाकरे पेठा व्यवसायी हुन्। परिवारमा श्रीमती रीमा सिंह, छोरी राखी सिंह (१४) र कान्छी छोरी निक्की (७) छन्। दिनेशका दुई छोरीहरू आगराको कन्भेन्ट स्कूल स्प्रिंगफिल्ड इन्टर कलेजमा कक्षा ९ र २ मा पढ्छन्। दिनेश सिंहको परिवार श्री पञ्चदशनाम जुना अखाडाका महन्त कौशल गिरीसँग धेरै वर्षदेखि आबद्ध छ।
आमा रीमा सिंहका अनुसार उनकी जेठी छोरी रीमा पढाइमा चतुर छिन्। उनले बाल्यकालदेखि नै भारतीय प्रशासनिक सेवामा भर्ना हुने सपना बोकेकी थिइन्, तर कुम्भमा आएपछि उनको मन परिवर्तन भयो। चार दिनअघि मात्रै परिवार आध्यात्मिक गुरु कौशल गिरीको आशीर्वाद लिन कुम्भमा आएको थियो। अहिले छोरीले सन्यास लिएर धर्म प्रचारको बाटोमा लागेकी छिन्। छोरीको इच्छाअनुसार गुरु परम्परा अनुसार दान दिए।
सन्त परम्पराअनुसार गुरुले राखी सिंहलाई मन्त्र जप गर्दा गंगामा स्नान गराए। अहिले वैदिक परम्पराअनुसार गुरु–शिष्य परम्परामा सन्यासको दीक्षा दिने प्रक्रिया र अनुष्ठान भइरहेको छ। राखी उर्फ गौरी गिरी महारानी सुरुका दिनमा आमाबुवा र बहिनीसँग अखडा क्याम्पमा बस्दै आएकी छिन्। जब उनी परिवारसँग खाना खान्छिन्, परिवारका सदस्यहरू भावुक देखिन्छन्।
गौरी गिरी महारानी भन्छिन्, 'बाल्यकालदेखि नै आईएएस बन्ने सपना थियो तर कुम्भमा आएपछि मेरो सोच फेरियो। त्यसैले अब म सन्यासको दीक्षा लिएर सनातन धर्मको झण्डामुनि धर्म प्रचार गर्न चाहन्छु।'
बुबा दिनेश सिंह आफ्नी छोरीलाई धेरै माया गर्छन्। भन्छन्, उनलाई भगवा लुगामा देखेर मन दुखी हुन्छ । आँखाबाट आँसु झर्न थाल्छ। अहिले म आफूलाई नियन्त्रण गर्न खोज्दै छु। छोरीको चाहना मान्न बाध्य छु।
१२ वर्ष कठोर तपस्या गर्नुपर्ने
गुरु महन्त कौशल गिरीका अनुसार सन्यास परम्परामा दीक्षा लिनको लागि उमेरको सीमा छैन। भिक्षुको जीवन धार्मिक झण्डा र आगो (धुनी) अगाडि बित्छ। गौरी गिरी महारानीले १२ वर्ष कठोर तपस्या गर्नुपर्ने हुन्छ। अखाडामा बसेर गुरुकुल परम्पराअनुसार शिक्षा ग्रहण गर्ने छिन्। जहाँ उनलाई वेद, उपनिषद र धार्मिक ग्रन्थहरूमा निपुण बनाइने छ। त्यसपछि सन्त गौरी गिरी महारानीले आफ्नो तपस्याद्वारा सनातन धर्मको प्रचारप्रसार गर्नेछन्। एजेन्सी
प्रकाशित: २५ पुस २०८१ ०८:५२ बिहीबार