अमेरिकाका ३९औं राष्ट्रपति जिम्मी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ। उनको निधनको खबरले नेपालमा पनि शोक छाएको छ। उनको निधनसँगै नेपालले शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने आत्मीय मित्र गुमाएको पूर्वअर्थमन्त्री तथा अमेरिकाका पूर्वराजदूत भेषबहादुर थापाले बताए। उनले आफू राजदूतका रूपमा अमेरिकामा उनकै कार्यकालमा बिताएको सम्झँदै त्यो बेला ओहोदाको प्रमाणपत्र बुझाउन जाँदा कार्टरले प्रजातन्त्र र मानवअधिकारमाथि आफ्नो धारणा राख्दै नेपालले त्यसतर्फ कदम चाल्नुपर्ने बताएको सम्झिए।
‘कार्टर एकदमै भलादमी व्यक्तिका रूपमा म सम्झन्छु,’ पूर्वराजदूत थापा भन्छन्, ‘म अमेरिकामा छँदै इजरायल र इजिप्टबीच शान्तिसम्झौता गराउन उहाँले क्याम्प डेभिडमा जुन भूमिका खेल्नुभयो, त्यसलाई उहाँले जीवनभर आदर्श बनाउनुभएको मैले बुझें । उहाँले त्यसलाई लोकतन्त्र र मानवअधिकार अनि विश्वशान्तिका लागि मूलमन्त्र बनाउनुभयो।’
माओवादी द्वन्द्व उत्कर्षमा रहेका बेला नेपाललाई अमेरिकाले आतंकवादी देशको रूपमा घोषित गरेको थियो। तिनलाई वार्तामा ल्याउन अमेरिकी सरकारको नीतिविपरीत काम गर्नुपरे पनि आफूपछि नपर्ने कार्टरको अडानका कारण माओवादीलाई मूलधारमा ल्याउन भूमिका खेल्न सहज भएको कार्टर सेन्टरका तत्कालीन राजनीतिक विश्लेषक घनश्याम ओझा बताउँछन्। पहिलो संविधानसभा चुनावका बेलामा कैयौं ठाउँमा माओवादीले बुथ क्याप्चर गरेको खबर पाएर पनि त्यसलाई सानातिना घटनाका रूपमा लिँदै कार्टरले निर्वाचन सफल भएको बताउँदा उनी आलोचनाको केन्द्रमा रहेका थिए।
जिम्मी कार्टर आफू राष्ट्रपति पदबाट बाहिरिएपछि स्थापना गरेको कार्टर फाउन्डेसनले संसारभर शान्ति स्थापना गर्न भूमिका खेल्यो। सोही भूमिकाका आधारमा उनलाई नोबेल फाउन्डेसनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरेको थियो। यो जिम्मेवारीलाई उनले नेपालमा शान्ति स्थापनाका लागि गम्भीर बनाएको ओझा बताउँछन्। त्यसैले उनले दुईदुई पटक नेपाल भ्रमण गरेका थिए।
‘नेपालको शान्ति प्रक्रियामा उहाँ कति गम्भीर हुनुहुन्थ्यो भने ८९ वर्षको उमेरमा अशक्त अवस्थाका बाबजुद नेपाल आउनुभयो र माओवादीलाई पुनः जंगल जाने अवस्थाबाट जोगाउनुभयो,’ ओझाको बुझाइ छ,’ उहाँ एउटा अभिभावकजस्तो गरी उभिएर शान्ति स्थापनाका लागि जोखिम नै लिनु परे पनि लिनुपर्छ भन्ने अठोट लिएर शान्ति बिथोलिनबाट जोगाउनुभएको थियो।’
नेपालमा २०६१ सालमा तत्कालीन सात दल र माओवादीबीच दिल्लीमा १२ बुँदे समझदारीपछि माओवादीलाई मूलधारमा ल्याउन आफ्नोतर्फबाट भूमिका खेल्न नेपालमा कार्टर सेन्टरको स्थापना भएको थियो। जुन बेला माओवादीको डरका कारण जिल्ला र गाउँ जान अप्ठेरो थियो, त्यो बेला सेन्टरकै सहजीकरणले कांग्रेस तथा एमालेका नेताहरूले गाउँ तथा सदरमुकाम जाने, राजनीतिक कार्यक्रम गर्ने र चुनावी प्रचारप्रसार गर्नसक्ने वातावरण बनेको ओझा बताउँछन्।
यस्ता अनेक पृष्ठभूमिमा कार्टरको भूमिकालाई नेपालले बिर्सन नहुने थापाको भनाइ छ। शान्ति प्रक्रियामा ल्याउने क्रममा पहिलो पटक कार्टरको नेपाल भ्रमणलाई अमेरिकामै हुँदा आफूले सहजीकरण गरेको समेत थापाले स्मरण गरे। ‘उहाँ आफूलाई एउटा किसानको छोरो मान्नुहुन्थ्यो र त्यो किसानी सरलता उहाँको व्यक्तित्वमा झल्कन्थ्यो,’ थापा भन्छन्,’ जीवनभर उहाँले आफ्नो लोकतन्त्र र मानवअधिकारमाथिको प्रतिबद्धतालाई शिरोपर गर्दा नेपालले पनि अभिभावकत्व प्राप्त गर्यो। माओवादीलाई मूलधारमा ल्याउन भूमिका खेल्ने अनेक पाटाहरूमध्ये कार्टरको भूमिका पनि स्मरणीय छ।’
थापा अमेरिकामा राजदूत रहँदा सँगै रहेकी छोरी मञ्जुश्रीकै उमेरकी उनकी छोरी एमी थिइन्। मञ्जुश्रीले कार्टरसँगको पहिलो भेट सम्झेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पहिलो भेटमा तिमी जत्रै मेरी छोरी एमी छिन् भनेर आत्मीय बनेका कार्टरले पछि राष्ट्रपतीय चुनाव हार्दा म अचानक नै रोएँ। उनी त्यति प्यारा थिए।’
अमेरिकी इतिहासमा सबैभन्दा बढी बाँच्ने राष्ट्रपतिको कीर्तिमान जिम्मीकै नाममा छ। गएको वर्ष नोभेम्बरमा सार्वजनिक कार्यक्रममा देखिएयता उनी हस्पिस सेवामा थिए। उनी आफ्नो जन्मस्थलो जर्जिया राज्यको प्लेनमै बसोबास गरिरहेका थिए। गत नोभेम्बरमा उनकी पत्नी रोजलिनको ७७ वर्षको उमेरमा निधन भएपछि अन्तिम बिदाइका लागि देखा परेबाहेक उनी सार्वजनिक रूपमा देखिएका थिएनन्।
डेमोक्रेटिक पार्टीको तर्फबाट जर्जिया राज्यको गभर्नर हुँदै सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति रहेका उनको कार्यकाल निकै उतारचढावपूर्ण रहेको थियो। उनको कार्यकालमा अमेरिकाले उच्च ब्याजदर तथा मुद्रास्फीति झेलेको थियो। सन् १९७८ मा उनी इजिप्ट र इजरायलबीच शान्तिसम्झौता गराउन सफल भएका थिए। यसका लागि उनले क्याम्पड डेभिडमा दुई देशबीच सुलह (सम्झौता) गराएका थिए।
उनको कार्यकालको अन्त्य हुँदै गर्दा इरानी आन्दोलनकर्ताले ५२ जना अमेरिकीलाई बन्दी बनाएको घटना र तिनलाई उद्धार गर्न गएको हेलिकोप्टर दुर्घटना हुँदा अमेरिकाको ठुलो बेइज्जती भएको प्रचार गरिँदा उनले दोस्रो कार्यकालमा नराम्रोसँग पराजय भोग्नुपरेको थियो। उनलाई हलिउडको हिरो हुँदै क्यालिफोर्निया राज्यको गभर्नर बनेका रोनाल्ड रेगनले पराजित गरेका थिए।
इजिप्ट र इजरायलबीच शान्तिसम्झौता गराउन सकेको श्रेय भने उनलाई जीवनभर सन्तोषको विषय थियो। यसैलाई उनले जीवनभरको उद्देश्य बनाएका थिए र कार्टर सेन्टर स्थापना गरे। उनले संसारभरका द्वन्द्व रोक्न, प्रजातान्त्रिक अभियानलाई सघाउन र मानव अधिकारका पक्षमा आवाज उठाएको भन्दै संसारभर शान्ति स्थापनार्थ उनको निरन्तर प्रयासका कारण उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
जिम्मीले बुवा अर्लको निधनपछि केही वर्ष खेतीकिसानी नै गरे। सन् १९६० को दशकबाट राजनीति गरेका थिए। उनले पहिलो पटक राजनीति गर्दा जर्जिया राज्यको सिनेट सदस्य भए। पछि सन् १९७० मा उनी जर्जियाको गभर्नरसम्म बने। सन् १९७४ मा उनले राष्ट्रपति पदका लागि दाबेदारी गरिरहेका थिए तर उनको राजनीतिक उचाइ नपुगेको भन्दै उनको दाबेदारीलाई खारेज गरिएको थियो।
तर जब वाटरगेट काण्डमा राष्ट्रपति रिचर्ड निक्सनको अन्तर्राष्ट्रिय बेइज्जती भयो, कार्टरले आफूलाई ‘गाउँको केटा’का रूपमा स्थापित गरे, जसले बाहिरिया छवि बनाउन उनी सफल भए। यही कारण उनको राष्ट्रिय पहिचान बन्यो। सन् १९७६ मा ५१ प्रतिशत लोकप्रिय मतका साथ उनी राष्ट्रपति चुनिएका थिए।
उनका अन्य नीतिहरूमध्ये भियतनाम युद्धमा भगौडाहरूलाई आममाफी दिइनु पनि एउटा स्मरणीय कार्य मानिन्छ। उनी राष्ट्रपति भएपछि भारत भ्रमणमा जाँदा हरियाणाको एउटा गाउँलाई नै कार्टरपुरी नाम राखिएको थियो। इन्दिरा गान्धीको तानाशाही शासनविरुद्ध जब जनता पार्टीको सरकार बन्यो, त्यसपछि उनले भारत भ्रमण गरेका थिए। उनले संसद्मा आफू तानाशाही र लोकतन्त्रको पक्षमा सधैं अडिग रहने बताएका थिए।
त्यो बेला उनले आफ्नी आमा लिलियनले सन् १९६० को दशकमा पिस कोर्पको स्वयंसेवकका रूपमा काम गरेको सम्झिएका थिए। ९० वर्षको उमेरमा पनि उनी घरबारविहीनहरूका लागि ह्याबिटाट फर ह्युमानिटी संस्थामार्फत काम गरिरहेका थिए। अमेरिकामा हाल राष्ट्रपतिका रूपमा सेवा गरेका पाँच जना मात्र जीवित छन्, बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा, जो बाइडेन र डोनाल्ड ट्रम्प। कार्टरका चार छोराछोरी, ११ नातिनातिनी र १४ पनाति–पनातिनी छन्। उनले ह्वाई नट द बेस्ट, फेथ, अ फुल लाइफ : रिफ्लेक्सन्स एट नाइन्टी जस्ता पुस्तक पनि लेखेका थिए।
प्रकाशित: १६ पुस २०८१ ०७:५१ मंगलबार