शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नू भनी प्रधानमन्त्रीलाई आदेश दिँदै सिरियाली राष्ट्रपति बसर अल–असद रुसमा शरणागत भएपछि सिरियामा अब के होला भन्ने आकलन हुन थालेको छ।
असदको यो पतन यति चाँडो होला भन्ने कसैले पनि सोचेको थिएन। बसर अल–असदले सन् २००० मा उनका पिता हाफिज अल–असदको निधनपछि सत्ता सम्हालेका थिए। उनका बुवा हाफिजले २९ वर्षसम्म सिरियामा शासन गरेका थिए। उनको २९ वर्षे शासनकालमा आफ्ना विरोधीहरूलाई सफाया नै गरेका थिए।
त्यही सिको गर्दै उनका छोरा बसर अल असदले कठोर र दमनकारी सत्ता सञ्चालन गर्दै आइरहेका थिए। असद उनका बुवाभन्दा कम क्रूर होलान् भन्ने धेरैको अपेक्षाविपरीत उनी अझ चर्को देखिए। उनले सत्ता सम्हालेको १० वर्ष बित्दानबित्दै सन् २०११ मा भएको शान्तिपूर्ण विरोध प्रदर्शनलाई क्रूरतापूर्वक नियन्त्रण गर्न सफल भएका थिए। यसै अवधिमा सिरियामा गृहयुद्ध सुरु भयो। यसमा पाँच लाखभन्दा बढी मारिए भने ६ लाखभन्दा बढी शरणार्थी हुन पुगे।
असदले रुस र इरानको सहयोग लिएर विरोधीलाई नियन्त्रणमा लिएका थिए र शासन सत्ता बचाउन सफल भएका थिए। रुसले कैयौैं ठाउँमा हवाई आक्रमण गरेर विरोधीहरूलाई तितरबितर पारिदिएको थियो। उता इरानले सिरियामा आफ्ना सैन्य सल्लाहकार पठायो, छिमेकी लेबनानमा विद्रोही हिजबुल्लाहलाई प्रशिक्षण दिएर सिरियामा असदका पक्षमा लड्न पठायो। यसरी रुस र इरानको सहयोगमा असदले आफ्नो सत्ता बचाइरहेका थिए।
यसपटक भने हिजबुल्लाहलाई इजरायली आक्रमणले लगभग तहसनहस बनाइदियो भने रुस युक्रेनमा व्यस्त भएकाले उसले सहयोग गर्न सक्ने अवस्था बन्न सकेन। यी दुईको सहयोगबिना विद्रोहीलाई रोक्न सिरियाली सेना लगभग असमर्थन नै बने। गत साता विद्रोही हयात तहरिर अस साल (एचटिएस) ले नेतृत्व गरेको विद्रोहीलाई असदको सेनाले रोक्ने कुनै इच्छा देखाएन।
त्यसैले बिना कुनै ठुलो संघर्ष सिरियाको सबैभन्दा दोस्रो ठुलो सहर अलेप्पो कब्जा हुन पुग्यो। त्यसको केही दिनमा हमा र त्यसपछि होम्सजस्ता सहरमाथि विद्रोहीले सहजै कब्जा जमाए। विद्रोहीको यो सफलताले सिरियाली राजधानी दमास्कस एक्लो हुन पुग्यो र केही घण्टामा नै असद भाग्नुपर्ने अवस्था सिर्जना भयो। यसरी असद परिवारको आधा शताब्दी लामो शासन अत्त्य भयो।
सशक्त सिरिया
सन् २०२४ मा जारी ग्लोबल फायर पावर इन्डेक्सका अनुसार सैन्य शक्तिमा सिरिया अरब क्षेत्रको छैटौं शक्तिशाली मुलुक थियो भने अन्तर्राष्ट्रिय स्तरमा ६०औं शक्तिशाली थियो। यो इन्डेक्स सैनिक संख्या, सैन्य उपकरण, मानव संशोधन र अन्य विषयको अध्ययन गरी बनाइएको थियो।
सिरियाली सेनालाई अद्र्धसैनिक र अन्य मिलिसियाको पनि समर्थन थियो। सोभियत संघका पुराना सैन्य उपकरणले लैस ऊसँग १५ सयभन्दा बढी ट्यांक, तीन हजारभन्दा बढी बख्तरबन्द गाडी, तोप र मिसाइल प्रणाली पनि थियो। यो सेनासँग हवाई युद्ध लड्ने अत्याधुनिक विमान, हेलिकोप्टर र प्रशिक्षण विमान पनि थिए। जलसेनाको एउटा टुकडी पनि छ।
यति हुँदाहुँदै पनि अचानक कसरी असद भाग्नुप¥यो त ? यसका कारणहरूमा पछिल्लो समय असदसँग डेढ लाख हाराहारी सेना रहनु थियो। पछिल्लो दशकमा भएको गृहयुद्धमा धेरै सैनिक हताहत भएर आधा बाँकी रहेको थियो भने कतिपय सैनिकले राष्ट्रिय सेना छाडेर विद्रोहीसँग मिलेका थिए।
सेनालाई नियमित दिन सक्ने तलब थिएन। सन् २०१९ यता सिरियाली सैनिक तथा तिनीहरूसँग काम गर्ने सबैलाई अमेरिकाले आर्थिक प्रतिबन्ध लगाएको थियो। गएका तीन वर्षमा त सिरियाली सैनिकको अवस्था ज्यादै नाजुक अवस्थामा पुगिसकेको थियो।
यही देखेर असदले गत साता सेनाको तलब ५० प्रतिशतले बढाउने घोषणा गरेका थिए। यो घोषणा निकै ढिला भयो। मनोबलबिनाका सैनिकले विद्रोहीलाई साथ दिन थालेपछि केही दिनमै विद्रोहीहरू राजधानी दमास्कससम्म आइपुगे। यस घटनाले रुस र इरानलाई नराम्रो धक्का लागेको छ।
असदको शासनमा हिज्बुल्लाह र इरानीहरूले राम्रो स्वागत पाउने गरेका थिए। इरानले आफ्नो प्रभावलाई राम्रोसँग फैलाइरहेको थियो। इजरायलले हिजबुल्लाहको संगठन नै तहसनहस हुने गरी ध्वस्त पारिदिएका कारण उसले असदलाई सहयोग गर्न सक्ने अवस्था नै रहेन। यही बेला इरानले समर्थन गरेको हुतीलाई यमनमा विभिन्न गुटले त्यतै व्यस्त राखे। खासगरी हुतीले यतिबेला कडा हवाई हमला बेहोरिरहेको छ। यही कारणले सोचेभन्दा चाँडो असद सत्ता ढल्यो।
यसैबीच टर्कियले एचटिएसको यो विद्रोहलाई समर्थन नगर्ने बताइसकेको छ। एचटिएसलाई टर्कियले ३० लाखभन्दा बढी सिरियाली शरणार्थीको जिम्मेवारी लिए मात्र समर्थन गर्नेछ। उता एचटिएसले सत्ता कसरी चलाउला भन्ने जिज्ञासा सर्वत्र छ।
अल–कायदाका पुराना कार्यकर्ताहरूले चलाएको यो समूहले पछिल्ला केही समयदेखि आफूलाई राष्ट्रवादी शक्तिका रूपमा चिनाउने र स्थापित गर्ने प्रयास गरिरहेका छन्। पछिल्ला गतिविधि र भाषणमा पनि तिनले कूटनीतिक र मेलमिलापको भाषा बोलिरहेका छन्। यसबाहेक सिरियामा अन्य ५० वटा ससाना हिंस्रक गुट पनि छन्। उत्तरी भेगमा कुर्दिसहरू पनि उत्तिकै सशक्त छन्। यस्तोमा अब असद बिनाको सिरियामा झन् कस्तो रक्तरञ्जित शासन चल्ने हो भन्ने धेरैमा चासो पनि देखिन्छ।
को हुन् बसर अल असद?
सन् १९६५ मा जन्मिएका र सन् १९९४ मा बेलायतमा नेत्र चिकित्सा पढिरहेका बसर अल असद बुवाको सत्ता सम्हाल्न हुर्काइएका थिएनन्। सन् १९९४ मा उनका ठुला दाइ बासेलको कार दुर्घटनामा मृत्युपछि मात्र उनी सत्ता सञ्चालनका एक मात्र हकदार मानिए। असद परिवार सिरियाको सबैभन्दा तल्लो तप्का र सिया समुदायमा हुर्किएको थियो। यो समुदायका लागि इज्जतिलो पेसा नै सेनामा भर्ती हुनु थियो। उनका बुवा हाफिज अल असद बाथ पार्टीका समर्थक भए र सेनामा राम्रो प्रगति गर्दै जाँदा पछि सन् १९६६ मा रक्षामन्त्री बने।
हाफिजपछि सत्तामा राम्रो पकड बनाउँदै सन् १९७१ मा राष्ट्रपति बने र सन् २००० सम्म उनी राष्ट्रपतिकै रूपमा उनको मृत्यु भयो। उनले सन् १९९१ मा भएको खाडी युद्धमा अमेरिकी गठबन्धनलाई सघाए भने उता रुससँग पनि राम्रो सम्बन्ध राखेका थिए। सन् १९९५ देखि उनी सेनामा भर्ती भए।
सन् २००० मा बुवा हाफिजको मृत्युपछि ३४ वर्षकै उमेरमा उनी राष्ट्रपति भए। त्यो बेला राष्ट्रपति हुन ४० वर्ष अनिवार्य रूपमा हुनुपर्ने सीमा नै घटाउन संविधान संशोधन गर्नुप¥यो। उनले ‘पारदर्शिता, लोकतन्त्र, विकास, आधुनिकीकरण, जवाफदेही र संस्थागत सोच’लाई मुख्य सत्ता सञ्चालनको नीति बनाउने घोषणा गरेका थिए। यो घोषणाले उनीमाथि सिरियालीहरूले विश्वास पनि गरे।
सन् २००३ मा अमेरिकाले इराक आक्रमण गरेपछि भने असदले सो आक्रमणको विरोध गरे। यसलगत्तै अमेरिकाले केही कारण देखाउँदै सिरियामाथि आर्थिक प्रतिबन्ध लगाइदियो। सन् २०१० मा ‘अरब वसन्त’ विद्रोह हुन थाल्यो।
खासगरी ट्युनिसियामा एक जना ठेलागाडी बिक्रेताले प्रहरीको पिटाइविरुद्ध आगो लगाई आत्महत्या गरेपछि यसले आन्दोलनको स्वरूप मात्र लिएन, राष्ट्रपति बेन अलीले देश नै छाड्नुपरेको थियो। त्यो विद्रोहले अरबका अन्य देशमा पनि प्रेरणा दिन थाल्यो र यही बेला त्यो इजिप्ट, लिबिया, यमन, बहराइन र सिरियासम्म फैलियो।
सिरियामा भने एक जना १५ वर्षे विद्यार्थीले सहरको एउटा भित्तामा असदविरोधी नारा लेखेको आरोपमा स्कुलभरिका विद्यार्थीलाई प्रहरीले यातना दिन थाल्यो। यो यातनाविरुद्ध सर्वसाधारण सडकमा उत्रिए। पछि त असदविरोधी आन्दोलन देशभरि फैलियो।
यही क्रममा पछि सन् २०१३ को अगस्तमा गौटा सहरमा असद सरकारले रासायनिक आक्रमण गरी सयौंको हत्या ग¥यो। विद्रोही जमातहरू जन्मँदै असदविरुद्ध आक्रमण गर्दै जान थाले। जति विद्रोही मच्चिन्थे, असदले रुस र इरानको सहयोगले तिनलाई मत्थर पार्दै जान्थे। सन् २०१८ र २०२० मा असदले कैयौं कूटनीतिक प्रयासबाट आफ्नो स्थिति बलियो बनाउँदै लैजान थाले। सन् २०२३ मा त सिरियालाई अरब लिगको सदस्यसमेत बनाइयो।
अक्टोबर २०२३ मा हसमाले इजरायलमा आक्रमण गरेपछि भने लम्बिएको युद्ध लेबनानसम्म पुग्यो र त्यहाँ असदको मुख्य सहयोगी हिजबुल्लाह मटियामेट हुन पुग्यो। जुन दिन लेबनानमा संघर्ष विराम भयो, एचटिएसको अगुवाइमा सिरियाका विपक्षी गुटहरूले सिरियामा अचानक आक्रमण गर्न थाले र एकपछि अर्को इलाका कब्जा गर्न थाले। अन्ततः आधा शताब्दीपछि असदहरूको पतन भयो।
को हुन् अबु मोहम्मद अल जुलानी
सिरियाका विद्रोही गुट हयात तहरिर अल साम (एचटिएएस) का नेता अबु मोहम्मद अल जुलानी अल कायदाका पुराना सदस्य हुन्। उनलाई अमेरिकाले एक करोड डलरको इनाम राखेको छ। जुलानीको वास्तविक नाम भने यो होइन, उपनाम हो। उनको वास्तविक नाम अहमद अल सारा रहेको बताइन्छ।
सन् २००३ मा अमेरिकाले इराक आक्रमण गरेपछि जेहादी समूह अल कायदासँग सम्बन्ध जोडे। सन् २०१० मा उनलाई अमेरिकी सेनाले पक्राउ ग¥यो र कुवेतनजिकैको क्याम्प बुकामा कैद ग¥यो। कैदबाट मुक्त भएपछि उनी अबु वक्र अल बग्दादीको समूह आइएससँग मिसिए।
सन् २०११ मा बगदादीले उनलाई असदविरोधी संघर्षका लागि तयार गरे। उनको समूहलाई नुसरा फ्रन्ट नामले चिनिन्थ्यो। त्यो बेला निकै राम्रो प्रगति गर्दै जाँदा उनले आइएससँग सम्बन्ध तोडेर अल कायदासँग आफूलाई जोडे। सन् २०१६ मा उनले अल कायदासँग पनि सम्बन्ध तोडे र सन् २०१७ मा एचटिएस गठन गरे।
एचटिएसले पछि इदलिबमा सत्ता सञ्चालन गर्न थाल्यो। पछि त उसले अन्य विद्रोही र खासगरी अल कायदाका कार्यालयहरू बन्द गर्दै तिनका अगुवालाई जेल हाल्न थाल्यो। उसले आइएसको सक्रियतालाई पनि निस्तेज गर्न थाल्यो। पछि अन्य धर्मलाई पनि उत्तिकै ठाउँ दिने उद्देश्यले जुलानी उदारवादी हुन थाले। असदको पतनपछि उनले अब कसरी अन्य समूहलाई समन्वय गर्दै अघि बढाउँछन्, सबैको चासो बढेको छ।
प्रकाशित: २५ मंसिर २०८१ ०९:०५ मंगलबार