काठमाडौं महानगरपालिकाको कार्यबाहक मेयर भरतलाल श्रेष्ठ बनेका छन् । कार्यवाहक मेयर सुनीता डंगोल विश्वचर्चित कान्स फिल्म महोत्सवमा भाग लिन आज फ्रान्स जाँदा डंगोलले काठमाडौं-१ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक तोकेकी हुन् ।
ज्येष्ठताका आधारमा श्रेष्ठलाई कार्यवाहक तोकेको डंगोलले बताइन । उनी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । मेयर–उपमेयर दुवै नरहेको अवस्थामा वडाध्यक्षलाई कार्यवाहक तोक्ने प्रावधान छ ।
प्रस्थान गर्नुपूर्व डंगोलले छोटो समयमा निर्णय लिएर जान लागेको बताइन् । यसको मुख्य उद्देश्य महानगरपालिकाले पनि फिल्म फेस्टिभलको आयोजना गर्ने रहेको उनको भनाइ छ ।
डंगोलले भनिन्, ‘हामी पनि फिल्म फेस्टिभल घोषणा गर्ने भएकाले यसकै तयारीका लागि सर्ट नोटिसमा जाँदै छु ।’ कान्सका प्रमुखलाई पनि महोत्सवमा निम्ता गर्ने उनको तयारी छ । फ्रान्समा उनले ४ दिन बिताउने महानगरपालिकाले जनाएको छ ।
प्रकाशित: ३ जेष्ठ २०८३ १७:३२ आइतबार





