१९ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कला क्षेत्रमा मध्यम वर्ग संकटमा

यस्ताे पनि!

बेलायतमा निम्न मध्यम वर्गीय (वर्किङ क्लास)का कला आकांक्षीहरूलाई प्रतिदिन संघर्ष गर्न गाह्रो हुँदै जान थालेको र उनीहरूले ठाउँ पाउन छाडेको अध्ययनले देखाएको छ। सटन ट्रस्टले गरेको अध्ययनमा उच्च वर्गीय र मध्यम वर्गीय परिवारका सन्तानको ठूलो भिड कला क्षेत्रमा हुन थालेपछि निम्न मध्यम वर्गीय परिवार र मजदूर परिवारलाई कला क्षेत्रमा रोजेको काम पाउन हम्मे हुन थालेको देखिएको हो।

पहिले यस्ता कामलाई उच्च वर्गले खासै रुचाउँदैनथे। उनीहरूको ध्यान अन्य काममा जाने गर्थ्याे तर पछिल्लो समय उच्च र उच्च मध्यम वर्गीयहरूका सन्तानहरूले चाँडै लोकप्रियता हात पर्ने र पैसा पनि कुस्त कमाई हुने देखेपछि कला क्षेत्रमा गोडा पसार्न थालेका हुन्। हुनेखानेहरू कला क्षेत्रमा छिरेपछि हुँदाखानेहरूको संघर्ष पहिलेको तुलनामा कठिन हुन थालेको सो अध्ययनले देखाएको छ।

बेलायतमा सात प्रतिशत शिक्षितहरूले मात्र निजी स्कूलमा अध्ययन गर्छन्। तीमध्ये  ४३ प्रतिशत बेलायती प्रखयात शास्त्रीय संगीतत्र र ३५ प्रतिशत बाफ्टा नामांकनमा पर्ने फिल्म तथा टेलिभिजन अभिनेताहरू यस्तै निजी स्कूलमा अध्ययन गरेको पाइएको छ।

यस्तै आधाभन्दा बढी शास्त्रीय संगीतज्ञहरूले विशेष किसिमको संगीत विश्वविद्यालयमा अध्ययन गर्ने गरेका छन्। चारमध्ये एक जनाले त रोयल एकाडेमी अफ म्युजिकमा अध्ययन गर्ने गरेका छन्। यस्ता प्रख्यात संस्थालाई विद्यार्थीका बाआमाले ठूलो रकम दानमा दिने गरेका छन्।

दान दिएका परिवारका सन्तानले बढी महत्व पाउने हुनाले अक्सफोर्ड वा क्याम्ब्रिजजस्ता प्रख्यात संस्थाबाट मजदूर वर्गका सन्तानले विरलै अध्ययन गर्ने अवसर पाउने गर्छन्। प्रख्यात कलाकारहरूमध्ये ६४ प्रतिशतले विश्वविद्यालय अध्ययन गरेका छन्। २९ प्रतिशतले त विशेष किसिमका कला संस्थानहरूबाट अध्ययन गर्ने अवसर पाएका छन्। अक्सब्रिजजस्तो संस्थाबाट अध्ययन गर्नेहरू नौ प्रतिशत र रसेल ग्रुप इन्स्टिच्युटमा अध्ययन गर्नेहरू ६ प्रतिशत खानदानी व्यक्तिहरू छन्।

यद्यपि पप स्टारहरू भने यो मामिलामा भाग्यमानी देखिएका छन्। प्रख्यात पप स्टारहरूमध्ये आठ प्रतिशतले मात्र निजी स्कूलमा अध्ययन गरेका छन् भने २० प्रतिशत विश्वविद्यालयसम्म पुगेका छन्।

‘सिर्जनात्मक क्षेत्रमा प्रस्ट रूपमा धनीमानीका सन्तानको भिड देखिएको छ र खासगरी टेलिभिजन त उनीहरूकै कब्जामा देखिन्छ,’ अध्ययन समूह सटन ट्रस्टको निष्कर्ष छ। यसको अर्थ, गरीब परिवारका क्षमतावान तथा सिर्जनशील युवाहरूलाई शुरुमै बाटो रोकिन्छ र उनीहरूले कला क्षेत्रमा आफ्नो करियरलाई फैलाउन सक्तैनन्।  

प्रकाशित: ७ मंसिर २०८१ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App