६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सीसँग बाइडेनको अन्तिम कार्यकारी भेट

अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अन्तिम भेट गरेका छन्। उनीहरुबीच पेरुको लिमामा जारी एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको क्रममा भेट भएको हो। 

भेटमा सीले स्थिर चीन–अमेरिका सम्बन्ध दुई राष्ट्रका लागि मात्र नभई मानवताको लागि महत्वपूर्ण भएकोमा जोड दिए। उनले अमेरिकालाई चेतावनीपूर्ण भाषामा दुई ठूला देशहरू एकअर्कासँग राम्रोसँग मिल्नको लागि सही बाटोको खोजी गर्नुपर्छ भनेका छन्। 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी, सीले अमेरिका–चीन सम्बन्धलाई अर्को मोडमा पुर्याउने कुरालाई लिएर चिन्ता व्यक्त गरेका छन्। 

उनले भने, ‘चीन अमेरिकाको नयाँ प्रशासनसँग सञ्चार कायम राख्न, सहयोग विस्तार गर्न र मतभेदहरू व्यवस्थापन गर्न तयार छ।’ उनले दुई देशका जनताको हितको लागि काम गर्नुपर्नेमा जोड दिएका छन्। दुई देशबीच साइबर अपराध, व्यापार, ताइवान र रुसलाई लिएर विवाद छ। ताइवानमाथि चीनको बढ्दो दबाब र रुसलाई चिनियाँ समर्थनले पनि अमेरिका चिन्तामा छ। 

बाइडेनले विगत चार वर्षमा मात्रै नभई दुईले एकअर्कालाई दशकौँदेखि चिनेको रुपमा सीसँगको सम्बन्धबारे चर्चा गरे। बाइडेनले भने, ‘हामी सधैं सहमत हुँदैनौँ। तर हाम्रो वार्तालापहरू सधैं स्पष्ट थिए। 

हामीले एकअर्कासँग कहिल्यै ठट्टा गरेनौँ। यी वार्तालापहरूले गलत बुझाई रोक्छ, दुई देशहरू बीचको प्रतिस्पर्धा द्वन्द्वमा नजाने सुनिश्चित गर्दछ।’ बाइडेनले सीसँग युक्रेन युद्धमा रुसलाई साथ दिने उत्तर कोरियालाई रोक्न आग्रह गरे। 

रुसलाई चीनको अप्रत्यक्ष समर्थन, मानवअधिकारका मुद्दाहरू, प्रविधि र बेइजिङले आफ्नो दाबी गर्ने स्वशासित ताइवानलगायत धेरै कुराहरू चर्चामा रहे। 

दुई नेताहरु आर्टिफिसियल इन्टेलिजेन्समा, आणविक हतियार प्रयोग गर्ने निर्णयमा मानव नियन्त्रण कायम राख्न र तीव्र रूपमा विस्तार भइरहेको प्रविधिको सुरक्षा र अन्तर्राष्ट्रिय सहयोगलाई अझ व्यापक रूपमा सुधार गर्न आवश्यक भएको कुरामा सहमत भएका छन्।

प्रकाशित: २ मंसिर २०८१ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App