१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पदीय मर्यादामा आँच आउने काम गरेपछि थाई प्रधानमन्त्री जिम्मेवारी मुक्त

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिन पदमुक्त भएका छन्। थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथालाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधवार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको हो।

अदालतको आदेशपछि अपदस्थ भएका फेउ थाई पार्टीका नेता तथा प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधबार आफूलाई नैतिक नियम उल्लङ्घन गरेको कारण पदबाट हटाउने अदालतको फैसलाको सम्मान गर्ने बताए।

“म अदालतको फैसलाको सम्मान गर्छु। म लगभग एक वर्षदेखि प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेको छु। मैले इमानदारीका साथ देशको नेतृत्व गर्ने प्रयास गरेको छु,” संवैधानिक अदालतको फैसलापछि श्रेथाले आफ्नो कार्यालय बाहिर पत्रकारहरूसँग भने।

फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे बुधबार भएको थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने भएका छन्।

यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी पार्टीका पूर्वनेता पिता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आएको हो।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको नियम उल्लङ्घन गरेको अभियोग लगाइएको हो।

पिचितलाई सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएको थियो। रासस

प्रकाशित: ३१ श्रावण २०८१ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App