१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सन् २०२३ः स्वास्थ्य क्षेत्रका लागि कस्तो रह्यो ?

सन् २०२३ अन्त्य हुँदैछ। सन् २०२३ विश्वका लागि निकै नै उथलपुथलपूर्ण रह्यो। हमास–इजराइल युद्धको सुरुवात, रुस–युक्रेन युद्ध, विश्वका विभिन्न मुलुकमा आर्थिक मन्दी लगायतका मार सन् २०२३ मा देखियो। तर, स्वास्थ्यका क्षेत्रमा भने यो वर्ष उपलब्धीमुलक बन्न सफल भयो।

बीबीसीका अनुसार स्वास्थ्य क्षेत्रमा सन् २०२३ ले हासिल गरेका केही उपलब्धी र आशाका किरणहरू यस्ता छन्ः

मलेरियाको दोस्रो खोप

सदियौँको प्रयासपछि वैज्ञानिकहरूले मलेरियाविरुद्धको दोस्रो खोप तयार पारे। जसले गर्दा विश्वका विभिन्न मुलुक जहाँ मलेरियाले गर्दा सैयौंले ज्यान गुमानुपर्छ अब उनीहरूले सस्तोमा मलेरियाविरुद्धको खोप पाउने भएका छन्।

मलेरियाविरुद्धको यो नयाँ खोप बेलायतस्थित अक्सफोर्ड यूनिभर्सिटीले विकास गरेको हो। जुन संसारकै दोस्रो मलेरियाविरुद्धको खोप हो।

योभन्दा दुई वर्ष अघि मात्रै ग्ल्याक्सोस्मिथक्लाइन (जीएसके) ले मलेरियाविरुद्धको खोप आरटीएस–एस विकास गरेको थियो।

विश्व स्वास्थ्य सङ्गठनले मलेरियाविरुद्ध लड्नमा दुबै खोप समान रुपले प्रभावकारी रहेको बताएको छ।

लामखुट्टेको टोकाइबाट लाग्ने मलेरियाविरुद्धको रोग निकै घातक मानिन्छ र यसका कारण सबैभन्दा बढी अफ्रिका प्रभावित छ। जहाँ ९५ प्रतिशत मलेरियाका बिरामी हरेक वर्ष फेला पर्ने गरेका छन्।

सन् २०२१ म विश्वभर २४ करोड ७ लाखभन्दा बढी मलेरियाका केस फेला परेको थियो। त्यसमध्ये ५ लाख १९ हजारको मृत्यु भएको थियो। मलेरियाका कारण मृत्यु हुनेमा सबैभन्दा धेरै ५ वर्षभन्दा मुनिका बालबालिका रहेको सङ्गठनले जनाएको छ।

संसारको पहिलो आँखा प्रत्यारोपण

२०२३ मा अमेरिकामा बसोबास गर्दै आएका एकजनाको सफल आँखा प्रत्यारोपण गरियो। आरोन जेम्स नामक व्यक्तिको अनुसार बिजुलीका कारण पूर्ण रुपले जलेको थियो। ७२०० भोल्टेजयुक्त तार छोएका कारण आरोनका अनुहारका साथै आँखा पनि जलेको थियो।

२०२३ को मे मा आरोनको अनुहारको आंशिक प्रत्यारोपण गरिएको थियो। त्यसबाहेक उनको आँखाको पनि प्रत्यारोपण गरियो। पहिलो पटक गरिएको उक्त आँखा प्रत्यारोपणमा झन्डै १४० जना स्वास्थ्यकर्मी सहभागी थिए।

आरोन जेम्सको यो जटिल प्रत्यारोपण अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू लैङ्गोन हेल्थका शल्य चिकित्सकहरूले गरेका थिए। गत नोभेम्बरमा चिकित्सकहरूले जानकारी दिँदै आरोनको स्वास्थ्य अवस्था निकै सुधारात्मक रहेको र आँखाले पनि राम्रोसँग काम गरिरहेको बताएका थिए।

आर्टिफिशियल इन्टेलिजेन्स (एआई) को माध्यमबाट मुटुको जाँच

आर्टिफिशियल इन्टेलिजेन्सको सहयोगले कति मद्यपान सेवन गर्दा, धूमपान गर्दा, खराब खान–पान र परहेज नगर्दा कुनैपनि व्यक्तिको मुटु समयभन्दा पहिले बुढो हुन थाल्छ भन्ने पत्ता लगाइयो। 

मुटु बुढो हुने गतिलाई घटाउने उदेश्यका साथ उक्त खोज गरिएको हो। जसले गर्दा उमेरसँग सम्बन्धित विभिन्न रोग जस्तै हृदयघात वा अन्य कुनै रोगको जोखिमलाई कम गर्न सकियोस्।

आर्टिफिशियल इन्टेलिजेन्सको यो नयाँ प्रणाली, मेडिकल रिसर्च काउन्सिल (एमआरसी) लन्डन इन्स्टीच्यूट अफ मेडिकल साइन्सेज (एलएमएस) का प्रोफेसर डेक्लान ओरीगनको नेतृत्त्वमा टिमले विकास गरेको हो।

मानिसको अनुहारले उ कति जवान वा बुढो छ भन्ने पत्ता लगाउन सकिएपनि उसको मुटुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने पत्ता लगाउन कठिन रहेकाले यो प्रविधिको विकास गरिएको ओरीगनले बताए।

थ्री डी प्रिन्टिङ्गले बनेको आर्टिफिशियल घुँडा

सन् २०२३ मा वैज्ञानिकहरूले थ्री डी प्रिन्टको प्रविधिबाट आर्टिफिशियल अर्थात् कृत्रिम घुँडा तयार पारेका छन्। उक्त आर्टिफिशियल घुँडा जसलाई घुँडामा दुखाई छ त्यस्ता व्यक्तिलाई निकै उपयोगी मानिएको छ।  

ओस्टियोटोमी नामक विशेष शल्यक्रियाको माध्यमबाट कुनैपनि व्यक्तिको घुँडाको हड्डिलाई काट्ने वा बङ्ग्याइन्छ जसले उसको घुँडा सुरक्षित रहिरहोस्।

उक्त आर्टिफिशियल घुँडा यूनिभर्सिटी अफ बाथका वैज्ञानिकहरूले विकास गरेका हुन्। उक्त प्रविधिको प्रयोगले घुँडाको शल्यक्रिया छिटो र सुरक्षित तरिकाले गर्न सकिने छ।

मस्तिष्कमा भेट्यो जिउँदो किरा  

संसारमै पहिलोपटक एक महिलाको मस्तिष्कमा जिउँदै किरा फेला पर्यो। अस्ट्रेलियाका एकजना महिलाको मस्तिष्कबाट ८ सेन्टिमिटर लामो जिउँदो किरा फेला परेको थियो।

क्यानबेरामा गत वर्ष नै किरा फेला परेपनि वैज्ञानिकहरूले यस वर्ष मात्रै उक्त घटनाबारे विस्तृत जानकारी दिएका थिए।

म्हिलाको शल्यक्रिया गर्ने डाक्टर हरी प्रिया बन्डीले मानिसमा यति लामो जिउँदै किरा फेला पर्छ भनेर कल्पना समेत नगरेको बताइन्।

६४ वर्षीया उक्त महिलामा लामो समय सम्म पेट दुख्ने, खोकी लाग्ने र राति पसिना आउने जस्ता समस्या देखिएको थियो। साथै उनमा डिप्रेशन र बिर्सने समस्या पनि देखिएको थियो।

सन् २०२१ को जनवरीमा ती महिलालाई अस्पताल भर्ना गरिएको थियो। स्क्यानको माध्यमबाट दाहिने फ्रन्टल लोब भित्र उक्त किरा फेला परेको थियो।

प्रकाशित: १५ पुस २०८० ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App