२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धविरामका बीच सुडानमा हवाई हमला

अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ।

सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक र्‍यापिड सपोर्ट सपोर्ट फोर्स (आरएसएफ)लाई निशान बनाएर हवाई हमला गरेको हो। डाफरमा पनि घातक हमला भएका विवरण प्राप्त भएका छन्।

व्यापार र विकासका लागि गठित आठ वटा अफ्रिकी देशको अन्तरसरकारी परिषद् आइजिएडीले जारी युद्धविरामलाई थप ७२ घण्टाका निम्ति लम्ब्याउन दक्षिण सुडानको राजधानी जुबामा वार्ताको प्रयत्न गरिरहेका बेला खार्तुममा पुनःयुद्ध चर्केको हो। प्रत्यक्षदर्शीका अनुसार हवाई हमलाका अतिरिक्त जमिनमा दुवै पक्षबीच गोली हानाहान भइरहेको छ। गोलीबारुद विष्फोटका चर्का आवाज सुनिएका छन्।

युद्धविरामको अवधि अरु तीन दिन बढाउने आइजिएडीको प्रस्तावलाई सुडानी सेना प्रमुख बुरहानले सहमति जनाएका तर उनका प्रतिद्वन्द्वी डग्लोबाट स्पष्ट जवाफ प्राप्त नभएको सैनिक अधिकारीहरूले बताएका छन्।

तेह्र दिनदेखि जारी युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको तथा चार हजार एक सय ९३ जना घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइेत हुनेको सङ्ख्या यो भन्दा धेरै बढी भएको ठानिएको छ।  

प्रकाशित: १४ वैशाख २०८० ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App