विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमार्फत नेपाललाई बाढी प्रभावित समुदायका लागि करिब २ करोड २८ लाख रुपैयाँ बराबरको आपत्कालीन स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ।
डब्ल्यूएचओले आपत्कालीन स्वास्थ्य प्रतिकार्य तथा पुनर्स्थापना प्रयासलाई सहयोग पुर्याउने उद्देश्यले करिब १० हजार मानिसलाई तीन महिनासम्म स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने सामग्री नेपाललाई प्रदान गरेको जनाएको छ।उपलब्ध गराइएका सामग्रीमा आकस्मिक टेन्ट, हेल्थ किट, सर्जिकल मास्क, पञ्जालगायतका अत्यावश्यक स्वास्थ्य सामग्री रहेका छन्।
नेपालमा गएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा निलेश बुद्धले आपत्कालीन कोषमार्फत प्रदान गरिएको सहयोगले तत्कालीन स्वास्थ्य आवश्यकतामा राहत पुग्ने बताए। उनले नेपालमा आपत्कालीन अवस्थाको प्रतिकार्य तथा पुनर्स्थापनाका प्रयासमा निरन्तर सहयोग गर्न डब्ल्यूएचओ प्रतिबद्ध रहेको बताए।
हालसम्म प्राप्त विवरणअनुसार बाढीमा एक हजारभन्दा बढीको मृत्यु भएको र करिब ३ हजार जना अझै बेपत्ता रहेको डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले नेपाल सरकार तथा साझेदार संस्थासँगको सहकार्यमा स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउन, रोगको निगरानी प्रणाली सुदृढ गर्न तथा अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्न सहयोग गरिरहेको जनाएको छ।
साथै, सम्भावित स्वास्थ्य जोखिमको समयमै पहिचान तथा सम्बोधनका लागि पनि संगठनले सहकार्य गरिरहेको छ।
बाढीपछि डुबान र डुबेर हुने मृत्युका साथै विभिन्न प्रकारका चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग र वाहकजन्य रोगको जोखिम बढ्न सक्ने डब्ल्यूएचओले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा यस्ता स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सुरक्षित खानेपानी, सरसफाइ, रोगको निगरानी र अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरतालाई प्राथमिकतामा राख्नुपर्ने संगठनले जनाएको छ।
प्रकाशित: १६ भाद्र २०८३ १७:१४ मंगलबार


-600x400.jpg)


