विपद्को बखत मानसिक स्वास्थ्यको समस्या हवात्तै बढ्छ। यस्तो समस्यामा पर्नेहरू समाजमा धेरै हुन्छन् र यस्तो समस्याबाट मुक्तिका लागि धेरै जनाले विभिन्न तरिकाबाट दिइने मानसिक स्वास्थ्य सेवा लिने गर्छन् । तर नेपालमा पछिल्लो समय परेको मानवीय तथा प्राकृतिक विपद्पछि मानसिक स्वास्थ्य सेवा लिनेको संख्या अत्यन्त कम रहेको पाइएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछिको मानवीय तथा भौतिक क्षतिपछि हुन सक्ने मानसिक स्वास्थ्यलाई लक्षित गरी मानसिक अस्पतालले हटलाइन सेवा ११६६ मा सम्पर्क गर्न अपिल गरेको थियो। त्यसको एक महिना बितिसक्दा पनि यो सेवा लिनेको संख्या अत्यन्त कम देखिएको मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. वासदेव कार्कीले बताए।
प्रदर्शनपछि विद्यालय उमेर समूहका किशोरकिशोरीमा बढी मात्रामा मानसिक समस्या देखा परेको, त्यसपछि पाका उमेरका मानिसमा पनि त्यस्तो समस्या देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नसर्ने तथा मानसिक रोग शाखाका प्रमुख डा. फणीन्द्रप्रसाद बरालले बताए। साथै सुरक्षा निकायमा काम गर्ने प्रहरीहरूमा पनि समस्या देखिएको उनले जानकारी दिए।
इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा मानसिक स्वास्थ्य शाखाको पहलमा सरोकारवालाहरूका बिचमा बिहीबार राष्ट्रिय तहको भर्चुअल छलफल सम्पन्न भयो। छलफलमा विश्व स्वास्थ्य संगठन, मानसिक रोगको सेवा प्रदान गर्ने सरकारी निकायहरू सहभागी थिए।
शुक्रबार विपद्मा मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनसम्बन्धी डिजिटल स्वास्थ्य सामाग्री प्रदेश सरकार र स्थानीय तहमा वितरण गरिएको छ। मानसिक स्वास्थ्य सेवाबारे ‘सबैसँगै मिलेर मानसिक स्वास्थ्यमा काम गरौं’ भनी सहयोगी सूचना प्रवाह गर्ने कार्य गरेका छन्।
शुक्रबार विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा उनीहरूले यस्तो आह्वान गरेका हुन्। नेपालमा भदौको तेस्रो साता परेको मानवीय विपद् र असोजमा परेको प्राकृति विपद्पछि मानिसहरूमा मानसिक समस्या देखिएपछि व्यवस्थापनमा समाजबाटै बेवास्ता भएको विज्ञहरूले निष्कर्ष निकालेका छन्। हटलाइन सेवामा परामर्श लिने अन्यन्त कम हुनुले नेपाली समाज प्रविधिको कारण असयंम बनेको छलफलमा इंगित गरिएको छ।
मन्द सामुदायिक बुद्धिमत्ताको उपज
परामर्शले शान्ति र संयमता प्रदान गर्ने विषयमा बेवास्ता तर प्रविधिमार्फत नै अपिल गरिएको विद्रोह र ध्वंसमा बढी सहभागी हुनुले नेपालीको सामुदायिक बुद्धिमता कमजोर बन्दै गएको निक्र्यौल पनि छलफलमा गरिएको छ।
गत वर्ष अर्थात् सन् २०२४ मा अनुसन्धान गरिएको बुद्धिमताको तथ्यांकमा नेपाल सबैभन्दा तल परेको छ। विश्वका एक सय ९९ देश समावेश गरिएको सो अध्ययनमा नेपालीको बुद्धिमता ४२.९ प्रतिशत देखिएको थियो। ‘एक महिनादेखि सार्वजनिक रूपमा हटलाइन सेवाको प्रचार गरिररहेका छौं। यसको प्रयोग नै भएन,’ डा. कार्कीले भने तर त्यही प्रविधिमार्फत आह्वान गरिएका आक्रोशित कार्यमा भने सहभागी हुने प्रवृत्ति देखिएकोप्रति विज्ञहरू चिन्तित बनेको कार्कीले जानकारी दिए।
छिटो व्यवस्थापन नभए जटिल असर
अहिलेको यो स्थितिले नेपाली समाज सहयोग र व्यवस्थापनमा अग्रसर नभएको तर विद्रोह, अहंकार प्रदर्शन र आक्षेपमा अग्रसर भएको डा. कार्की बताउँछन्। उनका अनुसार नेपालमा हरेक वर्ष प्राकृतिक तथा मानवीय विपद् भइरहेको स्थिति छ। विपद्का बेला विभिन्न खालका मानसिक समस्या हुन्छन्। ती समस्याको समयमै उपचार तथा व्यवस्थापन गर्न नसके दीर्घकालीन रूपमा भावनात्मक असन्तुलन हुन जान्छ। डर, त्रास, डिपे्रसन, आक्रोश, उदासीनताजस्ता समस्या आउँछन्।
यस्तो बेलामा आपसमा कुरा गर्नेुपर्छ। सो सुविधा नभए हटलाइन नम्बरबाट परामर्श लिनुपर्छ। फोनमार्फत लिने सेवाले अपुग भए विशेषज्ञकहाँ पुगेर प्रत्यक्ष रूपमा सेवा लिनुपर्छ। यी समस्याको समयमै व्यवस्थापन नभए पछि गएर एन्जाइटी, डिप्रेसन हुँदै आत्महत्याको सोच आउन सक्छ। जटिल तनावपछि ट्रामेटिक डिस्अर्डर हुने, प्रतिशोधको भावना उत्पन्न हुने, भय हुनुको साथै पछि गएर रक्सी तथा लागुपदार्थको सेवन गर्ने खालका दुर्घटना हुने सम्भावना हुन्छ।
कसले के गर्ने?
नेपालमा विद्यमान विपद्पछि देखिने मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न नेपाल सरकारका निकायहरू र गैरसरकारी संस्थाहरू मिलेर समुदायस्तरसम्म काम गर्ने, रेडक्रसमार्फत सञ्चार सामग्री पठाउने, हटलाइन या अन्य सेवाबारे जानकारी दिनेलगायत कार्यहरू तत्काल भइरहेको र निरन्तर दिने निर्णय भएको छ। साथै असोजमा गएको बाढी पहिरोले प्रभावित इलाममा पनि मानसिक स्वास्थ्य सेवाका लागि जनशक्ति परिचालन भइसकेको छ।
प्रदर्शनपछि मानसिक स्वास्थ्य प्रभावित समूहलाई सेवा दिन स्कुल नर्सलाई तालिम दिएर सेवा प्रदान गर्ने, आक्रमणमा परेका प्रहरी तथा सुरक्षा निकायमा परेको असरलाई सम्बोधन गर्न पनि मानसिक सेवा प्रदान गर्ने प्रयास भइरहेको डा. बरालले बताए। यी सेवामा पुग्नुअघि व्यक्ति आफैंले आफैलाई हेरचाह गर्ने, आपसी संवाद गर्ने, हटलाइन सेवा लिने, आवश्यक परे मानसिक स्वास्थ्य सेवा लिनेजस्ता कार्यबाट समाजमा संयम र विवेक स्थापना गरी शान्तिपूर्ण समाज निर्माण गर्न सकिने छलफलको निष्कर्ष छ।
प्रकाशित: २५ आश्विन २०८२ १२:२८ शनिबार





