स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले स्वास्थ्य बिमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छन्।
सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३० औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताएकी हुन्।
‘स्वास्थ्य मन्त्रालयमा आएको बजेटभन्दा धेरै बजेट बिमाको रकमको खर्च हुन थालेकाले समस्या परेको हो, अनावश्यक रुपमा डाक्टरले बिरामी जाँचेर औषधि लेखिदिने र बिरामीले अनावश्यक रुपमा बिमाको दाबी गर्दा अहिलेको समस्या आएको हो, यसलाई समाधान गर्न सरकारले काम गरिरहेको छ,’ उनले भनिन्।
स्वास्थ्य बिमामा सङ्घीय सरकारको एकोहोरो बोझ परेको उनको भनाइ थियो। स्वास्थ्य बिमालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको आवश्यकता रहेको मन्त्री शर्माले बताइन्।
मन्त्री शर्माले विपन्न नागरिकको उपचार गरेबापत अस्पतालले पाउने रकम र सामाजिक सेवाको रकम सरकारले तत्काल उपलब्ध गराउने स्पष्ट पारिन्। उनले मुटु उपचारको क्षेत्रमा गङ्गालाल अस्पतालले पुर्याएको योगदानको प्रशंसा गरिन्।
अस्पतालका कार्यकारी निर्देशक प्राडा रवि मल्लले मुटु रोगको रोकथाम, निदान र उपचारमा गङ्गालालले उच्चस्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको बताए।
विसं २०५६ सालमा नौ शय्यामार्फत मुटुको उपचार सुरु गरेको उक्त अस्पतालले हाल ३०५ शय्यामार्फत बिरामीको उपचार गरिरहेको मल्लले जानकारी दिए।
अस्पतालका वरिष्ठ मुटु शल्य चिकित्सक डा. रामेश कोइरालाले जेन-जी आन्दोलनका क्रममा गङ्गालाल अस्पताल प्राथमिकतामा नपरेको गुनासो गरे।
गत वर्ष मात्र गङ्गालाल अस्पतालले एक हजार ९९० विरामीको शल्यक्रिया सम्पन्न गरेको उनको भनाइ थियो।
प्रकाशित: १५ माघ २०८२ १६:२६ बिहीबार





