१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

तनावमुक्त हुन मनका कुरा खोलौं है!

मनमा कुनै समस्या छ, तनाव छ? कुनै समस्या, तनाव छ भने त्यसबाट मुक्त हुनुपर्छ। तनावमा रहँदा समस्या जटिल बन्न सक्छ। तनावबाट मुक्ति पाउन आफन्त या साथीसँग खुलेर कुरा गर्नुपर्छ। यस्तै सुझाव दिन्छन् विज्ञहरु।

स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले मानसिक स्वास्थ्य सम्बन्धमा राजधानीमा आयोजना गरेको कार्यक्रममा विज्ञले तनाव र समस्याबाट मुक्त हुन खुलेर मनका कुरा गर्न सुझाएका हुन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको घोषणा गरेकी छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले मंसिर अन्तिम सातादेखि देशभर मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेको छ। यो अभियान फागुनसम्म चल्ने छ। यसको नारा छ– मनको कुरा गरौं।

आफन्त, परिवारका सदस्य, साथीभाइसँग मनमा गुम्सिएका कुरा गरेमा मन हल्का हुने, मनोसमस्या कम हुने र समयमै पहिचान हुने तथा बेलैमा उपचारमा पुग्न ‘मनको कुरा गराैं’ नारासहित मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिएको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत उपेन्द्र ढुंगाना बताउँछन्।

नेपाली समाजमा मनमा परेका समस्या खुलेर अरुसँग भन्ने अभ्यास निकै कम छ। मनका कुरा नखोल्दा मनोसमस्या हुन्छ। मनोसमस्याको पहिचान र उपचारका लागि हरेक व्यक्तिले आफ्ना मनका कुरा, तनावको विषय खुलेर अरुलाई बताउनुपर्ने नसर्ने रोग तथा मानसिक शाखा प्रमुख डा. पोमावती थापा बताउँछिन्।

मनको कुरा अरुसँग गर्दा एकातिर मन हल्का हुने र अर्कोतिर मनोसमस्या हो कि होइन भनेर साथीभाइ तथा आफन्तले समयमै थाहा पाउने भएकाले उपचारमा पुग्न सहज हुने केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगाना बताउँछन्।

अहिले नेपाली समाजमा खुलेर कुरा गर्ने अभ्यास नभएकाले ‘मनको कुरा गरौं’ अभियान सञ्चालन गर्नुुपरेको मानसिक रोग अस्पताल डा. वासुदेव कार्की बताउँछन्। उनका अनुसार विश्वसासिलो व्यक्तिसँग खुलेर कुरा गर्दा मन हल्का हुने र कुनै रोग भएमा पहिचान गर्न सकिन्छ।

‘कुरा मात्रै गर्दा पनि तनाव कम हुन्छ’, उनले भने। जेनजी आन्दोलनमा भएको हिंसा र ध्वंसपछि तनाव महसुस गरेका हरेकका लागि पनि यो अभियान सहयोगी हुने उनको विश्वास छ।

नेपाली समाजमा शारीरिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्ने अभ्यास रहे पनि मानसिक समस्या या रोगका विषयमा खुल्ने चलन छैन। सामाजिक लान्छनाको डर, मानसिक रोगीलाई हेर्ने समाजको गलत दृष्टिकोण, घृणा र अपहेलनाको डरले मानसिक समस्याका विषयमा अरुलाई नभन्ने प्रवृत्ति समाजमा कायमै रहेको डा. थापा बताउँछिन्।

‘जसरी शारीरिक रोगको कुरा गर्छौं, त्यसरी नै मनको समस्याबारे पनि खुलेर कुरा गर्नुपर्छ। मनमा खेलेका कुरा मनभित्रै दबाएर राख्ने होइन, दबाएर राख्दा समस्या पहिचान हुँदैन, जटिल बन्छ’, डा. थापा भन्छिन्।

शारीरिक स्वास्थ्य समस्या जस्तै मानसिक स्वास्थ्यबारे पनि समाजमा खुलेर कुरा गर्ने अभ्यास होस् भन्ने यो अभियानको उद्देश्य रहेको ढुंगाना बताउँछन्।

‘मनका कुरा गरौं’ अभियानअन्तर्गत किशोरकिशोरी, युवकयुवतीबिच प्रत्यक्ष वा भर्चुअल छलफल गर्ने, भिडियो सामग्रीमार्फत सन्देश दिने र स्कुल नर्सका बिचमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम भइसकेको जानकारी डा. थापाले दिइन्। सामाजिक सञ्जालमार्फत पनि सचेतना वृद्धि प्रयास भइरहेको छ। अभियानअन्तर्गत जेनजी आन्दोलनका घाइते र परिवारका सदस्यलाई पनि भर्चुअल परामर्श दिइने छ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० अनुसार ४.३ प्रतिशत मानिसमा स्वास्थ्य समस्या र ५.२ प्रतिशत किशोरकिशोरीमा कुनै न कुनै प्रकारको मानसिक समस्या छ। अन्तर्राष्ट्रिय तथ्यांक अनुसार दस जनामध्ये एकमा कुनै न कुनै प्रकारको मानसिक समस्या हुन्छ।

कुल जनसंख्याको ४ देखि ५ प्रतिशत मानिसमा मानसिक स्वास्थ्य समस्या हुन्छ। नेपाल प्रहरीको गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा वार्षिक सा हजार जनाले आत्महत्या गर्छन्। पाँच बालबालिकामध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको विज्ञ भनाइ छ।

प्रकाशित: १६ पुस २०८२ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App