१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नातामा विवाह गर्दा आनुवंशिक रोग बढी

विश्वका कतिपय जातजाति आफ्नै नजिकको नाता पर्नेमा विवाह गर्ने प्रचलन छ। यस्तो प्रचलन नेपालका केही जातजातिमा पनि देखिन्छ, तर नजिकको नातामा विवाह गर्ने प्रचलन भने आनुवंशिक असन्तुलनजन्य रोग निम्त्याउने मुख्य कारक रहेको चिकित्सकहरूले बताएका छन्। वीर अस्पतालकी जेनेटिक रोग विशेषज्ञ डा. निलम ठाकुरका अनुसार नेपालमा पनि नजिकका नातामा हुने विवाहका कारण विभिन्न आनुवंशिक रोग भेटिन्छन्।

नेपालका विभिन्न ठाउँमा बढी देखिने थालसीमियाँ, सिकलसेल एनिमिया, जन्मजात मुटु, कलेजो, मस्तिष्क, आँखामा दृष्टि समस्या र हातखुट्टाको अपांगता, डाउनसिन्ड्रोम, क्यान्सर, ओठ फाट्ने, नाकको संरचना राम्रो नबन्ने, बौद्धिक अपांगतालगायत आनुवंशिक रोग हुन् तर यी खास रोग कुन समुदायमा बढी छ भन्ने विषयमा पर्याप्त अध्ययन भइनसकेको डा. ठाकुर बताउँछिन्।

मानवशास्त्री मानवबहादुर शाहका अनुसार नेपालमा नजिकको नातामा विवाह हुने जातजातिमा गुरुङ, मगर, थकाली, तामाङ, दनुवार, तराईमा थारू अन्य जातजाति छन्। उनीहरूले मामाचेली, फुफु चेलाचेली बिचमा विवाह गर्छन् भने दनुवार समुदायमा छोरी दिएकै घरमा छोराको विवाह गरिदिने या बुहारी लिएको घरमा छोरी दिने चलन छ। नजिकको नाता बिचमा विवाह गर्नुको पछाडि आर्थिक तथा सम्बन्धको सुरक्षाका कारण गर्ने गरेको पाइएको मानवशास्त्री शाहु बताउँछन्। ‘मुख्य कुरा सम्पत्ति टाढाको व्यक्तिले उपभोग नगरोस् भन्ने आशयले यस्तो विवाह हुँदै आएको देखिन्छ’, उनले भने।

यसको वैवाहिक सम्बन्ध पनि राम्रो बनोस् भन्ने उद्देश्यले नजिकको नातामा विवाह गरेको देखिएको उनको भनाइ छ। स्वास्थ्यगत हिसाबले यस्तो विवाह उचित नभए पनि परम्परागत संस्कृतिका कारण अहिले पनि नेपाली समाजका विभिन्न जातजातिमा कायम रहेको उनले बताए।

वीर अस्पतालकी जेनेटिक रोग विशेषज्ञ डा. ठाकुरका अनुसार नजिकको विवाहमा जन्मिने सन्तानमा आनुवंशिक समस्या भई विभिन्न रोग हुने जोखिम उच्च हुन्छ। ‘साधारण विवाह सम्बन्धबाट जन्मिएका सन्तानको तुलनामा आनुवंशिक रोग हुने जोखिम तेब्बर हुन्छ’, उनले भनिन्।

एउटा जिनमा खराबी भएको बच्चामा तीन÷चार वटा आनुवंशिक रोगसमेत देखिन सक्छ। नेपालमा यस्ता आनुवंशिक डिस्अर्डरका कारणले देखिने रोग पर्याप्त भए पनि कुन समुदायमा कुन रोग छ भनेर यकिन गर्न सकिँदैन तर यस्ता रोग देखिन्छन्।

उनका अनुसार आनुवंशिक समस्याका कारण लाग्ने रोगमा जन्मजात कलेजो, मस्तिष्क, आँखा, हातखुट्टा, रगतजन्य, क्यान्सर जस्ता रोगको वंशाणुगत समस्या लिएर जन्मिन्छन्। ‘जसको परिवारमा पहिला आँखाको रोग थियो, जन्मिने बच्चाले पनि उस्तै रोग लिएर जन्मिन्छ, जुन रोग अन्य पुस्तामा पनि सर्दै जान्छ’, डा. ठाकुरले भनिन्।

 यसका साथै नेपालमा प्रचलित आनुवंशिक मानिने रोगमा बौद्धिक अपांगता, थालसिमिया, पुड्कोपना, सिकलसेल एनिमिया, डाउनसिन्ड्रोम, माइक्रोकेफाली प्रचलित छन् भने केही दुर्लभ आनुवंशिक रोग पनि देखिन्छन्। मामाचेला र फुपु चेलीचेलाका बिचमा विवाह भएमा आमा र मामाबाट आएको जिन हुने हुनाले मामलीको रोग पूरै आउने डा. ठाकुर बताउँछिन्। यसका साथै जनसंख्यामा पनि एउटै जातजातिमा विवाह भएमा जेनेटिक रोग हुने उच्च जोखिम हुन्छ।

प्रकाशित: १८ मंसिर २०८२ ०९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App