कुनै पनि शिशुमा आँखाको समस्या हुन सक्छ। त्यसमा पनि महिना नपुगी जन्मेका शिशुमा आँखाको समस्या अर्थात् जन्मजात आँखाको पर्दामा समस्या हुन सक्छ वा दृष्टिमा समस्या हुन्छ। यस्ता शिशु जन्मेका छन् भने जन्मेको २८ दिनभित्र आँखाको जाँच गर्न चिकित्सकले सुझाएका छन्।
विश्व प्रिम्याचुर शिशु दिवसको अवसरमा अस्पतालले यस्तो चेतावनी दिएको हो। पछिल्लो समय नेपालमा महिना नपुगी जन्मिने शिशुको संख्या बढ्दो रहेकोले यो विषयमा हरेक अभिभावक, चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका आवश्यक भएको तिलगंगा आँखा अस्पतालकी बाल नेत्र विशेषज्ञ डा. सिर्जना अधिकारीले बताइन।
उनको अनुसार महिना नपुगी जन्मेका नवजात शिशुको आँखा तथा शरीरका अन्य अंगहरूको विकास भइसकेको हुँदैन। अन्य अंग जस्तै आँखाको दृष्टि नसाको विकास पनि राम्रोसँग बनेको हुँदैन। त्यसमा पनि नवजात शिशुको उपचारको क्रममा फोक्सोमा दिइने अक्सिजन र अन्य उपचारको क्रममा आँखाको नसा पछि गएर राम्रोसँग नबन्न सक्छ। आँखाको दृष्टि नसाको सही समयमा सही विकास हुन नसकेपछि पछि गएर दृष्टि गुम्न सक्छ। महिना नपुगी जन्मेका शिशु मध्येमा २५ प्रतिशतमा आँखाको पर्दामा समस्या हुन्छ। ती मध्येमा ६ देखि १० प्रतिशतमा गम्भीर समस्या हुन्छ।
नेपालमा बालबालिकाकामा हुने कुल अन्धोपना मध्येमा एक तिहाइ महिना नपुगी जन्मिने शिशुमा देखिन्छ। महिना नपुगी या महिना पुगेपछि जन्मिएका नवजात शिशुको अनिवार्य रुपमा जन्मेको २८ दिनभित्र आँखा परीक्षण गरेमा पछि हुने अन्धोपनाको जोखिमबाट बचाउन सकिने डा. अधिकारीले बताइन। नेपालमा नवजात शिशुको आँखा जाँच गर्ने चलन अहिले पनि कम रहेकोले नेपालमा जन्मजात दृष्टिविहीन शिशुको संख्या धेरै छ।
प्रतिष्ठानले समय अघि नै जन्मेका नवजात शिशुको आँखा परीक्षण नभएमा हुने अन्धोपनको यो वर्ष पनि विभिन्न सचेतना कार्यक्रमको आयोजना गरेको छ। समुदायका सदस्यहरू, स्वास्थ्यकर्मीहरू, स्वयंसेविकाका बिचमा सचेतना कार्यक्रमको सञ्चालन गरेको छ। ‘स्वस्थ दृष्टिको अधिकार सुनिश्चित गर्नको लागि सरोकारवाला सबैको भूमिकाले मात्र सम्भव हुने अस्पतालले जनाएको छ।
प्रकाशित: २१ कार्तिक २०८२ १३:५४ शुक्रबार





