१० भाद्र २०८२ मंगलबार
image/svg+xml १२:९ अपराह्न
स्वास्थ्य

वीरको विस्तारित सेवा गति नलिँदै खुम्चियो

चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले तीन महिनाअघि विस्तारित सेवा दिने घोषणा गर्‍यो। सोहीअनुसार कार्यविधि बन्यो पनि। तर, विस्तारित सेवा विस्तार हुनुको साटो साँघुरिँदै गएको छ।

अस्पतालका अनुसार विस्तारित सेवाअन्तर्गत इएनटी (नाक,कान घाँटी), सर्जरी र डेन्टल सेवा मात्र चालु छ। चालु सेवामा पनि कतिपय प्रभावकारी बन्न नसकेको अस्पताल स्रोत बताउँछ।

धेरैजसो विभागका विशेषज्ञ चिकित्सकले विस्तारित सेवाअन्तर्गत सेवा दिन नसकेका कारण यो प्रभावकारी बन्न नसकेको हो।

‘विस्तारित सेवा स्वैच्छिक भएकाले अस्पतालका विशेषज्ञ चिकित्सकले समय दिनु भएन,’ डेन्टल विभागका प्रमुख तथा विस्तारित सेवा सञ्चालन समितिका सदस्य डा. प्रमोदकुमार कोइरालाले भने।

उनका अनुसार विशेषज्ञ चिकित्सक नबस्दा विस्तारित सेवा सोचेजस्तो हुन सकेको छैन। ‘सञ्चालन कार्यविधिले विस्तारित सेवा अनिवार्य नभई स्वैच्छिक सेवा हो भनेको छ, त्यसैले यसअन्तर्गत कतिपय सेवा सञ्चालनमा छन्, कतिपय छैनन्,’ उनले भने।

कोइरालाका अनुसार विस्तारित सेवामा काम गर्ने चिकित्सक तथा कर्मचारीको पारिश्रमिक समयमै भुक्तानी नहुनु, यो सेवामा विशेषज्ञ चिकित्सक बस्ने/नबस्ने कुरालाई स्वैच्छिक बनाइनुले यसले गति लिन नसकेको हो।

‘डेन्टल विभागले विस्तारित सेवा दियो, तीन महिनाको पारिश्रमिक एकैपटक भुक्तान भयो, यसो गर्दा कर्मचारी थप समय काम गर्न आकर्षित भएनन्,’ कोइरालाले भने।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुग्ने गरी वीरको विस्तारित सेवामा चासो राखेका थिए। थोरै गृहकार्य गरेमा थप सेवा सञ्चालन गर्न सकिने कोइराला बताउँछन्।

विस्तारित सेवा शुल्क समेट्ने डिजिटल लेखा प्रणाली निर्माण गर्ने, समयमा भुक्तानीलगायतमा ध्यान दिन सक्ने हो भने यो सेवा प्रभावकारी हुने उनको बुझाइ छ। दिनमा फुर्सद नहुने र सहुलियत शुल्कमा सेवा लिने वर्गका लागि विस्तारित सेवा सुरु गरिएको अस्पतालले जनाएको थियो। तर, सोचेअनुसार सेवा विस्तार हुन भने सकेको छैन।

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले बजेटमा कमी, ठुलो अस्पतालको व्यवस्थापनमा हुने कठिनाइ जस्ता कारणले विस्तारित सेवा विस्तार हुन नसकेको बताए। उनका अनुसार चालु आवका लागि अस्पताललाई गत आवभन्दा ३० करोड रुपैयाँ कम विनियोजन गरिएको छ। सेवा विस्तारका लागि बजेट र जनशक्ति चुनौती बनेको उनको भनाइ छ।

तर, विस्तारित सेवालाई थप विस्तार गर्ने विषयमा गृहकार्य भइरहेको उनले बताए। अस्पतालले दिनमा दुई सिफ्टमा सेवा दिँदै आएको छ।

‘दिनमै दुई सिफ्टमा सेवा दिइन्छ, त्यहाँ पनि बिरामीको पहुँच छ,’ उनले भने। अस्पतालका अन्य चिकित्सक तथा कर्मचारी व्यवस्थापन पक्षमा अलि विचार पुर्‍याए सिभिल, कान्ति र त्रिवि शिक्षण अस्पतालमा प्रभावकारी भएको विस्तारित सेवा वीरमा पनि प्रभावकारी हुने बताउँछन्।

प्रकाशित: ८ श्रावण २०८२ २१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App