१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जलन पीडितमाथि विभेदै विभेद, उपचारमा चुनौती उत्तिकै

सन्दर्भः विश्व जलन दिवस

जल्नु आफैमा ठूलो पीडा हो । त्यसपछि पाइलैपिच्छे हुने विभेद र समस्याले जलनपीडित थपजल्ने गरेको जलन पीडितहरुले सुनाए । शुक्रबार तेस्रो जलन राष्ट्रिय दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रममा यस्तो बताएका हुन । सोही क्रममा जलन पीडित कपनकी शशीकला ओझा छ वर्षअघि गर्भवती हुँदा जलेकी थिइन । उनी आगो ताप्दा जलेकी हुन । उनको ६० प्रतिशत भाग जलेको र वीर अस्पतालमा लगातार चार महिनाको उपचारपछि निको भएकी हुन । उनी अब थप उपचारको क्रममा बिग्रेका अंगको प्लाष्टिक सर्जरी गर्ने क्रममा छन ।

जलन उपचारकै क्रममा वीर अस्पतालमै बच्चा जन्माइन । तर जलनका कारण गर्भको बच्चालाई असर पर्‍यो । बच्चा हुर्किदैं गए । तर उनको बच्चा हिंड्न सकेनन् । यो पीडाले उनलाई सधैँ दुखिरहेको छ ।  

जलन पीडितका पीडाहरु भिन्न–भिन्नै छन । अनुहार जलेपछि उनीहरुमा हुने आफैँ माथिको अस्वीकार हुन्छ नै । त्यसमा पनि परिवार, समाजले गर्ने विभेदले जिन्दगीभर जलिरहन पर्ने सिविन नेपालकी डा. जस्मिनमाले बताइन ।‘जलनका बिरामी तीन वटा चरणमा मानसिक रुपले पीडित हुन्छन जल्दा, उपचार गर्दा र पछि हुने विभेदका कारण’ उनले भनिन ।  

No description available.

सोही क्रममा जलनबाट बच्न सफल जेनी खड्काले जलन पीडित माथिको विभेदको बारेमा कसैले वास्ता नगरेको बताइन । ‘न जागिर सजिलै पाउँछन, न समाजमा सम्मानित व्यवहार हुन्छ, न जागिरमा’ उनले भनिन । सोही क्रममा कीर्तिपुर अस्पतालका बर्न प्लास्ष्टिक सर्जन डा. शंकरमान राईले नेपालमा अधिकांश जलनमा पर्ने बिरामीहरु विपन्न नागरिक हुने र उनीहरुले महिनौ उपचार गर्न आर्थिक समस्याले पीडित हुने बताए । यसको साथै उपचारको सहज पहुँच नहुँदा जलन पीडितले अस्पतालसम्म पुग्ने क्रममै धेरै पीडा झेल्ने गरेको बताए । सरकारले सातै प्रदेशबाट जलनउपचार दिने घोषणा गरे पनि वन प्लाष्टिक सर्जन जनशक्तिकै अभाव भएकोले अहिले चुनौती कायम रहेको बताए ।  

नेपालमा अहिले पनि जलन पीडितको लागि सहज र प्रभावकारी उपचार केन्द्रको कमी रहेकोले जलन पीडित विभेदमै परेको नेपाल जलन फाउण्डेशनका संस्थापक अध्यक्ष तथा वीर अस्पताला वर्न प्लास्ष्टिक विभागका प्रमुख डा. पियुष दाहालले बताए । नेपालमा धेरैजसो जलनमा पर्ने महिला, बालबालिका, किसान, मजदुर रहेको र उनीहरु विपन्न भएकोले उनीहरुको उपचार तथा पुनर्स्थापनको लागि घरदेखि राज्यको भूमिका आवश्यक रहेको दाहालले बताए ।  

‘मेरो परिवार, मेरो समाज, मेरो देश, मेरो विश्व सवैको जिम्मेवारी हो’ उनले भने । जलनको जोखिममा पर्ने ठाउँ, व्यक्ति सबैलाई सुरक्षितगर्ने गरी जनचेतना फैलाउनुपर्ने डा. दाहाल बताउँछन ।  

No description available.

जलनमा परेका व्यक्तिको सामाजिक विभेदको अन्त्यको लागि उनीहरुमा रहेको आर्थिक विपन्नता, सामाजिक लान्छना, घृणा हटाएर शारीरिक तथा आर्थिक पुनर्स्थापनाको लागि समाजदेखि राज्यसम्मको प्रभावकारी भूमिका आवश्यक रहेको उनको सुझाव छ ।  

तथ्याकं अनुसार नेपालमा प्रतिवर्ष साना–ठूला गरी ५० देखि ७० हजार जना जलनमा पर्छन । तथ्याकं अनुसार सबैभन्दा बढी जलनमा पर्नेमा महिला ५८ प्रतिशत, पुरुष ४२ प्रतिशत छन । त्यसमा पनि युवा उमेरमै जलनमा पर्नेको संख्या ४० प्रतिशत छ ।  

नेपाल र नेपाल जस्ता विकासोन्मुख राष्ट्रहमा जलनको घटना बढी हुने गरेको चिकित्सकले औैल्याएका छन् ।

प्रकाशित: २१ कार्तिक २०८२ २१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App