१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘सुरुमै पहिचान र उपचार भए निको हुन्छ क्यान्सर’

विकसित देशमा क्यान्सर रोग पहिचान प्रारम्भिक चरणमै हुन्छ र उपचारबाट निको हुन्छ। नेपालमा भने बिरामी ढिलो गरी चिकित्सकको सम्पर्कमा पुग्दा समस्या भयावह छ। समयमै पहिचान र उपचार नहुँदा नेपालमा बर्सेनि क्यान्सरपीडित मध्ये ७० प्रतिशतले ज्यान गुमाउनुपरेको विज्ञ चिकित्सक बताउँछन्।

विश्व क्यान्सर दिवसर बुधबार विभिन्न सचेतनामूलक कार्यक्रमसहित मनाइएको छ। यसै अवसरमा काठमाडौंमा आयोजित फरकफरक कार्यक्रममा विज्ञ चिकित्सकले क्यान्सरका बिरामी रोग छिप्पिएपछि मात्र स्वास्थ्य संस्थामा पुग्दा उपचार चुनौतीपूर्ण बनेको बताए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी मेडिकल अन्कोलोजिस्ट डा. रजनी झाले नेपालमा पछिल्ला वर्षमा क्यान्सरका कारण हुने मृत्युदर बढ्दै गएको बताइन्।

ग्लोबो क्यानको सन् २०२२ को तथ्यांकअनुसार नेपालमा क्यान्सरका बिरामीमध्ये ७० प्रतिशतको पहिचान नहुँदै मृृत्यु हुने गरेको छ। ३० प्रतिशतको पहिचान समयमै हुँदा उपचारपछि ती निको हुन्छन्। चिकित्सकका अनुसार अहिले ५० हजार हाराहारीमा क्यान्स रोगी उपचारमा छन्।  

क्यान्सर लागेको एक वर्षभित्र १४ देखि १६ हजारजनाको मृत्यु हुन्छ। कुल क्यान्सर बिरामीमध्ये ५० हजार जनाको पाँच वर्षभित्रमा मृत्यु हुन्छ। मृत्युको कारण ढिला उपचारमा पुग्नु मुख्य कारण रहेको मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीले बताए। उनले भने, ‘८० देखि ९० प्रतिशत बिरामी अन्तिम चरणमा मात्र उपचारमा पुग्छन्’।

उनका अनुसार नेपालमा क्यान्सर उपचारको मुख्य चुनौती बिरामी ढिलो गरी चिकित्सकको सम्पर्कमा पुग्नु हो, ढिला पुग्दा रोग छिप्पिसकेको हुन्छ र उपचार प्रभावकारी हुन सक्दैन। ‘पहिला त दुर्गमका बिरामी चिकित्सकको सम्पर्कमा जानुअघि घरेलु उपचार लाग्छन्। घरेलु उपचार र अन्य प्रयासले निको नभएपछि बल्ला उनीहरू चिकित्सकसँग पुग्छन्, जतिबेला ढिला भइसकेको हु्न्छ। पहिचानका लागि कतिपय परीक्षण गर्न अहिले पनि भारतलगायतका देशमा पठाउनु पर्छ’, उनले भने।

ग्लोबो क्यानको २०२२ कै तथ्यांकअनुसार नेपालमा हरेक वर्ष क्यान्सरका नयाँ बिरामी थपिने क्रम पनि बढी नै देखिन्छ। सन् २०१८ मा नेपालमा पहिचान भएका नयाँ क्यान्सरका बिरामीको संख्या १८ देखि २० हजार थियो यो संख्या २०२२ मा आइपुग्दा २० देखि २५ हजार पुगेको थियो। यसबारे नेपालको आफ्नै तथ्यांक भने छैन। विज्ञका अनुसारमा अमेरिकामा बच्चामा हुने क्यान्सर छिटो पहिचानकै कारण ८० प्रतिशतसम्म बिरामी निको हुन्छन्।

नेपालमा क्यान्सरका कुल बिरामीमध्ये ६० देखि ७० प्रतिशतको एक वर्षभित्रमा मृत्यु हुने गरेको छ। यो कुल मृत्युको ३० प्रतिशत भएको विज्ञ बताउँछन्। बिरामी छिटो अस्पताल पुगे क्यान्सरबाट हुने मृत्यु घटाउन सकिने अन्कोलोजिस्ट झाले बताइन्। ‘सुरुमै पहिचान र उपचार हुँदा क्यान्सर निको हुन्छ’, उनले भनिन्।

विश्व क्यान्सर दिवसको उद्देश्य पनि सुरु चरणमै क्यान्सरको पहिचान, क्यान्सरबाट हुने मृत्युदर घटाउने, क्यान्सरबारे सचेतना फैलाउने छ। नेपालमा फोक्सो,स्तन, पाठेघर, आन्द्रा, मलाशय, प्रोस्टेट र पेटको क्यान्सरका बिरामी धेरै छन्।

मोटोपना, सुर्तीजन्य पदार्थको प्रयोग, मद्यपान, रसायनयुक्त खाना जस्ता कारणले नेपालमा क्यान्सर रोगी बढ्दै गएको चिकित्सक बताउँछन्। नेपालमा ढिला पहिचान, दक्ष जनशक्तिको अभाव, दुर्गममा क्यान्सर पहिचान सेवा नहुनु, पर्याप्त र सहज रुपमा औषधिको उपलब्धता नहुनु, एकित तथ्यांक नहुनु क्यान्सर उपचारका चुनौती भएको डा. झाले औंल्याइन्।

वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्रप्रासद बराल क्यान्सरबारे सचेतना फैलाउन सके पहिलो उपचार त्यही नै भएको बताउँछन्। उनी भन्छन्, ‘एक दिन क्यान्सर दिवस मनाएर सचेतना बढ्दैन, पाठ्यक्रममै क्यान्सरको विषय समावेश गर्नुपर्छ।’

उनले अहिले नेपालमै धेरैजसो क्यान्सरको उपचार सम्भव भएको बताए। ‘मेरो परिवारमा ७३ जनालाई क्यान्सर भइसकेको छ। मैले उपचारका लागि एक जनालाई पनि विदेश पठाएको छैन’, उनले भने। छिटो पहिचान नै क्यान्सरको उपचार भएको उनको बुझाइ छ। ‘सुरुको अवस्थामा पहिचान गर्न सके पाठेघरको मुख र मुखको क्यान्सर सय प्रतिशत निको हुन्छ’, उनले भने।

क्यान्सरबाट बच्न हरेक व्यक्ति सचेत हुनुपर्ने र क्यान्सर दिवसले खतराको घण्टी बजाएको नेपाली चलचित्रका नायक राजेश हमालले बताए। आहार विहारले पनि क्यान्सर रोक्न सकिने उनले औंलाए। ‘के खाने भन्नेमा हैन, के नखाने भन्नेमा सोच्नुहोस्, दैनिक एक÷दुई किलोमिटर हिँड्नुहोस्’, उनले भने।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली आफूले क्यान्सरलाई जितेपछि खुसीपूर्वक जिउने कला सिकेको बताए। क्यान्सर उपचारका क्रममा २४ पटक शल्यक्रिया गरेका उनले स्वस्थ खानपानमा ध्यान दिन सुझाए। ‘क्यान्सरबाट बच्न सकेसम्म अर्गानिक तरकारी तथा फलफूल खानुपर्छ’, उनले भने।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि पौडेलले क्यान्सर लागेका बिरामीलाई चिकित्सकले गर्ने व्यवहार हौसलालायक हुनुपर्ने बताए। क्यान्सर उपचारपछि निको भएका मानिसले अन्य बिरामीको मनोबल बढाउने काम गर्नुपर्ने पनि उनले बताए।

नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी उपाध्यक्ष पूजा कुवँरले सोसाइटीले क्यान्सरपीडितलाई अस्पतालले सहज र सम्मानपूर्ण उपचार सेवा दिनुपर्ने बताइन। नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले नेपालीमा प्रतिरक्षा प्रणाली र क्यान्सरको उपचारबारे अनुसन्धान हुनुपर्ने आवश्यकता औंलाए।

प्रकाशित: २२ माघ २०८२ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App