अफगानिस्तानविरुद्धको एकमात्र टेस्ट क्रिकेटमा भारत फराकिलो अन्तरमा विजयी भएको छ।
न्यू चन्डिगढमा फलोअनमा परेको अफगानिस्तान दोस्रो इनिङ्समा पनि ११२ रनमा अलआउट भएपछि भारत इनिङ्स र ३ सय रनको फराकिलो अन्तरमा विजयी भएको हो। तेस्रो दिन अफ्गानिस्तान दोस्रो इनिङ्समा मात्र ३५.५ ओभरमा ११२ रनमा अलआउट भयो। भ्रमणकारी टोलीका लागि सेदिकुल्लाह अतलले सर्वाधिक ४२ रन बनाए। ७ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर नै गर्न सकेनन्।
भारतका लागि वासिङ्टन सुन्दरले ४ र कुलदीप यादवले ३ विकेट लिए।
यसअघि सोमबार नै ५ विकेटको क्षतिमा ११३ रनबाट तेस्रो दिनको खेल थालेको अफगानिस्तान १५२ रनमा अलआउट भयो। राहत साहले ६० रन बनाए पनि अन्यको प्रदर्शन उल्लेख्य हुन सकेन।
भारतका लागि भानव सुथारले डेब्यू टेस्टमा ६ विकेट लिए। २२ ओभर बलिङ गरेका उनले १० मेडनसहित ३३ रन दिए। प्रशिद्ध कृष्णको नाममा ३ विकेट रह्यो।
भारतले भने पहिलो इनिङ्स ८ विकेटको क्षतिमा ५६४ रनमा डिक्लियर गरेको थियो। कप्तान सुभम गिलले १२६ र केएल राहुलले शतक बनाएको इनिङ्समा साई सुदर्शन र रिसब पन्तले समान ८१ रन बनाए। वासिङटन सुन्दरले ५२ रन जोडे।
प्रकाशित: २५ जेष्ठ २०८३ १९:३२ सोमबार




