त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी)’ चिकित्सा उपकरण सञ्चालनमा ल्याइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत विमानस्थल कार्यालयले आज (बिहीबार) विज्ञप्ति निकालेर यस्तो जानकारी गराएको हो।
विमानस्थल परिसरमा हवाई यात्रु तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले उक्त उपकरण जडान गरिएको विज्ञप्तिमा उल्लेख छ।
हवाई यात्रा तथा अन्य सेवाको प्रयोगका क्रममा कहिलेकाहीँ यात्रुमा बेहोस हुने, श्वासप्रश्वासमा समस्या देखिने वा मुटुसम्बन्धी गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राखी एईडी उपकरण प्रयोगमा ल्याइएको विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार यस्ता आकस्मिक घटना तथा दुर्घटना समयमा समयमै उचित उपचार नपाउँदा मानवीय क्षति हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न एईडी उपकरणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। कुनै पनि व्यक्तिमा मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएमा तत्काल उक्त उपकरण प्रयोग गरी जीवनरक्षा गर्न सकिने उनको भनाइ छ।
विमानस्थल व्यवस्थापनले आगामी दिनमा यस्ता स्वास्थ्य सुरक्षासम्बन्धी सेवा तथा उपकरणको विस्तार गर्दै जाने योजना रहेको पनि जनाएको छ।
प्रकाशित: २६ चैत्र २०८२ १७:५६ बिहीबार





