१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पताल एकीकृत स्वास्थ्य सूचना प्रणाली लागू गर्ने प्रक्रियामा

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल एकीकृत स्वास्थ्य सूचना प्रणाली लागू गर्ने प्रक्रियामा अघि बढेको छ।

अस्पतालमा इएचाआर प्रणाली लागू गर्नको लागि अस्पतालले हालै अध्ययन टोली तयार गरेको छ। अस्पतालमा उपचारका लागि जाने बिरामीको विवरण सुरक्षित राख्ने प्रणालीलाई इएचआर प्रणाली (स्वास्थ्य सूचना प्रणाली) भनिन्छ।

यो प्रविधी अनुसार बिरामीको उपचारको सबै कागजात डिजिटिल प्रणालीमा राखिन्छ। बिरामी प्रवेशगरेदेखि डिस्चार्ज हुँदाको समेत सूचना सुरक्षित गरी राखिन्छ। सरकारको एकीकृत स्वास्थ्य सूचना प्रणाली नीति अनुसार वीर अस्पतालले यो प्रणाली लागू गर्न लागेको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए।

यसअघि नै  वीर अस्पतालमा बिरामी रजिस्ट्रेसन, फार्मेसी, अकाउन्ट, ल्याब रिपोर्ट, विलिङ अनलाइन रिर्पोटिङ, अनलाइन रजिस्ट्रेसन हुने गरेको छ। तर  यी सेवा एकीकृत हुन नसकेकोले एकीकृत प्रणालीको प्रक्रियामा अघि बढिरहेको  निर्देशक वस्नेतले बताए। यो प्रणाली लागू गर्नको लागि विज्ञ टोलीले अध्ययन समेत गरिसकेको प्रमुख बस्नेतले बताए।

टोलीले उक्त रिपोर्ट आइतवार अस्पताललाई बुझाएको उनले बताए। डा. सुवास प्याकुरेलसहितको विज्ञ टोलीले अध्ययन रिपोर्टमा इएचआर प्रणाली लागू गर्न आवश्यक चाहिने संरचना र प्रक्रियाको बारेमा उल्लेख गरी विज्ञले रिपोर्ट बुझाइसकेको बस्तेनले जानकारी दिए। ‘विज्ञको रिपोर्टपछि यो प्रणाली लागू गर्न सहज हुने भएको छ’ बस्नेतले भने।

बिरामीलाई उपलब्ध गराइने नम्बरबाट बिरामीका विवरणहरु सहज रुपमा हेर्न सकिने भएकोले नेपालको जूनसुकै अस्पतालवाट बिरामीको रोगको इतिहास, खाइरहेको औषधि, विगतको स्वास्थ्य जाँचको अवस्था हेरेर थप उपचार प्रक्रिया अगाडि बढाउन सहज हुने भएकोले यो प्रणाली उपचारमा अत्यन्तै प्रभावकारी भएको बस्नेतले बताए। ‘यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके बिरामी र अस्पताल दुवैलाई सेवा लिन र दिन सहज हुन्छ’ उनले भने।

सरकारले चालु आर्थिक वर्षमा एकीकृत स्वास्थ्य सूचना प्रणालीको लागि बजेट बिनियोजन गरेको भएपनि यस बिषयमा अन्य अस्पतालहरुले कुनै प्रक्रिया अघि बढ्न नसकेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक सूचना अधिकारी माधव कुमार श्रेष्ठले बताए।

प्रकाशित: २५ कार्तिक २०७९ १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App