coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बढ्दै कोरोना छैन सुरक्षा सतर्कता

केही दिनयता कपिलवस्तुमा कोरोना संक्रमण बढ्दै गएको देखिएको छ; तर सरकारी निकायदेखि आम मानिसले संक्रमणबाट बच्न खासै सतर्कता अपनाएको पाइएन। यस्तो असावधानी देख्दा लाग्छ कोरोनाले पहिलेजस्तै रूप लियो भने उपचारको अवस्था पनि पहिलेजस्तै चुनौतीपूर्ण हुने छ।

गएको एक सातामा मात्र कपिलवस्तुमा ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। कुल ६८८ एन्टिजेन परीक्षण गर्दा ४६ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। सरकारी अधिकारीले पनि कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको स्वीकार्छन्; तर कोरोनाको परीक्षण भने सुस्ताएको छ। कतै पनि सुरक्षा सतर्कता अपनाइएको देखिँदैैन। बजार, चोक, सरकारी कार्यालय, बैंकलगायतका स्थानमा भीडभाड उत्तिकै छ।

दुई वर्ष कोरोना संक्रमणको अटसमटसमा परेका नागरिक पुनः लापरबाह बन्न थालेको अधिकारकर्मी रवि ठाकुर बताउँछन्। ‘संक्रमणमा नपरेको व्यक्तिले संक्रमणको डर नै अनुभूति गर्न सकेनन्’, उनले भने। कोरोना संक्रमण रोक्न प्रतिकार्य योजना नबनाइनु सबैको कमजोरी भएको उनले बताए।

‘संक्रमणका बेला साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दूरी राख्ने बानी विकास भएको थियो, जसका कारण अन्य संक्रमण घटेको थियो; तर नागरिक सरसफाइ र सचेतनामा लापरबाह बन्दै गएका छन्’, उनले भने।

जिल्लाका १० वटै पालिकाका सर्वसाधारण कोरोनाप्रति पूर्णरूपमा बेवास्ता गर्न थालेका छन्।पालिकाका कर्मचारीले समेत कुनै सुरक्षा सतर्कता अपनाएका छैनन्। पालिकाका स्वास्थ्य शाखाले लामो समयदेखि कोरोना परीक्षणसमेत गरेका छैनन्। कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले कोरोना संक्रमितको संख्या बढ्दै गए पनि सुरक्षा सतर्कता नअपनाइएको बताए। ‘मानिसमले कोरोनालाई हल्का रूपमा लिएका छन्’, उनले भने, ‘परीक्षणसमेत गराउँदैनन्, यसतर्फ बेलैमा सचेत हुनुपर्छ।’ कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले शंका लागेर आउनेको अस्पतालमा एन्टिजेन परीक्षण गर्ने गरिएको बताए।

प्रकाशित: १५ भाद्र २०७९ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App