१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

हेमोफिलियाका बिरामीलाई एक करोडको औषधी

औषधी हस्तान्तरण गर्नुअघि सम्झौतापत्र प्रदान गर्दै मन्त्री लामा (दायाँ)।

घाउ तथा चोटपटक लागेपछि रगत नरोकिने (हेमोफिलिया) बिरामीका लागि बागमती प्रदेश सरकारले एन्टी हेमोफिलिक फ्याक्टर (औषधी) हस्तान्तरण गरेको छ। आइतबार हेटौंडामा एक कार्यक्रमबीच बागमती प्रदेशभित्रका हेमोफिलियाका बिरामीका लागि करिब एक करोड रूपैयाँ बराबरको एक हजार १३० भायल औषधी हस्तान्तरण गरिएको हो।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले हेमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरेलगायत उनको कार्यसमितिलाई औषधी हस्तान्तरण गरेको हो। औषधी अभावमा हेमोफिलियाका बिरामीले अकालमा ज्यान गुमाउन बाध्य रहेको अवस्थालाई मध्यजनर गर्दै प्रदेश सरकारले एन्टी हेमोफिलिक फ्याक्टर उपलब्ध गराएको हो। डब्लूएचओका अनुसार १० हजारजनाको जन्म हुँदा एकजनामा यो रोग देखा पर्ने गरेको छ।

हालसम्म नेपालभर ७८० जना यस संस्थामा आबद्ध रहेकोमा बागमती प्रदेशमा २५० जना हेमोफिलियाका बिरामी रहेको सोसाइटीका अध्यक्ष घिमिरेले जानकारी दिए। अघिल्लो वर्ष हेमोफिलिया भएका चारजनाको मृत्यु भएको थियो। ‘हेमोफोलिया महासंघले सहयोगी निकायमार्फत हामीलाई औषधी उपलब्ध गराउँदै आएको थियो। पछिल्लो समय ‘डोनर’ ले पनि सहयोग गर्न छाडेपछि हामीले प्रदेश सरकारलाई गुहारेका हौं’, उनले भने, ‘सरकारले दिने औषधी हाम्रा लागि सञ्जीवनी बुटी हुने छ। औषधी अभावमा ज्यान गुमाउनुपर्ने अवस्था छ। प्रदेश सरकारले हस्तान्तरण गरेको औषधीले धेरै राहत मिल्ने छ। हामीलाई अझै पनि औषधी अभाव छ।’ हेमोफिलिया वंशाणुगत समस्या हो।

औषधी हस्तान्तरण गर्दै प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले हेमोफिलियाका बिरामीका लागि यस वर्ष एक करोड रूपैयाँबराबरको औषधी किनेको जानकारी दिँदै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए। ‘हामीले उपलब्ध गराएको औषधी सम्बन्धित व्यक्तिलाई सर्वसुलभ उपलब्ध गराइदिनुहोला। प्रदेशभित्रका जस्तोसुकै बिरामीलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन तयार छौं’, मन्त्री लामाले भने, ‘पाठेघरमा हुने क्यान्सर रोक्न भ्याक्सिन उपलब्ध गराउने तयारीमा छौं। नागरिकलाई बचाउन र रोगबाट मुक्त राख्न लागिपरेका छौं।’

विकास निर्माणको बजेट घटाएर भए पनि प्रदेश सरकार नागरिक बचाउने अभियानमा लाग्ने उनको प्रतिबद्धता थियो। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक अर्जुनप्रसाद सापकोटाले हेमोफिलिया भएकालाई निरन्तर रक्तस्राव हुने जानकारी दिँदै उपलब्ध औषधीले बिरामीलाई राहत मिल्ने विश्वास व्यक्त गरे। बिरामीको तौल र अवस्थाअनुसार औषधी लगाउनुपर्ने हुन्छ। यो औषधी बाहिरी पसलमा उपलब्ध हुँदैन। प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट औषधी किनेर उपलब्ध गराएको हो।

प्रकाशित: २३ श्रावण २०७९ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App