भेरी अस्पताल विकास समितिले अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागलाई गत साउन २२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कारबाहीका लागि सिफारिस गरी पठायो। कारबाहीको कारण थियो, ‘डा. नागले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगर्नु।’
ड्युटीको समयमा पनि निजी अस्पतालमा काम गरेको भन्दै अस्पताल विकास समितिले उनलाई पटकपटक नियमित काममा उपस्थित हुन अनुरोध गर्दै आएको थियो। तर, उनले अटेरी गरेपछि बाध्य भएर अस्पताल विकास समितिले कारबाहीको सिफारिस गरेको थियो। तर, उनीमाथि कुनै कारबाही भने भएन। यति मात्र होइन, बाँकेका कतिपय डाक्टर तथा चिकित्सकले कार्यालय समयमा निजी अस्पताल तथा क्लिनिकहरूमा काम गर्ने गरेको पाइएको छ। जसले गर्दा बिरामीहरू प्रत्यक्ष मारमा परेका छन्। चिकित्सक र डाक्टरहरू भेरी अस्पतालमा आफ्नो समयभन्दा केही ढिलो आउने र केही छिटो जाने गरेको पाइएको छ। आफ्नो ड्युटीभन्दा पछिको समय निजी अस्पतालमा काम नगर्न कानुनले बन्देज नगरे पनि चिकित्सक तथा डाक्टरले आफ्नो जिम्मेवारी, कर्तव्य, आचरण र अनुशासनका लागि निजी अस्पतालमा काम नगर्नु राम्रो हुने भेरी अस्पतालका निमित्त मेसु डा. बद्री चापागाई बताउँछन्।
‘अप्रेसन छ वा इमरजेन्सी बिरामी भए भने बिहानै वा राति पनि काम गर्नुपर्छ,’ उनले भने, ‘कार्यालय समयमा आयो वा आएनभन्दा पनि कार्य सम्पादन सही हुनुपर्छ। हाजिरी नै ठूलो होइन।’ भेरी अस्पतालका केही चिकित्सक तथा डाक्टर निजी अस्पताल र मेडिकलमा काम गर्ने गरेको अस्पताल स्रोतले जनायो। यहाँका चिकित्सक तथा डाक्टरले बाहिर काम गर्दा टाढाबाट आएका बिरामीले छिटोछरितो उपचार पाउन सकेका छैनन्। जसले पुष्टि गर्छ ‘भेरी अस्पतालमा हुने बिरामीको लाइनले’। डाक्टर नहुँदा बिरामीले समयमै उपचार पाउन नसकेको उपचारका लागि आएका वीरजित तिवारीले बताए। ‘अस्पतालमा बिहान १० बजेदेखि लाइन, समयमै पालो पाइँदैन,’ उनले भने, ‘एउटा कुरा बिरामीको संख्या धेरै भएर र अर्काे कुरा डाक्टर समयभन्दा ढिलो आउँदा समयमै उपचार हुँदैन।’ तलब सरकारी खाने र काम निजीमा गर्ने गर्दा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही भएको सर्वसाधारणको भनाइ छ। सरकारी तलब खाएपछि सरकारी अस्पतालबाटै सेवा दिनुपर्ने उनीहरूको भनाइ छ।
सरकारी तलब खाएर निजीमा काम गर्ने चिकित्सक र डाक्टरलाई बरखास्त गर्नुपर्ने दिपेशसिंह ठकुरीले बताए। जनशक्ति अभाव हुन नदिन कोटा खोल्नुपर्ने उनी बताउँछन्। ‘हर्नियाको अप्रेसन गर्नुपर्यो भने भेरी अस्पतालमा ६ महिना अगाडि समय लिनुपर्छ,’ उनले भने, ‘निजीमा जाँदा आजको आजै हुन्छ। सरकारी अस्पतालमा यस्तै डाक्टर हुँदा समस्या भयो।’
२० गते आएर २९ गतेसम्मको हाजिरी
भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले असार २९ गतेसम्म हाजिरी लगाएको पाइएको छ। असार २० गते कार्यालयमा हाजिर भई उनले नौ दिन बढी हाजिर लगाएका हुन्। नागले कार्यालयमा अग्रिम हाजिरी गरेर आफ्नो उत्तरदायित्व र कर्तव्य निर्वाह गर्न नसकेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जनाए। ‘कार्यालय समय अवधिभन्दा बढी हाजिर लगाउनु भएको छ,’ उनले भने, ‘यो राम्रो भएन।’ डा. नागले कर्तव्य निर्वाह नगर्दा कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस पठाइएको उनले बताए। कमजोरीका कारण बढी दिन हाजिरी लागेको डा. नागले जनाए। ‘मैले भुलबस नौ दिन बढी हाजिर लगाएको रहेछु,’ उनले भने, ‘यो मेरो कमजोरी हो।’
अस्पताल व्यवस्थापन कमजोर
भेरी अस्पतालमा व्यवस्थापन पक्ष कमजोर छ। कमजोर व्यवस्थापनका कारण बिरामीले समयमै उपचार पाइरहेका छैनन्। म यहाँ २०/२२ वर्षदेखि कार्यरत छु। कुनै शाखामा कम र कुनैमा धेरै कर्मचारी व्यवस्थापन गरिएको छ। जसले गर्दा चिकित्सक तथा डाक्टरले उपचार गर्न भ्याउनै समस्या भएको छ भने बिरामीले छिटो उपचार पाउन सकेका छैनन्। मैले बिरामीको स्वास्थ्यलाई ख्याल नगरी ड्युटी छुटाएको छैन। कहिलेकसो राति बोलाइन्छ। म जान पाउँदिनँ। उमेर पनि उस्तै बुढो छ। अर्काे कुरा पत्नी बिरामी छिन्। कसरी समय व्यवस्थापन गरौं। मेरो शाखामा अर्काे पनि व्यक्ति भएको भए आलोपालो उपचार गर्न सकिन्थ्यो। पहिला जस्तो काम गर्न सकिँदैन। काम गर्दागर्दै थकाइ लागिहाल्छ।
अनि अर्काे कुरा, भेरी अस्पतालमा कुनैको परीक्षण हुँदैन वा औषधि छैन वा अन्य बहानामा बाहिर निजी अस्पताल तथा क्लिनिकमा बिरामीलाई पठाइन्छ। अस्पताल व्यवस्थापन बिचौलिया र कमिसनमा फसेको छ।
प्रकाशित: २४ असार २०७९ ०४:३० शुक्रबार





