१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रोग बोकेर बाँचिरहेछन् दुर्गमका महिला

दुर्गममा महिलाको स्वास्थ्य अवस्था गतिलो नभएको प्रमाण एक तथ्याङ्कले देखाएको छ। आज पनि दुर्गममा महिलाहरु आर्थिक अभावमा गतिलो स्वास्थ्य सेवा नपाउदा शरिरमा रोग पालेर बस्ने गरेको देखिन्छ।

गत साता पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाको खारा र पेउघामा संचालन गरिएको तिन दिनको महिला स्वास्थ्य शिविरमा ५ सय ४७ जनाले उपचार सेवा लिएका थिए।

उक्त शिविरमा ११ वर्षदेखि माथिका २ सय २६ जना महिलाको पाठेघर मुख सुन्निएको पाइएको थियो। पिसाब संक्रमण २६ जना, योनी चिलाउने १५ जना, महिनावारी गडबडी ४ जना, रगत बग्ने २ जनाले उपचार सेवा लिएको आयोजकले जनाएको छ। त्यस्तै पाठेघर झरेको पहिलो डिग्री ९ जना, दोश्रो डिग्री २० जना र तेश्रो डिग्री ८ जनाको उपचार गरिएको थियो।

मानसिक समस्याको ११ जनाले उपचार सेवा लिएको शिविरमा रक्तअल्पता, तल्लो पेट दुख्ने लगायतका समस्यामा परेका जम्मा ५ सय ४७ जनाको उपचार भएको छ। महिला पुनस्र्थापना केन्द्र (ओरेक) रुकुमले आयोजना गरेको शिबिरमा डा. केएल बिक्रम जिसि र छबिलाल नेपालीले बिरामीको जाँच गरेका थिए।

शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर जाँच लगायतको परीक्षण तथा उपचार गरिएको थियो।

पाठेघर झरेर जटिल अवस्थामा पुगेका र फिस्टुलाको समस्यामा रहेका महिलाहरुलाई सरकारी निकायसँगको सहकार्यमा सुविधा सम्पन्न अस्पतालमा लगेर शल्यक्रिया सेवा प्रदान गरिने ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताइन्।

धितालका अनुसार दुई दिनको शिविरमा २४ जनालाई पाठेघरमा रिङ्ग राखिएको थियो भने पाठेघर झरेका ३८ केसमध्ये एक दर्जन महिलाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ। नेपाल सरकारले व्यवस्था गरेको निःशुल्क स्वास्थ्य सेवाको विषयमा जानकारी गराउँदै महिलाको पँहुच अभिवृद्धि गर्नु शिविरको अर्को उद्देश्य समेत रहेको ओरेकले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७८ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App