२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान

लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कलले सोलुखुम्बुको सल्लेरीस्थित योङ स्टार क्लबसँगको सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएको छ। सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाको आधार शिविर जाने मुख्य नाका तथा जिल्लाको सदरमुकाम हो।

आयोजक टिमका अनिल तुलाधरले सोही दाबीलाई गिनिज बुक अफ वर्ड रेकर्डको लागि पहल गर्ने समेत जनाए। ‘यसअघि यति धेरै अग्लो ठाउँमा धेरै जनाले एकैपटक रक्तदान गरेको हामीले भेटाएनौं। त्यसैले पनि विश्व जगतले चिन्ने सगरमाथाको काखमा आएर हामीले विश्व कीर्तिमानको लागि प्रयास गरेका छौं।’ तुलाधरको दाबी थियो।

हुनपनि चिसो ठाउँ, ब्लड बैंक नभएको र प्राविधिक जनशक्ति अभाव भएको ठाउँमा रक्तदान गर्नु चुनौतिपूर्ण छ। सोलुखुम्बु जिल्लामै ब्लड बैंक छैन। त्यसैले पनि यस्तो दुर्गम ठाउँमा रक्तदान गर्नु चुनौतीपूर्ण छ। एक त रक्तदान गरेलगत्तै त्यसलाई सुरक्षित तवरले निर्धारित तापक्रममा सम्बन्धित ठाउँमा राख्नुपर्ने हुन्छ भने अर्कोतर्फ रगत संकलन गरेर प्रयोग गर्नु बेस हुन्छ। सोलुखुम्बुमा यी आधारहरू बनिसकेका छैनन्।

त्यस्तै सोलुस्थित योङ स्टार क्लबका दिपक राजभण्डारीले जटिल स्वास्थ्य समस्यालाई जिल्लामै उपचार गर्न र गराउन असमर्थ रहेकोमा दुःख व्यक्त गरे। स्वास्थ्य सम्बन्धी थप उपचार गराउन हेलिकप्टरमार्फत् काठमाडौं लानुपर्ने बाध्यता रहेकोमा स्थानीय स्तरमै सुविधा सम्पन्न अस्पताल हुनुपर्नेमा जोड दिए।

काठमाडौँदेखि कात्तिक २५ गते हिँडेको टोलीले सल्लेरीको सुरक्षा संयन्त्र, जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानिय खेलकुद समिति तथा अन्य संस्थाहरूसँग सहकार्य गरेको छ। कार्यक्रममा कान्तिपुर अस्पतालको ब्लड स्टान्सफ्यूजन सेन्टरले प्राविधिक रूपमा सहकार्य गरेको छ भने स्थानीय जनप्रतिनिधि, रोटरी क्लब अफ ठमेल, पिएमजेएफ दिपक खरेल, सेकेन्ड भिडिजी मणिश्री रत्न बज्राचार्य, योगेश जोशी, टीका होलिडेज्, हिमाली ब्रेड, हिलबर्ड सेभिङ एण्ड क्रेडिट लिमिटेड, तारा एअर, तारामण्डल महिला सशक्तीकरण अभियान, रिलायन्स सिमेन्ट, धालासिक्व टोल संरक्षण परिवारले सहयोग गरेको छ।

प्रकाशित: २९ कार्तिक २०७८ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App