३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दोभानमा सुरु भयो आँखा उपचार केन्द्र

यासोकमा केही समय पछि

ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको शाखाको रुपमा दोभान बजारमा दोभान आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो। 

मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको आर्थिक साझेदारी तथा सेवा फउण्डेसन र नेपाल ज्योति संघको प्राविधिक सहयोगमा उपचार केन्द्र सञ्चालनमा आएको हो। गत ३० माघमा मेरिङदेन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाका प्रमुखसहितको सरोकारवालाको बैठकको निर्णय अनुसार दुबै पालिकाले चालू आर्थिक वर्षबाट सालिन्दा जनही ३–३ लाख रुपैयाँ आर्थिक साझेदारी गर्नेछन्। आँखा उपचार केन्द्र भवनको सजावट, भाडा, फर्निचरसहितका सामग्री व्यवस्थापनका लागि दुबै पालिकाले आर्थिक वर्ष २०७७।०७८ मा २–२ लाख रुपैयाँको आर्थिक साझेदारी गरेका थिए। 

दुबै पालिकाले गर्ने सालिन्दाको आर्थिक साझेदारी रकमबाट उपचार केन्द्रमा खटिएका प्राविधिकसहितका जनशक्तिहरुलाई तलवभत्ताका शीर्षकमा साझेदारी हुने नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाका सभापति मुक्तिराज पौडेलले जानकारी दिए। उपचार केन्द्रका लागि चाहिने उपकरण, नपुग तलवभत्तासहितको अन्य आर्थिक व्ययभार भने नेत्र ज्योति संघ ताप्लेजुङले व्यहोर्ने छ। 

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका इञ्चार्ज काजीमान गुरुङका अनुसार दोभान बजारमा स्थापना भएको आँखा उपचार केन्द्र ताप्लेजुङमा सदरमुकाम फुङ्लिङ पछिको दोस्रो हो। यसले यहाँका मेरिङदेन, आठराइ त्रिबेणी, मैवाखोला र मिक्वाखोला गाउँपालिकाका जनतालाइ आँखा उपचार तथा परीक्षणका लागि सघाउ पुग्ने छ। दोभान बजारमा आँखा उपचार केन्द्र स्थापना भएसंगै अब यि क्षेत्रबाट आँखाको उपचार तथा परीक्षणका लागि सदरमुकाम फुङ्लिङसम्म धाउनुपर्ने समस्याको अन्त्य भएको मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए। 

आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष बिश्वनाथ सिटौलाले सदरमुकाममै पुगेर लिनुपर्ने आँखा उपचार सेवा दोभान बजारबाटै पाउनु तमोर पारीका जनताका लागि लाभको विषय भएको बताए। मेरिङ्देन गाउँपालिका वडा न १ थिङ्लाबुका वडाध्यक्ष लाक्पातेम्बा शेर्पाले आफ्नै गाउँ–ठाउँबाट आँखा उपचार सेवा लिन पाउने आम नागरिकको चाहना पूरा भएकोमा प्रसन्नता व्यक्त गरे। दोभान बजारमा अहिले नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजीमान थेबेसहितको प्राविधिक टोलीले उपचार तथा परीक्षणको सहजीकरण गर्ने छ।

त्यसपछि आवासीय तालिममा रहेका अन्य जनशक्ति पठाउने तयारी रहेको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ। नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले पाँचथरको कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधि भित्रै कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको समेत नेत्र ज्योति संघका जिल्ला सभापति पौडेलले जानकारी दिए। 

उनका अनुसार आँखा उपचार केन्द्र सञ्चालनका लागि कुम्मायक गाउँपालिकासंग सम्झौता भइसकेर नेत्र ज्योति संघले त्यसका लागि प्रकृया समेत अघि बढाइ सकेको छ।

प्रकाशित: १९ श्रावण २०७८ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App