८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नयाँ ब्यवस्थापन फेर्दै नेपालगन्ज मेडिकल कलेज

लर्डवुद्ध एजुकेशनल एकेडेमीले सञ्चालन गरेको नेपालगन्ज मेडिकल कलेज । तस्बिर : नागरिक

लर्डबुद्ध एजुकेशनल एकेडेमीले सञ्चालन गरेको नेपालगन्ज मेडिकल कलेजमा नयाँ ब्यवस्थापन फेर्ने तयारी गरिएको छ। नोबेल र केएमसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रतिष्ठित ब्यवसायी सुनिल शर्माले नेपालगन्ज मेडिकल कलेजको शेयर बढाएर नयाँ ब्यवस्थापनको जिम्मेवारी सम्हाल्ने भएका हुन्।  

उक्त कलेज बिक्री हुन थालेको हल्ला चलिरहेकै बेला ब्यवसायी शर्माले करिव ४२ प्रतिशत शेयर बढाएर ब्यवस्थापनको जिम्मेवारी सम्हाल्ने निश्चित भईसकेको कलेज प्रशासनले पुष्टी गरेको छ। नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले आफ्नो शेयर बढाएर शर्माले नै सम्पूर्ण ब्यवस्थापन सम्हाल्ने तयारी भइरहेको बताए। ‘मेडिकल कलेजको शेयर खरिद र बिक्री गर्ने प्रक्रिया सामान्य हो, पुराना शेयर धनीले छाड्छन्, नयाँ आउँछन्, सुनिल जीले शेयर बढाएर ब्यवस्थापन आफै हेर्नु हुनेछ,’ नागरिकसँग उनले भने।  

प्रबन्ध निर्देशक डा. कनोडियाका अनुसार हाल नेपालगन्ज मेडिकल कलेजमा करिव ७० जना शेयर सदस्य रहेका छन्। यसअघि सबैभन्दा बढी शेयरमा (करिव १६ प्रतिशत) कनोडिया परिवारको वर्चश्व रहेको थियो। यस्तै नयाँ ब्यवस्थापन सम्हाल्न लागेका शर्माको यसअघि ३ प्रतिशत मात्र शेयर रहेकोमा बढाएर ४२ प्रतिशत जति पुग्ने कनोडियाले सुनाए।  

केही सदस्यले बिक्री गरेको शेयर थपेर शर्माले मेडिकल कलेजको ब्यवस्थापन सम्हाल्न लागेको उनी बताउँछन्। कलेजमा कार्यरत कर्मचारीले काम भन्दा बढी राजनीति गर्दा आफूले सञ्चालन गर्न नसकेको कनोडियाले बताए। ‘जो कर्मचारीले सबैभन्दा बढी तलब सुविधा लिन्छ, उ हाजिर गरेर राजनीतिमा समय बिताउँछ,’ उनले भने, ‘मैले उनीहरुलाई कडाई गरेर काममा लगाउन सकेन, त्यसकारण मेडिकल कलेजलाई सुधार्न नयाँ ब्यवस्थापक आउन जरुरी भयो।’ यसका साथै मेडिकल कलेजमा दक्ष जनशक्ति र गुणस्तरीय उपकरण जडान गरी नेपालकै नमुना बनाउनका लागि पनि अनुभवी ब्यवस्थापकको खाँचो परेको डा. कनोडिया बताउँछन्।  

मेडिकल कलेजभित्र आवश्यक भन्दा बढी कर्मचारी हुँदा संस्था घाटामा गइरहेको उनले सुनाए। ‘मेडिकल कलेजको क्षेत्रमा उहाँ(सुनिल)को राम्रो अनुभव छ, त्यसकारण कलेजको सुधारका निम्ति पनि नयाँ ब्यवस्थापन चाहिएको हो,’ उनल थपे। शेयर खरिद/बिक्रीको सम्पूर्ण प्रक्रिया करिव दुई महिनाभित्रमा टुंगिने मेडिकल कलेज प्रशासनले जनाएको छ।  

कलेजमा नयाँ ब्यवस्थापन आउने निश्चित भएपछि हाजिर मात्र लगाएर तलब खाने कर्मचारी यतिबेला तनावमा छन्। स्रोतका अनुसार ब्यवस्थापन परिवर्तन भए लगत्तै कलेजभित्र रहेका कर्मचारी कटौती गर्ने आन्तरिक तयारी छ। ‘पहिलो चरणमा हाजिर लगाएर तलब मात्रै खाने कर्मचारी र लेखा, प्रशासन, स्टोर लगायत कामको जिम्मेवारी सम्हालेका ब्यक्तिलाई हटाउने तयारी छ,’ स्रोतले भन्यो।  

कलेजमा नयाँ ब्यवस्थापन फेरिन लागेको हल्ला चलेपछि कार्यरत कर्मचारीले तलब, भत्ता नपाएको भन्दै आन्दोलन गरिरहेका छन्। आफूहरुले ३ देखि ४ महिनाको तलब, भत्ता नपाएको आन्दोलनरत कर्मचारीको गुनासो छ। आन्दोलन स्वरुप उनीहरुले प्रबन्ध निर्देशकको कार्यकक्ष, प्रशासन लगायत कक्षमा तालाबन्दी गरिदिएका छन्।  

बाँकेको चिसापानीमा दुई दशकभन्दा बढी समयदेखि एम.बि.बि.एस. पढाईका साथै कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ। कलेजमा १ हजार २ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको छ। कलेजमा अध्ययन गर्न नेपालका साथै भारत, बंगलादेश लगायत देशबाट विद्यार्थी आउँछन्। कलेजले सञ्चालन गरेको शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा पश्चिम क्षेत्रका नागरिक उपचारका लागि आउने गर्छन्।

प्रकाशित: ५ श्रावण २०७८ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App