६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

वीपीमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्रालयको टोली आउने

चार जना पदाधिकारी आफूहरु मिलेको सन्देश दिँदै

वीपी प्रतिष्ठानका पदाधिकारीहरु र धरान नागरिक दबाब सञ्जालबीच सोमबार छलफल हुँदै । तस्बिरः नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न काठमाडौंबाट स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको एक टोली धरान आउने भएको छ।

आन्दोलनरत पक्षले दिएको एक साताको अल्टिमेटम सकिन लाग्दासमेत प्रतिष्ठानका पदाधिकारीसँग वार्ता हुन नसकेपछि मन्त्रालयबाट नै टोली आउने भएको हो। आज दिउँसो धरान नागरिक दबाब सञ्जाल र वीपीका पदाधिकारीहरुबीच भएको छलफलको क्रममा स्वास्थ्य मन्त्रालयबाट एक टोली आउने जानकारी उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई आएको थियो। उपकुलपति गिरीले दबाब सञ्जाललाई पनि सोही जानकारी गराएका थिए।  

दबाब सञ्जालका संयोजक राजेन्द्र शर्माले आजै वा भोलीसम्म उच्चस्तरीय टोली धरान आइपुग्ने जानकारी उपकुलपतिमार्फत पाएको बताए। ‘पदाधिकारीहरुसँग हामी छलफलमा बसिरहँदा नै उपकुलपतिलाई सचिवको फोन आयो, टोली आउने पक्कापक्की भयो,’शर्माले भने,‘माथिबाट आएको टोलीकै रोहबरमा वार्ता हुने एक वा दुई दिनभित्रै सुरु हुने र गतिरोध अन्त्य हुने सकरात्मक संकेत पाएका छौं।’

टोलीमा को को छन् भन्ने खुलेको छैन। तर स्वास्थ्य मन्त्रालय, अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयको प्रतिनिधि भएको टोली आउने अनौपचारिक जानकारी दबाब सञ्जालले पाएको छ। ‘हाम्रो स्रोतबाट पाएको जानकारी अनुसार कुलपति प्रधानमन्त्री कार्यालय, सहकुलपति स्वास्थ्यमन्त्री कार्यालय र अर्थमन्त्रालयको एक एक जना प्रतिनिधि आउनेछन्, यो साचो हो भने ज्यादै सकरात्मक पाटो हो,’संयोजक शर्माले भने।  

असार १५ गते वार्ताको क्रममा उपकुलपतिको असामान्य बोली र व्यवहारले वार्ता भाँडिएपछि संघर्ष समितिले चारै जना पदाधिकारीको राजीनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेको छ। संघर्ष समितिले उपकुलपतिले मदिरा पिएर वार्तामा आएको आरोप लगाएको थियो।  

उक्त घटनापछि संघर्ष समितिले पदाधिकारीहरुसँग वार्ता नगर्ने र ७ दिनभित्र उच्चस्तरीय टोलीले वार्ता नगरेमा सामूहिक राजीनामा दिने चेतावनी दिएको थियो। त्यसयता आन्दोलनरत पक्ष र पदाधिकारीहरुबीच संवाद हुन सकेको छैन। पदाधिकारीहरुले विभागी प्रमुख, विभिन्न शाखा र महाशाखा प्रमुख, सिनियर फ्याकल्टीहरुसँग छलफल गर्दै वार्ताको पहल गर्न आग्रह गरेका थिए। तर, आन्दोलनरत पक्षले पदाधिकारीहरुसँग कुनै पनि हालतमा वार्ता नगर्ने अडान राखेका छन्।

व्यवस्थापन पक्षले वार्ता गर्न गठन गरेको समितिका संयोजकसमेत रहेका प्रतिष्ठानका रेक्टर प्रा.डा. गुरुप्रसाद खनालले पनि समस्या समाधान गर्न मन्त्रालयबाट टोली आउने भएको बताए। आफूहरु जुनसुकै बेला पनि वार्ता गर्न तयार रहेको भन्दै उनले आन्दोलनरत पक्षले चारै जनाको राजीनामा मागेर वार्ता नगर्ने अडान राखेकोले संवाद हुन नसकेको बताए। ‘माथिबाट आज/भोलि भित्रै टोली आउने कुरा भएको छ,’रेक्टर खनालले भने,‘वार्ता गर्न हामी तयार छौं। उहाँहरु मान्छे हो भने जतिबेला पनि वार्तामा बस्छौं, तर ४ जना पदाधिकारी राजीनामा मागेर वार्ता गर्दैनौं भनेकोले कुरा अघि बढेको छैन।’

प्रतिष्ठानमा अनियमितता बढेको भन्दै एक फ्याकल्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई एसएमएसमार्फत ध्यानाकर्षण गराएको जानकारी फेसबुकमा राखेपछि उनलाई उपकुलपतिले स्पष्टीकरण सोधेका थिए। बेथितीविरुद्ध बोल्नेको आवाज थुन्ने प्रयास गरेको भन्दै सुरु भएको आन्दोलन असार १५ को घटनापछि थप चर्किन पुगेको थियो। संयुक्त संघर्ष समितिले प्रतिष्ठानलाई शुद्धिकरण गर्न ४ जना पदाधिकारीलाई हटाउनुपर्ने, राजनीतिक नियुक्ति बन्द गरेर विज्ञ समूहले सिफरिश गरेको व्यक्तिलाई पदाधिकारीमा नियुक्त गर्नुपर्नेलगायतको माग अघि सारेको छ।  

 चार जना पदाधिकारी मिलेको सन्देश

तीन सातादेखि आन्दोलनरत पक्षसँग वार्ता हुन नसके पनि पदाधिकारीहरुले प्रतिष्ठानभित्रैका सरोकारवालाहरुसँग निरन्तर संवाद गरिरहेको छ। ती सबै संवाद एवं छलफलमा विगतमा चार तिर फर्किएका पदाधिकारीहरुले अब आफूहरु एकजुट भएको भन्दै मिलेरै संस्थालाई अघि बढाउने प्रतिवद्धता जनाइरहेका छन्।

पदाधिकारीहरुले प्रतिष्ठानका विभागीय प्रमुखहरु, विभिन्न महाशाखा र शाखा प्रमुखहरु, सिनियर फ्याकल्टीहरुसँग अलग अलग छलफल गरिसकेका छन्। पदाधिकारीहरुले उनीहरुलाई वार्ताको वातावरण बनाउन पनि पहल गर्न आग्रह गरेका छन्। आइतबार ५ जना सिनेट सदस्यहरुसँग पदाधिकारीहरुको छलफल भएको थियो भने सोमबार दिउँसो धरान नागरिक दबाब सञ्जालसँग पनि चारै जना पदाधिकारीहरुको छलफल भएको थियो। ‘पदाधिकारीहरुले हामीमा बेमेल थियो भन्ने कुरा स्वीकार गरे। बेमेलको परिणाम स्वरुप पनि अहिलेको परिस्थिति बनेको हो, र अहिले हामी एक ढिक्का छौं, भनेर भने,’दबाब सञ्जालका सदस्य सचिव कमल तिगेलाले भने।

प्रतिष्ठानका विभिन्न शाखा, महाशाखा प्रमुखहरुसँगको छलफलमा पनि पदाधिकारीहरुले आफूहरुबाट विगतमा कमीकमजोरी भएको स्वीकार गदै सच्चिएर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए। कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले पदाधिकारीहरुले एकढिक्का भएर संस्थाको हितमा लाग्ने बताएको जानकारी दिए। ‘हामीबाट गल्ती कमीकमजोरी भएको हुनसक्छ, अब एकजुट भएर अघि बढ्छौं, तपाईहरुलाई काम गर्ने वातावरण बनाउछौं भन्नुभएको छ,’ थापाले भने,‘हामीले पनि बोलेको कुरा व्यवहारमा उतार्नुपर्छ, र आन्दोलनरत पक्षसँग वार्ताको वातावरण बनाएर छिटो समस्या समाधान गुर्नस् भन्यौं।’

प्रकाशित: २१ असार २०७८ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App