१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

चौधरी ग्रुपद्वारा स्वास्थ्य सामग्री प्रदान

कोरोना संक्रमितहरुको उपचारमा सहजताका लागि चौधरी ग्रुपले भोजपुर र इलाम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। नेपालको ठूलो व्यापारिक घराना चौधरी ग्रुपले विराटनगरमा आफ्नो प्रादेशिक कार्यालय स्थापन गरेको छ। कार्यालय स्थापनको अवसरमा चौधरी ग्रुपको चौधरी फाउण्डेसनले कोरोना महामारीका समयमा स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ।  

कोरोना संक्रमितको उपचारमा सहज बनाउने उद्देश्यले भोजपुर र इलामको जिल्ला अस्पताललाई २–२ अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको हो । प्रादेशिक कार्यालयको उद्घाटन गर्दै प्रदेश १ प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरे। 

चौधरी फाउण्डेसनले कोरोना भाइरसको महामारी नियन्त्रण र न्यूनीकरणका लागि मुलुकमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको थापाले बताए । प्रदेशसभा सदस्य थापाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिन र बढाएर लैजान पनि फाउण्डेसनसँग आग्रह गरे । कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुख रामजी कटुवाल, नबिल बैंकका प्रादेशिक प्रमुख सुवोध लोहनीलगायतको उपस्थिति रहेको थियो।

आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउने काम मात्रै गरिरहेको चौधरी ग्रुपले विराटनगरमा प्रादेशिक कार्यालय स्थापना गरेर सेवाको विस्तारसँगै सामाजिक काममा अग्रसरता देखाउँदै सबै पक्षसँग सहकार्य गर्ने उदेश्य राखी कार्यालय सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख कटुवालले जानकारी दिए। उद्योगबाट उत्पादित वस्तुको बजार प्रवर्धन यसै कार्यालयबाट गरिने र अक्सिजनको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा भइरहेको जटिलतालाई केही हदसम्म सहज हुने आशाका साथ कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेको कटुवालले जानकारी दिए।

कटुवालका अनुसार कोरोना महामारी सुरु भएयता मात्रै मुलुकभर १० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री फाउण्डेसनले सहयोग गरिसकेको र सहयोगलाई निरन्तरता दिइनेछ। विगतदेखि नै विपद्, शिक्षा र स्वास्थ्य क्षेत्रमा मुलुकलाई चौधरी ग्रुपले फाउण्डेसनमार्फत सहयोग गरिरहेको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७८ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App