२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोभिडविरुद्ध जिल्लाबासीकाे हातेमालो

दोस्रो लहरका रूपमा फैलिरहेको कोभिड–१९ को उपचार, रोकथाम र नियन्त्रणका लागि जिल्लाबासी आफैं हातेमालो गर्दैछन्। कसैले निजी खर्चमा बिरामीलाई सहयोग गरिरहेका छन् भने सरकारी अस्पताललाई उपकरण र स्वास्थ्य सामग्री जुटाउनेको लहर चलेको छ।

इलाम र बाहिर रहेका इलामे व्यक्ति तथा स्थानीय संघ–संस्थाले विशेषगरी इलाम अस्पताललाई उपकरण र स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन्। इलाम उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटीलगायत संघ–संस्था र व्यक्तिले संकलन गरेको स्वास्थ्य सामग्री अस्पताललाई प्रदान गरिएको छ। स्थानीय निरोज खड्गी, रतन चौधरीलगायतको अग्रसरतामा संकलन भएको करिब ६ लाख रुपैयाँबराबरको सामग्री अस्पताललाई दिइयो।  

संघ अध्यक्ष ईश्वर चिपालुले कोभिड नियन्त्रण र यसको उपचारका लागि आवश्यक सामग्री अस्पताललाई प्रदान गरिएको बताए । ‘जिल्लाको अस्पतालमा स्वास्थ्य उपकरण र सामग्री भएमात्रै हामीले उपचार पाउने हो,’ उनले भने, ‘त्यसैले अस्पताललाई सहयोग गर्न सबै जुट्नुपर्छ।’ संघले यसअघि अस्पताललाई ५ शय्या प्रदान गरेको छ ।

खड्गीले सरकार वा अरूको मुख ताक्नुभन्दा महामारी नियन्त्रणमा नागरिकले पनि हातेमालो गर्नुपर्ने बताए । ‘इलाम अस्पतालमा वर्षाैंदेखि उपकरण र जनशक्ति अभाव छ, अभाव टार्न अब हामी आफूले पनि सकेको सहयोग गरौं,’ उनले भने, ‘सरकार, जनप्रतिनिधिले महामारीबाट नागरिकको जीवन बचाउन पूरा गर्नुपर्ने दायित्वका लागि पनि दबाब दिनुपर्छ।’ खड्गीले ‘इलामेको पीडामा मलमपट्टी’ अभियान सञ्चालनमा रहेको र सहयोग जुट्नेक्रम जारी रहेको जनाए। ‘अब इलाम अस्पतालमा जनशक्ति जुटाउन दबाब दिनु जरुरी छ,’ उनले भने, ‘हामी सबै लागिपरिएन भने महामारीबाट बच्न गार्हाे हुने निश्चित छ।’ खड्गीको अगुवाईमा इलाम र इलामबाहिर रहेका समाजसेवीबाट अस्पतालका लागि रकम र स्वास्थ्य सामग्री संकलन भएको छ ।  

करुणा फाउन्डेसनले इलाम अस्पताललाई ५ सय किट एन्टिजेन र ३ थान अक्सिजन कन्सन्ट्रेटर  प्रदान गरेको छ। स्थानीय तहहरूलाई पनि ५ सय किट एन्टिजिन प्रदान गरिएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले जिल्लालाई करिब १० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री वितरण गरेको फाउन्डेसनका प्रकाश घिमिरेले जानकारी दिए।  

इलामकै लोकनाथ सुवेदी, अर्जुन भट्टराई र सञ्जीव राईले तीनचुली संस्थामार्फत् इलाम अस्पताललाई ५ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन्। अस्पताललाई इलाम र पाँचथरस्थित जिल्ला प्रशासन कार्यालयको पहलमा १५ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ। अपी जलविद्युत् आयोजनाले अक्सिजन सिलिन्डर दिएको हो । जिल्लाका सुपरमाई, सगरमाथा र तल्लो जोगमाई जलविद्युत् आयोजनाले पनि ११ थान अक्सिजन सिलिन्डर अस्पताललाई दिएको स्थानीय मेघनाथ ढुंगानाले बताए । खनाल कन्स्ट्रक्सनले अस्पताललाई १ सेट सक्सन मेसिन, १० निबुलाइजर मेसिन र २ सिलिन्डर अक्सिजन प्रदान गरेको छ। अनुसन्धान तथा विकास संस्थाले पनि अस्पताललाई १५ सिलिन्डर अक्सिजन प्रदान गरेको भेषराज आचार्यले जानकारी दिए।  

इलाम नगरपालिका–७ को एकै परिवारका दिदी–बहिनी सुजु, अनु, मुनु र सुनुले अस्पताललाई १ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्। सदरमुकामस्थित सुनगाभा विकास संस्थाले अस्पतालको कोभिड र आकस्मिक कक्षमा काम गर्ने कर्मचारीलाई प्रोत्साहनस्वरूप १० दिनको खाजा व्यवस्थापन गरेको छ । जिल्लाका युवक डम्बर खड्काले निषेधाज्ञा सुरु हुनुअघि काठमाडौंबाट घर फर्किने इलामेका लागि निःशुल्क रूपमा गाडी व्यवस्था गरिदिएका थिए । उनले अहिले गाउँबाट कोभिड संक्रमितलगायतका बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क रूपमा गाडी उपलब्ध गराइरहेका छन्। अस्पताललाई जनस्तरबाट भइरहेको सहयोगले काममा थप प्रोत्साहन मिलेको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन्।  

सदरमुकामकै समाजसेवी सुमन श्रेष्ठ र निर्देश राईले कोभिड र त्यसको लक्षण देखिएका बिरामीलाई अस्पतालसम्म पुर्‍याउने–ल्याउनेमा सवारी साधन व्यवस्थापन गरेका छन् । उनीहरूले जिल्लाका गाउँ–गाउँबाट बिरामीलाई अस्पताल पुर्‍याउन र ल्याउन निःशुल्क रूपमा २ सवारी साधन व्यवस्था गरेका हुन् । कोभिड नियन्त्रण, रोकथाम र उपचारकै लागि १ नम्बर प्रदेश सरकारले अस्पताललाई केही समयअघि १० लाख रुपैयाँ प्रदान गरेको थियो । त्यसबाहेक संघीय सरकारको सहयोगमा प्रदेश सरकारले अस्पताललाई १० सिलिन्डर अक्सिजनसहितका स्वास्थ्य सामग्री पनि केही दिनअघि हस्तान्तरण गरेको छ ।    

५० शय्याको इलाम अस्पतालमा लामो समययता उपकरण र जनशक्ति अभाव छ। महामारीको रूपमा कोरोना फैलिएपछि अस्पतालमा भेन्टिलेटर जडान गरिएको छ। २ शय्याको इन्टेन्सिभ केयर युनिट (आइसियु) पनि छ। तर, जनशक्ति अभावकै कारण भेन्टिलेटर चल्न सकेको छैन। आइसियुमा हाई डेपेन्डेन्सी युनिट (एचडियु) को सेवा दिइँदैछ। अर्थ मन्त्रालयबाट सोमबारमात्रै अस्तापलाका लागि अक्सिजन प्लान्ट जडान गर्न ७५ लाख रुपैयाँ छुट्टिएको छ। भेन्टिलेटर सञ्चालनका लागि जनशक्ति ल्याउन पटक–पटक प्रयास गरेपनि सफल हुन नसकेको अस्पतालले जनाएको छ।  

१४ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा स्थायी डाक्टर एकजना (स्त्री रोग विशेषज्ञ) मात्रै छन्। २ मेडिकल अधिकृत, ३ कन्सल्ट्यान्ट र ३ डेन्टल सर्जन अस्पतालमा कार्यरत छन्। ५९ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा २७ दरबन्दी पदपूर्ति भएको अस्पतालले जनाएको छ। जनशक्ति अभाव नै अहिले मुख्य समस्या भएको व्यवस्थापक क्षितिज खतिवडा बताउँछन्। ‘भएको जनशक्तिले धान्न धौधो परिरहेपनि बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्न बाध्य छौं,’ उनले भने, ‘विशेषज्ञकै पदपूर्ति नभएका बेला जति उपकरण थपिँदैजान्छन्, त्यसले स्वतः जनशक्ति माग गरिहाल्छ।’

प्रकाशित: ११ जेष्ठ २०७८ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App