१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला संचालनको तयारी

स्थानीय सरकारहरू यहाँका नागरिकका लागि अभर पर्दा कामकाजी देखिने प्रयासमा लागेका छन्। गत वर्ष जिल्लामै कोभिड अस्पताल खोल्न सफल भएका यहाँका ८ स्थानीय तह यस वर्ष पिसिआर प्रयोगशाला र अक्सिजन प्लान्ट स्थापना गर्ने योजनामा छन्। जिल्लाका ८ स्थानीय तह मिलेर गत वर्ष नै गठित ‘उदयपुर विकास बोर्ड’ले चालु वर्षको कोभिड भेरियन्ट कहरबाट बच्न भर्खरै जिल्लामै अक्सिजन प्लान्ट र पिसिआर परिक्षण गर्ने प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ। बोर्डको भर्चुअल बैठकले चौदण्डीगढीमा पिसिआर प्रयोगशाला र बेलका नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले बताए।  

उनका अनुसार बैठकले महामारीलाई ध्यानमा राख्दै जनताको सुरक्षाका लागि बेलकामा अक्सिजन प्लान्ट राख्न प्रत्येक नगरपालिकाले १० लाख र गाउँपालिकाबाट ५ लाख रूपैयाँका दरले बजेट विनियोज गर्ने निर्णय गरेको छ। त्यसैगरी चौदण्डीगढीको कोभिड अस्पतालमा पिसिआर परिक्षण प्रयोगशाला राख्नका लागि दातृ निकाय सेभ द चिल्ड्रेन र सम्पूर्ण स्थानीय तहसँग सहयोग लिने निर्णय भएको अध्यक्ष चौधरीले बताए।

बैठकले बजेट विनियोजनको पूर्वसन्ध्यामा पुगेका बेला आगामी आर्थिक वर्षको पूर्वाधारतर्फ जिल्लाभरीका १८ वर्षभन्दा माथिका सबैलाई कोरोना खोप दिने व्यवस्था मिलाउने गरी बजेट विनियोजन गर्ने निर्णय समेत बोर्डले गरेको छ। आगामी वर्ष पनि कोभिड संक्रमण उस्तै हुने जोखिमप्रति सचेत हुँदै समयमै खोप खरिद गर्न रकम विनियोजन गरेर स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाउने निर्णय गरेको अध्यक्ष चौधरीले बताए। त्यसो गर्न सके उदयपुरलाई कोरोनामुक्त जिल्ला घोषणा गर्न सकिने ठहर बोर्डको छ।

जिल्लाका ८ स्थानीय तह मिलेर गत वर्ष नै गठित ‘उदयपुर विकास बोर्ड’ले चालु वर्षको कोभिड दोस्रो भेरियन्ट कहरबाट बच्न जिल्लामै अक्सिजन प्लान्ट र पिसिआर परिक्षण गर्ने प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ। त्यसका लागि प्रत्येक नगरपालिकाले १० लाख र गाउँपालिकाबाट ५ लाख रूपैयाँका दरले बजेट विनियोज गर्ने निर्णय भएको छ।

‘वर्षेनी आउने कोभिड कहरले जिल्लावासीलाई मुक्त राख्न सबै स्थानीय तह मिलेर एकीकृत योजना बनाउने निर्णय गरिएको छ,’ मेयर चौधरीले भने, ‘कमसेकम उदयपुरलाई आगामी वर्षदेखि कोभिडमुक्त जिल्ला घोषणा गर्ने हाम्रो लक्ष्य हो।’ बैठकले कोरोनाबाट सप्तकोसी नगरपालिका सप्तरीकी उपमेयर आशादेवी चौरीको मृत्युलाई दुःखद घटना भन्दै श्रद्धाञ्जली शोक प्रस्ताव पारित गरेको छ।

४ नगर र ४ गाउँपालिका रहेको उदयपुरका ८ वटै स्थानीय तहले गतवर्ष त्रियुगा नगरप्रमुख चौधरीको अध्यक्षतामा बेलका नगरप्रमुख सचिव र अन्य स्थानीय प्रमुख सदस्य रहेको ‘उदयपुर विकास बोर्ड’ गठन गरेका थिए। कोभिडविरुद्ध एकताबद्ध भएर लड्ने उद्देश्यले गठित बोर्डले कोभिड कालमा जिल्लामै उपचार केन्द्र र आइसोलेसन सेन्टर खोलेर उपचार सेवा प्रवाह गरेको थियो। प्रदेश र संघीय सरकारसँग पटकपटक बजेट सहयोग मागे पनि नपाएपछि आफ्नै पहलमा अस्पताल खोल्ने हिम्मत कसेको बोर्डले सुरुमा चौदण्डीगढी नगरपालिका–६ सातधारे बेलटारमा कोभिड आइसोलेसन सेन्टर सञ्चालन गरे। जहाँ उदयपुरसहित विभिन्न जिल्लाका २ सय ४५ संक्रमितको सफल उपचार भयो।

आइसोलेसन सुरु गरेको ६ महिनाभित्रै त्यहाँ झन्डै ३ करोड लागतको उदयपुर कोभिड अस्पताल भवन बनिसकेको छ। हाल दुई दर्जन बढी संक्रमितको सोही अस्पतालमा अक्सिजन सुविधासहित उपचार चलिरहेको छ भने दर्जन बढी निको भएर घर फर्किसकेका छन्। भवन बनाउन प्रदेश र संघले सहयोग नगरेपछि गाउँपालिका प्रत्येकले १० लाख र नगरपालिकाले २० लाख रूपैयाँ, स्विस सरकारले १ करोड ५० लाख र बाँकी चौदण्डीगढी नगरपालिकाबाट व्यवस्था गरेर सो भवन निर्माण भएको हो। यस वर्ष बिरामीको चाप बढ्दै गएकाले सुरुमा २२ बेडको अस्पताललाई छिट्टै ६० बेडमा स्तरोन्नति कार्य सुरु भएको चौदण्डीगढी नगप्रमुख खगेन्द्र राईले बताएका छन्।

प्रकाशित: ६ जेष्ठ २०७८ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App