१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

वागमती प्रदेश प्रहरीद्वारा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन

वागमती प्रदेश प्रहरी कार्यालयले संकलन गरेको अक्सिजन सिलिण्डर ।

वागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डर संकलन कार्य गरेको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेपछि वागमती प्रदेश प्रहरीले ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरेको छ। त्यस्तै अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरी संकलित अक्सिजन सिलिण्डर आवश्यकताको आधारमा विभिन्न अस्पताल, आइसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्य गरिएको छ।  

पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युबरण गर्नु परेको घटनाहरु बढ्दै गइरहेकाले यो अभियान संचालन गरिएको वागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए। ‘कोभिडका बिरामीहरु दिनप्रतिदिन थपिँदा अक्सिजनको अभाव देखिएको छ,’ प्रहरी उपरीक्षक सिलवालले भने, ‘अस्पतालहरुमा अक्सिजन सिलिण्डरको खपत समेत बढ्दै गईरहेकोले अस्पताल बाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिण्डरहरुको संकलन गर्ने कार्य गरेका हौँ।’

उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तिहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गरेर बिरामीको उपचारमा सहयोग गरिँदै आएको छ। प्रदेश प्रहरी कार्यालय हेटौंडा र मातहतका कार्यालयद्वारा हालसम्म एक सय २९ थान भरिएका र पाँच सय ४१ थान खाली गरी जम्मा छ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ।  

संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न व्यवस्थापन गरिएकोमा सहयोग गर्न सकिने केही सिलिण्डरहरु अत्यावश्यक महसुस गरिएका अन्यन्त्र स्थानहरुमा समेत उपलब्ध गराउने कार्य गरिएको छ। जसमध्ये कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाडौंलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराइएको छ।

स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गरिएको छ। प्रहरीले अक्सिजनका सिलिण्डरहरु संकलन गर्ने कार्यलाई अझै तीव्रताका साथ अघि बढाएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७८ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App