संघर्ष के हो? सपना के हो? जीवन के हो? अनि हामी सबैको दायित्व के हो? यिनै दुईचारवटा प्रश्नले सधैं घचघच्याइरहन्छ। यिनै प्रश्नहरूको उत्तरको पर्खाइमा कहिले मन खुसी हुन्छ, कहिले दुःखी हुन्छ। आज पनि मायाको कुरा सुनेपछि साह्रै मन भारी भयो, उकुसमुकुसियो मन अनि म घर दुई बजे नै फर्किएँ। एकछिन बहिनीलाई ‘मिठो नेपाली चिया अनि बिस्कुट ल्याऊ’ भनेर मेरो मनलाई यताउता बाँड्न खोज्थेँ तर मन फेरि मायाको कुरामै अड्किन्थ्यो। यो पहिलो पटक भएको हो आज। हुन पनि मायाको कुरा सुनिसकेपछि यस्ता धेरै घटना घटिरहेका छन् -इतिहासदेखि नमिठा सुनिता काण्ड, निर्मला, अनिशा काण्ड आदि। कतै स्कुल गएका छोरी घर नफर्की बलात्कार हुनु, यस्ता क्रूरता, अन्याय, अत्याचार सहन नसकी आत्महत्या गर्नु, कोभिडको बेला एक महिनादेखि वर्षदिनसम्मका अनैतिक सम्बन्धबाट जन्मिएका बच्चा माइती नेपालमा धेरै हुनु, एउटा उदाहरणको रूपमा लिएको। मैले सोध्दा– काका, मामा, दाइ, मालिक आदि - यस्ता काम कसरी रोक्ने? कसरी छोरीलाई आर्थिक वा शैक्षिक रूपमा बलियो बनाउने? तर यी सबै कार्यमा पुरुषको गल्ती देखिन्छ तर ऊ त पहिलेदेखि नै आर्थिक रूपमा बलियो अनि शैक्षिक रूपमा पनि उस्तै र पनि यस्तो घटना घट्छ। के गर्दा समाजमा यस्तो घटना घट्दैन भन्ने कुरा अझै गम्भीर रूपमा सोच्नुपर्ने भएको छ। अहिले सुनिन्छ– बालेन सरकारले यस्तो बलात्कारसम्बन्धी मुद्दालाई कडाभन्दा कडा सजाय दिने प्रयासमा छन् क्यारे, सायद यसले पनि कम गर्छ कि?
छोरी बलात्कार भएको भन्ने कुरा यो समाजमा एकदमै गम्भीर रूपमा लिनुपर्छ । जति सम्झियो, उति मलाई मायाको कुरा मात्र सम्झना आउँछ। हुन पनि मायाको आजको कुरा सम्झिँदा मन कति छटपटिएको थियो। उसको कथा एउटा चेलीको मात्र कथा होइन, यो धेरै चेलीको कथा हो, जो केही गर्छु भन्ने बाटोमा यात्रारत छन्। धेरै चेली, जसले केही गर्छु भनी अगाडि बढ्न खोज्दा कति जीवनरूपी बाटोमै आत्महत्या गर्न बाध्य हुन्छन्। कतिको जीवनको आधा बाटोमै सपना चकनाचुर हुन्छन्, कति लड्दै–उठ्दै अगाडि बढ्न सफल हुन्छन्। फेरि मायाकै कथा सम्झिन थाल्छु। ऊ बोल्दै थिई।
म गाउँमा बस्थेँ। मेरा ठुला बाबा, काका, मामा सबै सम्पन्न थिए तर हाम्रो घरको आर्थिक अवस्था कमजोर थियो। हामी तीन भाइबहिनी अनि म आमाको जिम्मामा थियौं । परिवारमा सबै सम्पन्न भए पनि हामीलाई सहयोग गर्ने कोही थिएन। भाइबहिनी सानै थिए, म कक्षा दशमा पढ्थेँ। स्कुल सकिएपछि आमालाई घरको काम सघाउँथेँ, भाइबहिनीलाई गृहकार्य गराउँथेँ, कहिलेकाहीं परीक्षाअगाडि ट्युसन पनि पढाउँथेँ। आफूले जति सक्थेँ, गर्थें घरका लागि। मेरो दैनिकी बिहानको सूर्यसँगै उठ्थ्यो आशा बोकेर, अनि साँझसँगै सपना सुत्थ्यो। दिन आज–भोलि भन्दै बितिरहेको थियो। म र आमा आफ्नो घरको दैनिकी चलाउनमै व्यस्त थियौं। कहिलेकाहीं लाग्थ्यो - पढाइ छोडेर आमाको जिम्मेवारी सबै उठाऊँ, भाइबहिनीलाई पढाएर ठुलो मान्छे बनाऊँ, त्यही गाउँमा सबैका अगाडि ठुलो नाम र इज्जत कमाऊँ। अनि आमालाई पटक–पटक प्रश्न गर्थें -‘आमा, हजुर र बाबाको नाम, इज्जत बढाउनका लागि पढाइ छोडेर के गर्दा हुन्छ?’
मेरो त्यो निश्चल प्रश्न सुनेपछि आमा हाँस्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो - ‘छोरी, पहिला पढाइ पूरा गर्नुपर्छ। अनि यहाँ मात्र पढेर हुँदैन, सहर पनि जानुपर्छ। सहरमा पढाइ पूरा गरेपछि ठुलो मान्छे भइन्छ।’
आमाले के त्यति भन्नुभएको थियो, मेरो एउटा सपना बन्यो। रातदिन केही नबोली घरलाई सघाउँदै, भाइबहिनीलाई पढाउँदै, आफू पनि कक्षामा अब्बल आउँछु भन्दै परिश्रम गर्न थालेँ। दिन बित्दै गए। बाह्र कक्षा राम्रो गरेर सहर जान्छु अनि काम गर्दै पढ्छु। भाइबहिनीलाई ट्युसन पढाउँदै अलिक खर्च पनि सहर जानका लागि बचाउन थालेँ। बाह्र कक्षा पढ्दापढ्दै सँगै पढ्ने एउटा केटासँग मित्रता बढ्दै गयो। ऊ आफूले नबुझेका पाठहरू मलाई सोध्न आइरहन्थ्यो। अनि उसको मुखबाट सुनेँ - बाह्र कक्षापछि ऊ सहर गएर पढ्ने रे। मलाई के चाहियो? ऊसँग मेरो मित्रता गहिरिँदै गयो। पछि ऊ बिस्तारै घरमा पनि मसँग पढ्न आउँथ्यो। आमा, भाइबहिनी सबैलाई माया पनि गर्थ्याे। घरपरिवारले उसलाई पनि मन पराउन थाले। म पनि रामसँग नजिकिँदै गएँ। ऊसँग एक–दुई दिन भेट नहुँदा मन र आँखा दुवैले उसैलाई खोज्न थाल्थे।
आमाको दुःख देख्दा भक्कानिएर रुन मन लाग्थ्यो। कसरी आमालाई सघाऊँ? कसरी भाइबहिनीलाई पढाऊँ? कसरी मामा, काका, ठुला बाबाभन्दा आफ्नो परिवारलाई ठुलो बनाऊँ ? बाबाले देखेको सपना कसरी पूरा गरूँ? यो सबै गर्न म सहर गएर पढ्नु आवश्यक थियो। त्यसैले पनि रामलाई उसको पढाइमा धेरै सघाउँथेँ। ऊ राम्रो नम्बर ल्याएर पास भयो भने राम सहर जाँदा म पनि जान पाउँथेँ। हाम्रो मेहनत सफल भयो । म जिल्ला टप भएँ, ऊ खाली उत्तीर्ण मात्र भयो। मेरो नम्बर देखेर स्कुलका शिक्षकदेखि भाइबहिनी सबै खुसी थिए। शिक्षकहरू त ‘जिल्लाको नाम–इज्जत’ भन्दै मेरो प्रशंसा गर्न थाले। मेरो घरपरिवार, मामा, काका सबैका छोराछोरी अनुत्तीर्ण भए। हामी खुसी थियौं। म अब कसरी काठमाडौं जाने अनि काम गर्दै पढाइ अगाडि बढाउने सपना बुन्न थालेँ। आमालाई छोड्नुपर्छ भन्ने चिन्ताले पनि सताइरहेको थियो तर बाध्यता र जिम्मेवारीले पनि धेरै नै मन घेरेको थियो। सहर गएपछि आमासँग धेरै बस्न पाइँदैन भन्ने सोचले माया झन् बढ्थ्यो। म गएपछि आमाको संघर्ष झन् बढ्छ भन्ने पनि लाग्थ्यो। तर के गर्नु, भाइबहिनीको पढाइ, बाबाको सपना अनि परिवारको इज्जत मेरो खुसीभन्दा ठुलो थियो। त्यसैले म सहरको सपना देख्न थालेँ। म र राम एउटै कक्षा भए पनि उमेरमा राम मभन्दा चार वर्ष जेठो थियो। आमाले उसलाई अलि परिपक्व पनि मान्नुहुन्थ्यो, उसलाई अलि विश्वास पनि गर्नुहुन्थ्यो। ऊ गाउँ आउनुभन्दा पहिले काठमाडौंमै बसेको थियो फुपूको घरमा, जसले गर्दा काठमाडौंबारे थाहा पनि थियो।
आमाको आशीर्वाद लिएर हामी काठमाडौं गयौं। उसका साथीहरू हामीलाई लिन बसपार्क आए। हामी डेरामा पुग्यौं। रामले दुईवटा कोठा भएको डेरा लिएको रहेछ, त्यहीं गएर बसियो। एउटा कोठामा आफ्नो सबै सामान राखेँ, अनि लामो, झन्डै सोह्र घण्टाको यात्रापछि म चाहिँ त्यही एउटा कोठामा सुतेँ। राम साथीहरूसँग बाहिर गयो। नयाँ ठाउँ, नयाँ कोठा। जीवनमा पहिलो चोटि आमालाई छोडेर आएको, न्यास्रो लागिरहेको थियो। आमाको सम्झना आइरह्यो। आमालाई सम्झिँदा–सम्झिँदै कुन बेला निद्रा देवीको काखमा पुगेँ, पत्तै भएन। बिहान रामले ‘माया, माया!’ भनेर ढोका ढ्याङढ्याङ गर्दा झसङ्ङ भएर उठेँ। अनि घडी हेरेँ, बिहानको दश बजिसकेको थियो। राम बाहिरबाट कराइरहेको थियो, कलेजको समय ढिलो भयो भनेर। म पनि छिटोछिटो लुगा लगाएर बाहिर निस्केँ। हतार गर्दै हामी शंकरदेव कलेज पुग्यौं अनि भर्ना भयौं। त्यसपछि पशुपति दर्शन गर्यौं। अचम्म लागिरहेको थियो – भिडभाड, गाडी, धुवाँ, खानपान, बोलीवचन सबै गाउँभन्दा फरक। म कुनै बेला आतिन्थेँ, कुनै बेला आफूलाई सम्हाल्थेँ। जीवनमा पहिलोचोटि यो सबै देखेकी म सहरी वातावरणमा अभ्यस्त हुन समय लागेको थियो। बिस्तारै बिहान कलेज, दिउँसो ट्राभल एजेन्सीमा रिसेप्सन अनि बेलुका थकित भएर केही खाना खाई सुत्थेँ। दिन बित्दै गइरहेको थियो। मेरो समय व्यस्त थियो। राम प्रायः बेलुका बाहिर हुन्थ्यो, तीन–चार बजे बिहानीपख मात्र घर आउँथ्यो। अनि कहिलेकाहीं साथीभाइलाई धेरै खाना खान बोलाउँथ्यो। त्यतिखेर म सबै कुरा तयार गर्थें। सबै रमाउँथे, खान्थे अनि जान्थे। तर उनीहरूले गरेको कुरा मलाई चित्त बुझ्दैनथ्यो। तैपनि चुप लागेँ। रामका बारेमा म केही प्रश्नै गर्दिनथेँ, ऊ के गर्छ, कोसँग भेट्छ खासै वास्ता गर्दिनथेँ। प्रायः राति किन बाहिर जान्छ ? मलाई त खाली पढाइ सिध्याउने, आमाको आर्थिक भार कम गर्ने अनि भाइबहिनीलाई पनि योग्य बनाउने, यिनै जिम्मेवारीले गर्दा काम अनि पढाइमा व्यस्त थिएँ। धेरै चोटि राम मसँग नजिक हुन खोज्थ्यो। म कहिले परीक्षा भनेर ढोका लगाएर बस्थेँ, कहिले सन्चो नभएको बहाना गर्थें। जाऊँ कता जाऊँ, कहीं चिनेको छैन। आफूसँगै बसेको साथीको मनस्थिति थाहा पाई पाई आफूलाई बचाउन गाह्रो हुन्थ्यो।
अब म रामसँग बस्नु हुन्न भन्ने थाहा महसुस भइसकेको थियो। म डेरा खोज्ने तरखरमा थिएँ तर पाइएको थिएन। एकदिन रामले फोन गरेर ‘आज घरमै साथी आउँछन् खाना खान, केही बाहिरबाट ल्याऊँ, केही घरमै तयार गर’ भन्यो। अनि बेलुका साथीहरू घर आए तर आज भिन्दै साथी, मैले कहिल्यै नदेखेका। उनीहरूले खानासँगै बियर खाए। मलाई खानलाई सर्बत ल्याएका थिए।
मलाई रामले समातेर लगेको थियो। मलाई थाहा थियो, म पनि खुसीसित गएँ तर दुई बजे आँखा खुल्दा मेरो शरीरका हरेक अंग दुखिरहेका थिए। लुगा सबै च्यातिएका थिए, कोठा अस्तव्यस्त थियो। आफ्नो कोठाबाट निस्केँ। घरमा कोही थिएन। टेबुलमा पाँच हजार र एउटा चिठी– ‘गुड बाइ माया!’ भनेर लेखिएको थियो। रातभरिका सबै कुरा मस्तिष्कमा आयो। आफूलाई आफैंसँग घिन लाग्यो। आफूले विश्वास गरेको मान्छेले यति ठुलो धोका! राम त भइहाल्यो, उसले आफूसँग ल्याएका सबैले पालैपालो बलात्कार गरेका! उफ! म उठ्न सकिनँ। आँखाबाट आँसु बगिरहे। आफ्नो विश्वास अनि कमजोरीप्रति कति पीडा! कति ठुलो विश्वाससाथ म भविष्यप्रति उज्याला आँखा लिएर सहर आएकी थिएँ। त्रेता युगको रामजस्तै यो रामको विश्वास गरेकी थिएँ तर ऊ रावण बन्यो। रातभरि मलाई गाह्रो भयो–उठ्न सकिनँ, चलमल गर्न सकिनँ। म सहरमा एउटा अवसरको खोजी गर्न आएकी थिएँ तर सहरले मलाई क्रूर व्यवहार गर्यो। मैले विश्वास गरेको मान्छेले यति ठुलो धोका दियो। मलाई बाँच्न मन थिएन। रात काट्न गाह्रो भएको थियो। गाउँ कसरी जाने? आमालाई अँगालो कसरी हाल्ने? भाइबहिनीलाई माया कसरी गर्ने? हे ईश्वर! म अब के गरूँ?
बल्ल–बल्ल बिहानको चार बज्यो। ‘मन्दिर गएर भगवान्लाई सबै भन्छु अनि यो संसार छोड्छु’ भनी पशुपतितिर लागेँ। सन्तानेश्वर मन्दिरको भर्याङको खुड्किलोमा बसेर सबै कुरा मुखले बोल्दै गर्दा मेरो स्वर काँपिरहेको थियो। मेरो अवस्था एकजना दिदीले हेरिरहनुभएको थियो। म उभिएको ठाउँमा रगत बगिरहेको थियो। अनि म त्यत्तिकै ढलेँ। आँखा खुल्दा म अस्पतालको ओछ्यानमा थिएँ, सायद दश–बाह्र दिनपछि मेरो होस आएको थियो। मेरो छेउमा बसेकी दिदी खुसी भएर डाक्टरलाई बोलाउनुभयो। डाक्टरले केही औषधि दिनुभयो। दुई दिनपछि अस्पतालबाट बिदा गर्छु भन्नुभयो। दिदीको अनुहार हेरेँ, कृतज्ञताले भरिएको थियो।
भन्नुभयो, ‘सबै कुरा थाहा छ बहिनी, यो समाज साह्रै निर्मम छ। आफूलाई माया गर। तिमीले नगरेका गल्तीको सजाय तिमीले आफूलाई दिने होइन। बहिनी, आफूलाई माया गर।’
अस्पतालमा होस आएर दुई दिन बस्दा आफूलाई सम्हालेँ। फेरि मलाई नयाँ सृष्टि गर्नु थियो, बाँच्नु थियो, भविष्यको सपना देख्नु थियो, आमालाई धेरै माया दिनु थियो, फेरि आफ्नो काम र पढाइमा केन्द्रित हुनु थियो। नयाँ डेरा अनि नयाँ काम। रामसँग सम्बन्धित सबै कुरा छोडेँ। अब मेरो दैनिकीमा काम, कलेज अनि नयाँ साथीभाइ भए तर आफूलाई जति त्यो रातबाट टाढा लैजान खोज्थेँ, त्यो सम्झनाले पछ्याइरहन्थ्यो। साँझ परेपछि एक किसिमको डर हुन्थ्यो, राति मन अशान्त हुन्थ्यो। निदाउन खोज्थेँ तर निद्रा कोसौँ टाढा हुन्थ्यो। राति सानो आवाजमा पनि मन झस्किन्थ्यो। फोन बज्दा मुटु काँप्थ्यो, ढोका बज्दा सास रोकिन्थ्यो। म आफैंमा प्रश्न गर्थें– किन म यस्तो तर्सेको? मेरो गल्ती के? तर उत्तर कहिल्यै आएन। आँखा थाकेका थिए। अनुहारमा कुनै उज्यालो थिएन। जति आफूलाई माया गर्छु भन्थेँ, सकिनथेँ । कहालीलाग्दो रात अनि ती चार जना केटाहरू, मेरो विश्वासिलो साथी राम, जसको भरोसामा म आमाको घर छोडी भविष्यको ठुलो सपना बोकेर आएको थिएँ। त्यो रात बिर्सन अलि समय लाग्यो तर मलाई उठ्नु थियो, अघि बढ्नु थियो, गाउँका लागि, आमाबुबाका लागि अनि मजस्तै पीडित दिदीबहिनीको साहसका लागि। म टुटेँ तर म सकिएको छैन। म अझै अगाडि बढ्छु मेरो आवाजसँग, मेरो अस्तित्वसँग आफूलाई समेट्दै, सम्हाल्दै। एमबिए गरेँ, मल्टिनेसनल कम्पनीमा सिइओ छु। आज मैले ‘सिइओ अफ द इयर’ पुरस्कार पाएँ।
यसरी जीवनमा सफल भई उभिनका लागि धेरै संघर्ष गरेँ। आफूले नगरेको गल्ती स्विकारिनँ, दिदीबहिनीलाई बाँच्न सिकाएँ। हाम्रो जीवनमा धेरै पीडा आउँछन्। साहस बटुलेर उठ्न सक्नुपर्छ। यो एउटा मायाको जीवन–संघर्षको कथा हो। जसरी मायाले आफूले नगरेको गल्तीको विष नलिईकन आफ्नो सोच अनि दृष्टिलाई सम्मान गर्दै अघि बढी, यसरी नै छोरी तथा दिदीबहिनीले आफूलाई बुझ्दै, सम्मान गर्दै अन्याय–अत्याचारविरुद्ध आवाज उठाउँदै अगाडि बढ्नुपर्छ।
प्रकाशित: १२ वैशाख २०८३ ०५:५४ शनिबार





