१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

बाँकेमा काेराेनाः कोभिड अस्पताल भर्ना भएकामध्ये अधिकांशको मृत्यु २४ घन्टाभित्रै

शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बैजनाथ गाउँपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार मृत्यु भयो । बैशाख १३ गते सामान्य लक्षणसहित कोभिड अस्पताल कोहलपुर पुगेका उनको १४ गते पिसिआर जाँच गरेपछि कोभिड पुष्टि भएको थियो । कोभिड पुष्टि भएको २४ घन्टा नघट्दै चिकित्सकले बुधबार उनको मृत्यु घोषणा गरेका थिए । यसअघि नेपालगंज उपमहानगरपालिका १७ बस्ने ३९ वर्षीया महिलाले पनि पिसिआर रिपोर्ट आएको २४ घण्टा भित्रमा मृत्युवरण गर्न परेको थियो ।

यी दुई घटनामात्र हैन, दाङ उपमहानगरपालिका–७ बस्ने ३१ वर्षीय पुरुषको बैशाख १२ गते पिसिआर जाँचको नतिजा आएपछि भर्ना भएको २४ घन्टाभित्रमा मृत्यु भएको रेकर्डले पुष्टि गर्छ । यी घटनाले बाँकेमा डरलाग्दो गरी कोरोना संक्रमण फैलिरहेको देखिएको छ।

नियन्त्रण नै गर्न नसकिने गरी फैलिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि डाक्टर तथा चिकित्सकहरुले आफ्नो तवरबाट प्रयास गरे पनि उनीहरु विभिन्न मानवीय जनशक्ति र भौतिक संसाधनको समस्यामा परेका छन् ।

विभिन्न समस्याका बाबजुद पनि लागिरहेका उनीहरुले अत्यावश्यक नभई अस्पताल नआउन अनुरोध गरेका छन् ।

अस्पतालमा पुग्ने जो कोहीलाई सर्वप्रथम एटिजेन जाँच गर्ने गरिएको बर्दिया जिल्ला अस्पतालका डा. विजय उपाध्यायले बताए । उनका अनुसार अस्पतालमा लक्षणसहित आएका एन्टिजेन चेक जाँचमा ९० प्रतिशत बिरामी कोरोना पोजिटिभ भेटिएका छन् ।

पश्चिम नेपालमा दोस्रो चरणको कोरोना संक्रमण बढ्न थालेसँगै परीक्षण गराएकामध्ये ७० प्रतिशत बढीलाई कोरोना संक्रमण पुष्टि भएको उनको भनाइ छ ।

बाँके, बर्दिया र दाङमा जाँच भएकाको ९० प्रतिशत हाराहारीमा कोरोना पुष्टि भएको चिकित्सकको अनुमान छ।दाङमा एन्टिजेन विधिबाट गरेर कोरोना संक्रमितको पहिचान गर्ने गरिएको छ।

अस्पताल स्रोतका अनुसार पिसिआरको नतिजाको समयसम्म अधिकांश संक्रमितको अक्सिजन लेवल घटने गरेको समेत पाइएको छ। सर्वसाधारणमात्र नभएर बर्दिया अस्पतालका एक्सरे स्टाफ र र दुईजना चिकित्सकलाई समेत कोभिड पुष्टि भएको छ ।  

अस्पतालका डा. विजय उपाध्यायले ज्वरो आउने, टाउको दुख्ने सिकायतका बिरामीलाई ईमरजेन्सी वार्डमा भर्ना गर्नुअघि एन्टिजेन चेक जाँच गरिएको छ। जिल्लामा अधिकांश ठाउँमा कोभिड अस्पताल संचालन भएपनि अक्सिजनको अभावले बिरामी थला परेको डा. उपाध्याय बताउँछन् । उनका अनुसार कोभिडका गम्भिर संक्रमितले समयमै भर्ना नपाउँदा मृत्युदर बढेको छ । त्यतिमात्र नभएर कोभिड वार्डका चिकित्सक नै कोरोना संक्रमित भएपछि कोरोना संक्रमितको उपचारमा कठिनाई भएको छ।

स्वास्थ्यकर्मी नै धमाधम कोरोना संक्रमित हुन थालेपछि नियमित उपचारमा समेत अवरोध उत्पन्न भएको छ। एक जना स्वास्थ्यकर्मीले एक दर्जन बढीलाई हेरचाह गर्न परिरहेको उनको भनाइ छ ।

अधिकांश संक्रमित बिरामीलाई घरकै आईसोलेसन बस्न चिकित्सकले सुझाव दिइरहेका छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाले चिकित्सकसहित स्वास्थ्यकर्मी संक्रमित उपचार अवरोध उत्पन्न भइरहेको बताए । ‘कोभिडका बिरामी चाप बढ्दा उपचारमै अवरोध भइरहेको छ’, उनले भने, ‘तर, जसोतसो गरी सक्दो संक्रमितको हेरचाह गरिरहेका छन् ।’

प्रकाशित: १५ वैशाख २०७८ १४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App