coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अन्धोपन निवारणका अथक यात्री 'रविन्द्रलाल चौधरी'

नेपालमा अन्धोपनको डरलाग्दो तस्बिर सार्वजनिक भएपछि क्रिस्टोफेल ब्लाइन्डेन मिसन, जर्मनी (सिबिएम)ले चासो देखायो । नेपाललाई अन्धोपन निवारणमा सहयोग पुर्‍याउन मिसन सन् १९८२ डिसेम्बरमा नेपाल आयो । समाज कल्याण परिषद्सँग सम्झौता गरी नेपाल नेत्र ज्योति संघअन्तर्गत सगरमाथा अञ्चललाई कार्यक्षेत्र बनाई मिसनले अन्धोपन निवारणमा काम सुरु गर्‍यो ।

सिबिएमका प्रतिनिधि डा. एल्बे्रच्ट हेनिङले लहानस्थित रामप्रसाद शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालको एउटा कक्षमा १० शड्ढयाबाट आँखाको उपचार सुरु गरे । बिरामीको चाप बढेकाले उपचार कक्ष साँघुरो देखियो ।

बिरामीको उपचारका लागि अस्पताल आवश्यक भयो । तर, अस्पतालका लागि जमिन र संरचना जुटाउनु कम चुनौतीपूर्ण कार्य थिएन । जमिन बन्दोबस्त नभए अन्धोपन निवारण मिसन नै बन्द हुने अवस्था थियो । जमिन जोहो भए पनि अस्पताल सञ्चालनका लागि आर्थिक कोष नभए मिसन बन्द हुनेवाला थियो । सबैभन्दा बढ्ता अन्धोपनको समस्या भएको क्षेत्रबाट जमिन, संरचना र सञ्चालन कोषको अभावमा यो मिसन फिर्ता जानेवाला भयो ।

अन्धोपन निवारणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आँखा उपचार क्षेत्रको नोबेल पुरस्कार ‘अन्टोनियो चम्पालिमउड भिजन अवार्ड २०१३’ बाट यो अस्पताल सम्मानित भएको छ । अस्पतालाई यो उचाइमा पुर्‍याउने रविन्द्रलाल पनि नेपाल नेत्र ज्योति संघबाट सम्मानित भएका छन् ।

त्यो बेला लहानमा जग्गा हुने जमिनदार धेरै थिए, तर मन हुने मनकारी थोरै । जसकारण जग्गा दान गर्ने पाउन गाह्रो भयो । नेपालमा अन्धोपनको डरलाग्दो अवस्थाबारे स्थानीय समाजसेवी रविन्द्रलाल चौधरी धेरथोर जानकार थिए । जग्गा, संरचना र सञ्चालन कोष नभएर मिसन फिर्ता जाँदै छ भन्ने सुनेपछि रविन्द्रलाल चिन्तित थिए । सोही क्रममा सिबिएमका प्रतिनिधि डा. हेनिङले अन्तिम विकल्पका रूपमा रविन्द्रलाललाई अन्धोपनको अवस्था र अस्पतालको आवश्यकताबारे बेलिबिस्तार लगाए । समाजसेवी रविन्द्रलाल जग्गा दान गर्न सहमत भए ।

अस्पतालको संरचना, सञ्चालन कोषदेखि अस्पताललाई गति दिन रविन्द्रलालले आवश्यक सहयोग गरिरहे । उनको निस्वार्थ योगदानको कदर गर्दै नेपाल नेत्र ज्योति संघले केन्द्रीय सदस्य, प्रदेश २ को संयोजकको सम्मान दिएको छ । सगरमाथा चौधरी आँखा अस्पतालको अध्यक्ष समेत रहेका उनी निरन्तर निस्वार्थ सेवामा समर्पित छन् ।  

रविन्द्रलालले आफ्नो परिवारको तर्फबाट अस्पताललाई साढे २९ बिघा जमिन दान दिएका छन् । जसमध्ये साढे सात बिघामा अस्पतालको संरचना उभ्याइएपछि सन् १९८३ देखि अन्धोपन निवारण अभियान थालियो । चौधरी परिवारले दान दिएको लहानदेखि सात किलोमिटर पूर्व–उत्तर सप्तरीको हर्दियास्थित २२ बिघा जमिनको उब्जनीलाई अस्पताल सञ्चालनमा खर्च गरिन्छ । सो जग्गामा अहिले  बगैँचा र खेती लगाइन्छ ।  

करिब २७ वर्षअघि नेपालमा पहिलोपटक गरिएको अन्धोपनसम्बन्धी राष्ट्रिय सर्वेक्षण प्रतिवेदन अनुसार एक लाख १७ हजार ६ सय २३ जना दुवै आँखा नदेख्ने अवस्थाका दृष्टिविहीन थिए, जसमध्ये ९४ हजार तीन सय १० जनालाई विभिन्न उपचार गरेर दुवै आँखा देख्न सक्ने तुल्याउन सकिन्थ्यो ।

दुई लाख ३३ हजार ६ सय १२ जनालाई एउटा आँखामा रोग लागेको थियो । एउटा र दुईवटै आँखा नदेख्ने भएर जीवन बिताइरहेकाको संख्या ३० लाख ५१ हजार दुई सय ३५ थियो, जसमध्ये ७२ प्रतिशत अर्थात् झन्डै ८० हजार व्यक्ति मोतीविन्दुले दृष्टिविहीन भएका थिए । सर्वेक्षणमा प्रत्येक वर्ष १६ हजार थप मोतीविन्दुका बिरामी थपिँदै जाने उल्लेख गरिएको थियो, जसमा तराई क्षेत्रमा मोतीविन्दु बिरामीको संख्या तुलनात्मक रूपमा बढी थपिने सर्वेक्षण थियो ।

मोतीविन्दुबाट आँखाको ज्योति गुमाएकाले समयमै उपचार (शल्यक्रिया) पाए ज्योति फर्कन सक्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख थियो ।

लहानमा विशेषज्ञ चिकित्सकलाई टिकाइराख्नु पनि कम्ता चुनौती थिएन । तर, रविन्द्रलाल अब्बल दानवीर मात्र नभई कुशल व्यवस्थापक पनि बन्न सफल भए । यो अस्पताललाई शून्यबाट यो उचाइसम्म ल्याउन सफल हुनुमा रविन्द्रलालको स्वयं सेवकीय भाव प्रमुख भएको लहानका बुद्धिजीवी विश्वनाथ महतो बताउँछन् । रविन्द्रलालले समाजलाई दिने मात्र काम गरेका छन्, पाउने स्वार्थ कहिल्यै राखेनन् । त्यसैले होला यो अस्पताल विश्वमै अब्बल बनेर रविन्द्रलालको मात्र नभई देशकै गौरव सगरमाथा जस्तो चम्किरहेको छ ।

अन्धोपन निवारणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आँखा उपचार क्षेत्रको नोबेल पुरस्कार ‘अन्टोनियो चम्पालिमउड भिजन अवार्ड २०१३’ बाट यो अस्पताल सम्मानित भएको छ । अस्पतालाई यो उचाइमा पु¥याउने रविन्द्रलाल पनि नेपाल नेत्र ज्योति संघबाट सम्मानित भएका छन् ।

शल्यक्रियाका आधारमा विश्वमै अब्बल लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताललाई उपचार केन्द्रसँगै विशेषज्ञ उत्पादन केन्द्रका रूपमा स्थापित गर्नु चानचुने कुरा होइन ।  

यस आँखा अस्पतालले ‘नेसनल एकेडेमी अफ मेडिकल साइन्स’सँग स्वीकृति लिएर नेत्र विशेषज्ञको अध्यापन गराउन थालेको छ । आँखा बिरामीको चाप र आधुनिक शल्य प्रविधिका कारण विश्वभरका नेत्र विशेषज्ञको सीप निखार्ने हब बनेको यो अस्पताल विशेषज्ञ उत्पादन गर्ने थलोको रूपमा समेत स्थापित छ । बिरामीको चापका कारण विश्वभरका नेत्र विशेषज्ञले यो अस्पताललाई हबको रूपमा लिएका छन् । आँखाको पर्दासम्बन्धी शल्यक्रिया, बालबालिकाको मोतीविन्दु शल्यक्रिया, कृत्रिम आँखा निर्माण तथा वितरण, एम्नोटिक मेमब्रेन प्रत्यारोपण, रेटिना, ग्लाउकोमा, पेडियाट्रिक, न्यून दृष्टि, कोर्निया, कन्ट्याक्ट लेन्स सेवा, जलबिन्दु, मोतीविन्दु शल्यक्रिया लगायत सेवा यस अस्पतालमा उपलब्ध छ ।

यस अस्पतालका पूर्वनिर्देशक डा. एल्ब्रेच्ट हेनिङको आविष्कार ‘फिस हुक’ प्रविधिबाट मोतीविन्दुको शल्यक्रिया विश्वभरका नेत्र विशेषज्ञका लागि नौलो र अनुकरणीय रहेको अस्पताल प्रशासनले जनाएको छ । यो प्रविधि सिक्न यस अस्पतालमा स्वदेशी र स्वदेशी नेत्र विशेषज्ञ यस अस्पतालमा आउने गरेका छन् ।

यो रेकर्ड असमान्य हो, नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य द्रोण गुरागाईंले भने, ‘आँखा उपचारको क्षेत्रबाट यो अस्पताले विश्वभर देशको गौरव बढाउने काम गरेको छ ।’

मैले जग्गा नदिएको भए आज यहाँ यो आँखा अस्पतालको अस्तित्व हुँदैनथ्यो । ‘यो अस्पताल नभइदिएको भए लाखौँ व्यक्ति, जो आज यस अस्पतालबाट उपचार पाएर संसार देख्ने भएका छन्, उनीहरू अन्धकारमै जिन्दगी बाँचिरहेका हुन्थे,’ रविन्द्रलाल भन्छन्, ‘हाम्रो सानो योगदानबाट लाखौँ मानिसले संसार देख्न पाएको देख्दा खुसी अनुभूत गर्छु । ज्योति फर्केपछि उहाँहरूले दिने धन्यवाद, आशिष नै मेरा लागि ठूलो सम्पत्ति हो ।’

उपचार मात्र होइन सेवा पनि

यो आँखा अस्पताल बिरामीको आँखा उपचारमा मात्र होइन, मानव सेवा पनि अब्बल छ । यस आँखा अस्पतालमा खर्च अभावमा कोही पनि आँखा बिरामी बिनाउपचार घर फर्किनु पर्दैन । अस्पतालमा आँखा उपचारका लागि आउने विपन्न बिरामीलाई निःशुल्क उपचारसँगै आवास, खानपान र यातायात खर्चसमेत व्यवस्थापन गर्ने बन्दोबस्त छ ।

‘हामी अन्धोपन निवारणको मूलमन्त्रसहित अस्पताल स्थापना गरेका हौँ,’ रविन्द्रलाल भन्छन्, ‘खर्च अभावमा कोही पनि आँखाको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मन्त्र हो । हामी गुणस्तरीय उपचार मात्र गरिरहेका छैनौँ, वार्षिक अढाईदेखि तीन करोड रुपैयाँ बराबरको निःशुल्क आँखा उपचारको सेवा समेत दिँदै आएका छौँ । सगरमाथा चौधरी आँखा अस्पताल र यसका शाखा अस्पतालको रूपमा रहेको विराटनगर आँखा अस्पतालले वार्षिक डेढ डेढ करोड रुपैयाँ बराबरको च्यारिटी उपचार गर्दै आएको उनले बताए ।  

कोरोना महामारीका कारण काम रोकिएर हातमुख जोड्न समस्या परेका परिवारलाई अस्पतालले खाद्यान्न सहयोग गरेका छन्, गर्दैछन् । महामारीका कारण अस्पतालले आर्थिक मार खेप्दै आए पनि च्यारिटी उपचार र अभावमा परेका परिवारको सहयोगलाई रोकेको छैन ।

मान्यता बदल्ने आँखा अस्पताल

अस्पतालले मेचीदेखि महाकालीसम्मका आँखा बिरामीलाई उपचार सेवा दिँदै आएको रेकर्ड छ । तराई, पहाड र हिमाली जिल्लाका आँखा बिरामीको समेत यो अस्पतालप्रति दरिलो विश्वास छ । सामान्य उपचारका लागि पनि भारत दौडीहाल्ने नेपालीका लागि अस्पताल अनुकरणीय हो ।

अस्पतालमा वार्षिक जचाउन आउने बिरामीको संख्या तीन लाख ४५ हजार र शल्यक्रिया गराउनेको संख्या करिब ६० हजार छ । अस्पतालमा दैनिक औसत सात सय आँखाका बिरामीको उपचार हुन्छ । पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्र्तगत नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गैरनाफामूलक यस अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ ।

बस्न लाग्ने खर्च, औषधिसहित मात्र एक हजार दुई सय रुपैयाँमा मोतीविन्दुको शल्यक्रिया यहाँ हुन्छ । यहाँ उपचारका लागि आउने बिरामीमध्ये अन्धोपन निवारणको क्षेत्रमा प्रमुख चुनौती बनेको मोतीविन्दुका बिरामी तुलनात्मक रूपमा बढी हुन्छन् । यहाँ सबैभन्दा कम मूल्य १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रियाको व्यवस्था छ । अन्य अस्पतालमा यसको शल्यक्रिया गर्दा २४ हजारदेखि २ लाख रुपैयाँसम्म लाग्छ । यहाँ दृष्टिविहीन बिरामीले १३ हजार रुपैयाँमा आँखाको नानी (कोर्निया) प्रत्यारोपण गराउन सक्छन् । सेवा र सुविधाको तुलनामा निकै कम शुल्क भएकाले नै होला यो अस्पतालको सेवा हरेक वर्गको पहुँचमा छ ।

सन् १९८१ मा गरिएको अन्धोपनसम्बन्धी सर्वेक्षणले नेपालमा अन्धोपनको अवस्था ०.८४ प्रतिशत देखाइएको थियो । सन् २०१० मा गरिएको सर्वेक्षणले यो ग्राफ घटेर ०.३५ प्रतिशतमा झरेको छ ।

सन् १९८३ देखि २०२१ सम्म यो अस्पतालले ६० लाख ६० हजार ८ सय २३ आँखा बिरामीको उपचार गरेको छ । यस अवधिमा यो अस्पतालले १२ लाख ८८ हजार २३ आँखा बिरामीको शल्यक्रिया गरेको तथ्यांक छ ।

संस्थालाई यो उचाइमा पुर्‍याउन रविन्द्रलालले अरु थोकको पर्वाह गरेनन् । यो अस्पतालले उपचार सेवा मात्र दिएको छैन, करिब पाँच सय व्यक्तिलाई प्रत्यक्ष रोजगार दिएको छ । अप्रयत्यक्ष रूपमा सैयौँ व्यक्तिको रोजगार चलेको छ । ‘खर्च नजुटाउन सकेर संसार देख्ने आश मारिसकेकालाई समेत संसार देखाउन पाएको छु,’ रविन्द्रलाल भन्छन्, ‘मेरा लागि यो नै ठूलो सन्तुष्टि हो । निष्ठापूर्वक गरेको कामले अवश्य फल दिँदोरहेछ ।’

सिरहा, मिर्चैया, मलंगवा, गाईघाट, कटारी, दिक्तेल, हलेसी, बर्दिवास, जलेश्वर, राजविराज, धनुषाधाम, लालबन्दी, सिन्धुलीको खाल्टे, सप्तरीको कञ्चनपुरमा उपचार केन्द्रमार्फत अस्पतालले आँखा बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । राजविराज, बर्दिबास, मलंगवा र जलेश्वरमा शल्यक्रियाको सेवा उपलब्ध छ । मलंगवामा ७० शड्ढयाको अस्पतालमार्फत नियमित शल्यक्रियाको सेवा हालै सञ्चालनमा आएको अस्पताल प्रबन्धक अभिशेषक रोशनले बताए ।

अस्पतालले उपचार केन्द्रमार्फत अन्धोपन निवारणका लागि उपचारात्मक र चेतनात्मक कार्य गर्दै आएको छ । नेपाल नेत्र ज्योति संघले अन्धोपन निवारणको क्षेत्रमा अब्बल योगदान गरेको भन्दै अस्पताललाई सम्मान समेत गरेको छ ।

एक करोड बिरामीको उपचार

सगरमाथा चौधरी आँखा अस्पताल लहान स्थापनाको ३८ वर्षमा झन्डै एक करोड आँखाका बिरामीको उपचार गरेको छ ।  

पूर्वाञ्चलक आँखा उपचार कार्यक्रमका संयोजक सुधीर ठाकुरका अनुसार सगरमाथा चौधरी आँखा अस्पताल, विराटनगर आँखा अस्पताल सहितका शाखा अस्पताल र उपचार केन्द्रबाट देश र विदेशका गरी एक करोड आँखा बिरामीको उपचार गरिएको छ ।  

सगरमाथा चौधरी आँखा अस्पतालको शाखा अस्पतालको रूपमा १६ वर्षअघि विराटनगर आँखा अस्पतालको सेवा सुरु भएको थियो । सगरमाथा चौधरी आँखा अस्पताल बिरामी संख्याका हिसाबले विश्वकै तेस्रो ठूलो आँखा अस्पताल हो । यस अस्पतालमा देशभरका बिरामी उपचारका लागि आउने गरेको तथ्यांक छ । यहाँ भारत, बंगलादेश, भुटानसहित अन्य देशबाट पनि आँखाका बिरामी आउँछन् ।

देशको नाम चम्काउने अस्पताल

अधिकांश हुनेखाने नेपालीहरू स्वास्थ्यमा समस्या हुँदा उपचारका लागि भारत जाने गर्छन् । तर, छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यसको गुणस्तरीयतालाई पुष्टि गर्छ । बुद्धिजीवी विश्वनाथ महतो भन्छन्, ‘यस आँखा अस्पतालले सगरमाथाजस्तै नेपालको नाम विश्वभर फैलाइरहेको छ ।’ शल्यक्रियाका आधारमा विश्वमै अब्बल यो आँखा अस्पताल ‘चिकित्सा पर्यटन’को बलियो स्रोत भएको उनको कथन छ । विदेशी बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय हुने गरेका छन् ।

‘संसार देख्ने आस मारिसकेका हामीलाई संसार देखाउने आदरणीय चिकित्सकलाई धन्यवाद,’ आँखाको ज्योति गुमेर सगरमाथा चौधरी आँखा अस्पताल लहानमा उपचारपछि घर फर्केका भारत मधेपुरा जिल्लाका रामअवतार र शिवशंकर भगतले संयुक्त रूपमा अस्पतालप्रति आभार व्यक्त गर्दै पठाएको पत्रका हरफ हुन् यी ।

शल्यक्रियापछि संसार देख्न पाएका धेरैले भगतद्वयजस्तै धन्यवादसहित पत्र पठाएका छन् । जसमध्ये केही पत्र अस्पतालले सुरक्षित राखेको छ ।

गुणस्तरीय, सस्तो र सबैखाले सहजताले गर्दा उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको सो आँखा अस्पतालका प्रबन्धक अभिषेक रोशनले बताए । यस अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखारोग विज्ञसहित झन्डै चार सय चिकित्सक एवं प्रशासनिक कर्मचारी कार्यरत छन् । यहाँ ८० रुपैयाँ पुर्जी शुल्क तिरेपछि आँखाको सम्पूर्ण परीक्षण हुन्छ ।  

ठूलो रकम खर्चेर मात्र स्तरीय उपचार पाइन्छ भन्ने जनमानसमा फैलाइएको भ्रम र हल्लालाई यस अस्पतालको सेवाले सशक्त जवाफ दिइरहेको प्रबन्धक रोशन बताउँछन् । ‘उपलब्ध सुविधा, न्यूनतम शुल्क, विज्ञ र गुणस्तरीयताका हिसाबले एसियाको मात्र नभएर विश्वकै यो तेस्रो सबभन्दा उत्कृष्ट आँखा अस्पताल भएको दाबी गर्छौं,’ रोशनले भने । पहिलो र दोस्रो स्थानमा भने भारतकै मध्यप्रदेशको चित्रकुट एवं तमिलनाडु राज्यमा रहेका आँखा अस्पताल छन् । राजधानीको आँखा अस्पतालले पनि दिन नसक्ने उपचार लहानमा उपलब्ध रहेको रोशनले बताए ।

नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राध्यापक चेतराज पन्त यो अस्पतालले अन्धोपन निवारणका क्षेत्रमा महत्वपूर्ण एवं उपलब्धिमूलक कार्य गरिरहेको बताउँछन् ।

नेत्र विशेषज्ञका लागि ‘पाठशाला’

आँखा उपचारमा नाम कमाएको सगरमाथा चौधरी आँखा अस्पताल विशेषज्ञ उत्पादन गर्ने थलो समेत हो । अस्पतालले नेसनल एकेडेमी अफ मेडिकल साइन्ससँग स्वीकृति लिएर ‘नेत्र विशेषज्ञ कोर्स’ अध्यापन गराउँदै आएको छ ।

गुणस्तरीय सेवा र आधुनिक शल्यप्रविधिका कारण विदेशमा पनि नाम फैलाउन सफल यो अस्पताल नेत्र विशेषज्ञ उत्पादन गर्ने केन्द्रका रूपमा समेत चिनिन थालेको छ । गुणस्तरसँगै बिरामीको चापका कारण विश्वभरिका नेत्र विशेषज्ञले यो अस्पताललाई हबका रूपमा लिएको प्रबन्धक रोशनले बताए ।

अस्पतालका पूर्वनिर्देशक डा. एल्ब्रेच्ट हेनिङको आविष्कार ‘फिस हुक’ प्रविधिबाट मोतीविन्दुको शल्यक्रिया विदेशी नेत्र विशेषज्ञका लागि नौलो र अनुकरणीय बनेको रोशनले बताए । न्युजिल्यान्ड, भारत, अमेरिका, इजिप्ट, साउदी अरेबियाका नेत्र विशेषज्ञ पनि यहाँ आएर ‘फिस हुक’ प्रविधि सिक्ने गरेको अस्पताल प्रशासनले जनाएको छ ।  

जिल्ला उद्योग वाणिज्य संघ लहानका महासचिव विकास सारडाका अनुसार लहान आँखा अस्पताल देशका लागि बलियो स्रोत हो । यो स्रोतको संरक्षण, संवद्र्धन गर्दै प्रवद्र्धन गर्न सके चिकित्सा पर्यटनमार्फत देशलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिन सक्छ ।

प्रकाशित: ११ वैशाख २०७८ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App