१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा

चिकित्सा शिक्षा आयोगको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेको छ। कर्णाली प्रतिष्ठानमा एमबीबीएस अध्ययनको लागि आवश्यक तयारी बारे अनुगमन गर्न डा. सतिसकुमार देवको टोली जुम्लामा पुगेको हो।  

टोली डा. कालुसिंह खत्री, डा.पवन हमाल, डा. प्रकाश थापा, डा.प्रतिक ज्ञावली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधिसहितको टोली जुम्ला पुगेको हो।

टोलीले जुम्लामा एमबीबीएस पठनपाठनका लागि चाहिने बिरामी संख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवा प्रवाहको अवस्था, शिक्षक, कक्षाकोठा, बेसिक साइन्सका लागि आवश्यक भौतिक संरचना र ल्याव तथा उपकरणहरुको अनुगमन गर्नेछ।  

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले एमबीबीएस पठनपाठनका लागि आवश्यक तयारी पूरा भइसकेको बताए। उनले भने,‘पाँच महिनादेखि चिकित्सा शिक्षा आयोगको टोलीको प्रतिक्षामा थियौँ। कोरोनाका कारण ढिलो भयो।’

टोलीले कर्णाली प्रतिष्ठानको स्थलगत अनुगमनपछि प्रतिबेदन तयार पारेर आयोगमा पेस गरेपछि सिट निर्धारण गर्नेछ। रजिष्ट्रार काफ्लेले भने,‘ यही शैक्षिक सत्रबाट पठनपाठन सुरु हुने तयारीका साथ काम भएको छ।’

प्रतिष्ठानका रेक्टर डा. निरेश थापाले एमबीबीएस पढाइ सुरु गर्नको लागि आवश्यक तयारी भइरहेको बताए। उनले भने,‘सके जतिको सबै तयारी भइरहेको छ। आशा छ यही शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनको लागि आयोगले अनुमति दिनेछ।’

एमबीबीएस अध्ययनको लागि चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगेपछि कर्णालीवासी उत्साहित छन्। यहाँ अध्ययन गरेको डाक्टरले स्वास्थ्य शिक्षा लिएर स्वास्थ्य सेवा दिन पाउने भएकोमा कर्णालीवासी खुसी छन्। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत कर्णालीमा एमबीबीएस पठनपाठन सुरु हुनु निकै खुसीको विषय भएको बताए।  

उनले भने,‘एक त कर्णालीमा डक्टर पढ्न सुगमका विद्यार्थी आउने भए। कर्णालीका युवाले डक्टर पढ्न जिल्ला बाहिर महंगो खर्चेर जानु परेन। कर्णालीबाट स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा फैलाउने कार्य हुनु दुर्गमताको पहिचान हटाएर सुगमता तीर फर्किएको आभाष दिलाएको छ।  

चिकित्सा शिक्षा ऐन अनुसार यहाँ पढ्ने विद्यार्थीले अनिवार्य दुई वर्ष प्रतिष्ठानले खटाएको क्षेत्रमा सेवा गर्नुपर्छ। रजिष्ट्रार काफ्लेले थपे,‘स्वास्थ्य सेवा, जनशक्ति र समग्र विकासका लागि फाइदाजनक नै हुनेछ। यो क्षेत्र स्वास्थ्य पर्यटनको हब बन्न सक्नेछ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावल चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगिसकेकोले कर्णालीमा एमबीबीएस अध्ययनको लागि आशा जागेको बताए। उनले भने,‘टोली जुम्ला पुगेको छ। हामीले जति सकेका छौँ, कुनै कसुर बाँकी नराखेर काम गरेका छौँ। आइतबार नौ बजेदेखि अनुगमन हुनेछ। यो कर्णालीका लागि शुभ संकेत हो।’

स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई टेवा पुर्‍याउनको लागि एमबीबीएस पठनपाठनले निकै मद्दत पुग्नेछ। एमबीबीएस मेडिकल कलेजको आधार हो। एमबीबीएस पठनपाठनले मेडिकल कलेज भएको प्रमाणित गर्छ। अब निकट भविष्यमै कर्णालीमा एमबीबीएस पठनपाठन सुरु हुने अपेक्षा गरिएको उपकुलपति रावलले बताए।

प्रकाशित: २८ चैत्र २०७७ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App