१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण

रौतहटको एउटा स्थानीय तहले ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने परोहा नगरपालिकाले सहरी विकास मन्त्रालयको सहयोगमा ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेको हो ।

नगरपालिका भनिए पनि सुविधायुक्त बजारको समेत अभाव रहेको र नगरबासी बिरामी पर्दा जिल्ला अस्पताल गौर पुग्न कम्तीमा १८ किलोमिटर जानु पर्ने वा भारतको विभिन्न सहरमा उपचारको लागि पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा सुविधा सम्पन्न अस्पतालको निर्माण भएपछि स्थानीयमा स्वास्थ्य सेवा सुविधा पाउने विश्वास बढेर गएको पाइएको छ ।  

सहरी विकास मन्त्रालयबाट प्राप्त रकमसमेत गरी करिब तिन करोड रुपैयाको लागतमा निर्माण भएको आधुनिक सुविधा सम्पन्न अस्पतालबाट स्थानीयबासीले छिट्टै स्वास्थ सेवा पाउने नगर प्रमुख शेख वकिलले जानकारी गराएका छन् ।

कम्तीमा एमबिबिएस चिकित्सकसहित चौबिसौँ घन्टा सेवा दिने गरी नवनिर्मित भवनमा अस्पताल छिट्टै संचालन हुने नगर प्रमुख वकिलले बताएका छन् । अस्पतालमा चिकित्सक सेवा, विभिन्न रोगको परीक्षण तथा औषधिसमेत अन्य सेवा र सुविधा उपलब्ध गराउने तयारी भइरहेको नगर प्रमुख वकिलको भनाइ छ ।  

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा पहिले परोहा नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा फड्को मारेको स्थानीयको भनाइ छ । जिल्ला अस्पताल गौरको सेवा र सुविधा सरहको सुविधा उपलब्ध हुने भएपछि परोहाबासी खुसी भएका छन् । स्थानीय सिकेन्द्र जयसवालले नमूना भवन बनिसकेको र निकट भविष्यमै अस्पताल संचालन हुन गइरहेको सुनेर स्थानीयबासी अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्त हुने विश्वास लिएको बताएका छन् ।

अस्पतालको लागि चिकित्सक तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीको व्यवस्थापनको लागि गृहकार्य भइरहेको नगर प्रमुख वकिलको भनाइ छ ।

प्रकाशित: ३० माघ २०७७ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App