१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

माधवको 'माओवादी मोह', पार्टीभित्र एक्लिँदै

'बालुवा पेलेर तेल निस्किँदैन' भन्दै नेकपा (एमाले) विभाजन गरेर माधव नेपालले २०७८ भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) गठन गरे ।

त्यसबेला ३० सांसद र ५५ केन्द्रीय सदस्य लिएर एकीकृत समाजवादी गठन गरेका माधव पछिल्लो निर्वाचनमा हस्रक्क भए, उनको दल राष्ट्रिय पार्टीसमेत बनेन । प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले तीन प्रतिशतको थ्रेसहोल्ड पनि कटाउन सकेन ।

पार्टी विभाजन गर्दैगर्दा एमाले नेताहरूले माधवले विभाजनको औचित्य पुष्टि गर्न नसक्ने बताउँथे, हुन पनि पछि त्यस्तै भयो । अझ दुर्भाग्य के भयो भने गठनताकादेखि नै एकीकृत समाजवादीका नेताहरू एकपछि अर्को गर्दै एमालेमै फर्किन थाले ।

यो क्रम अझ पछिल्लो निर्वाचनयता बढ्यो । पार्टी राष्ट्रिय दलसमेत नबनेपछि नेता-कार्यकर्ताहरू भविष्य नदेखेको भन्दै एमाले फर्किन थाले । गत मंसिर २७ गते मात्रै पनि एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दैलेखका पूर्वजिल्ला अध्यक्ष जंगबहादुर शाही एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही ।

शाही जसरी नै केन्द्रदेखि वडा तहसम्मका एकीकृत समाजवादीका धेरै नेताहरू एमाले फर्किरहेका छन् । पार्टी खिइँदै गएको छ । यसपछि माधव दबाबमा पर्न थालेका छन् । कतिपय नेताहरू अन्य दलसँग पार्टी एकता गर्न सुझाउँछन् भने कति नेताहरू पार्टी आफ्नै खुट्टामा उभिएर हिँड्नुपर्ने बताउँछन् ।

यसबीचमा माधव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग निकट रहेर संवादमा छन् । माधवले यदाकदा माओवादीसँग एकता नै गरेर अगाडि बढ्ने मनसायसमेत व्यक्त गर्छन् ।

तर, पार्टीका अन्य नेताहरू भने माओवादीसँग एकता गर्न नुहने पक्षमा छन् । सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष जगन्नाथ खतिवडा, महासचिव घनश्याम भुसाल, पूर्वसचिव रामकुमारी झाँक्री, नेता विजय पौडेललगायतका नेताहरू माओवादी वा अन्य दलसँग एकता गर्न नहुने पक्षमा छन् ।

जारी स्थायी कमिटी बैठकमा पनि नेताहरूले माओवादी वा अन्य कुनै दलसँग एकता गर्न नहुने पक्षमा जोड दिएका छन् । बैठकमा प्रतिवेदन पेस गरेका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले कुनै पनि हालतमा एकता गर्न नहुने बताएका छन् ।

वामपन्थीहरूबीचको एकता सैद्धातिक रूपमा आजको आवश्यकता भए पनि व्यावहारिक रूपमा त्यो सम्भव नभएको उल्लेख गर्दै उनले भनेका छन्, 'टाउकाको मात्रै एकता भएर हुँदैन ।'

'टाउकाको मात्रै एकता नहुने' भनेर महासचिव भुसालले कार्यकर्तालाई 'बाइपास' गरेर माओवादी अध्यक्ष दाहालसँग मात्रै एकता नगर्न खबरदारी गरेका छन् ।

महासचिव भुसालको प्रस्तावमा अधिकांश नेताहरूले समर्थन जनाएका छन् । उपाध्यक्ष जगन्नाथ खतिवडा, स्थायी कमिटी सदस्य विजय पौडेललगायतका नेताहरूले महासचिव भुसालको प्रस्तावलाई मूल मानेर अगाडि बढ्नुपर्ने बताइरहेका छन् ।

माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादी नेपाल ।

उपाध्यक्ष खतिवडा अरु पार्टीसँग एकता गर्दा आफ्नो पार्टी विलयमा पर्ने भयमा छन् । उनी भन्छन्, 'यसबेला अरु पार्टीसँग एकता गर्दा त्यो एकता नभइकन विलय हुन जान्छ । अरु साना पार्टीहरूसँगको हकमा हामी प्रष्टै छौँ ।' 

यद्यपि, यसअघि माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता नै हुने भनिएको थियो । त्यहीअनुसार केही चरण छलफलसमेत भएको थियो । तर, पछि खासगरी एकीकृत समाजवादीका नेताहरूले नमानेपछि त्यो स्थगित भयो ।

तर, माधव भने माओवादी अध्यक्ष दाहालसँग संवादमै छन् । अहिले त अझ समाजवादी मोर्चा छ । मोर्चामा माओवादी र एकीकृत समाजवादी मुख्य दलका रूपमा छन् । नेताहरूले बेला-बेला मोर्चा एउटै पार्टीका रूपमा अगाडि बढ्नेसमेत बताउँछन् । तर, एकीकृत समाजवादीका नेताहरू त्यस्तो नहुने बताउँछन् । उपाध्यक्ष जगन्नाथ खतिवडा भन्छन्, 'कार्यक्रम विशेष सहकार्य हुन छ तर, पार्टी एकता नै चाहिँ हुँदैन । त्यो अहिल्यै सम्भव छैन ।'

यसपछि माओवादीसँग पार्टी एकता गर्ने मनसाय व्यक्त गरिरहेका माधव पार्टीभित्र एक्लिँदै गएका छन् । यही सन्दर्भलाई लिए कतिपयले उनलाई 'सेना बिनाका सेनापति'समेत भन्ने गरेका छन् । हुन पनि माधव ठूलै कदका नेता हुन्, उनी पूर्वप्रधानमन्त्री हुन्, लोकप्रिय मतका हिसाबले सबैभन्दा ठूलो पार्टी एमालेका तत्कालीन महासचिव (नेतृत्व) हुन् । तर, यहाँ आएर उनको पार्टीले २ लाख भोटसमेत ल्याउन हम्मे-हम्मे परेको छ ।

एकीकृत समाजवादीकै एक नेता भन्छन्, 'उहाँ राम्रै नेता हो । उहाँको विगत पनि गतिलै छ तर, यहाँ आएर उहाँले आफैँलाई बलियो बनाउनेभन्दा पनि अरुसँग मिलेर बलियो बन्ने भन्ने मनसाय व्यक्त गरिरहनुभएको छ, त्यो गलत छ । त्यो पार्टीको हितमा छैन ।'

'चुनावपछि एकता हुनसक्छ'

माओवादी नेताहरू पनि तत्कालै एकीकृत समाजवादीसँग एकता हुने सम्भावना नरहेको बताउँछन् ।

माओवादी सचिव गणेश साह ।

तर, आउँदो चुनावपछि भने एकता हुन सक्ने उनीहरू बताउँछन् । माओवादी सचिव गणेश साह भन्छन्, 'चुनावपछि चाहिँ हुन सक्छ । त्यसमा पनि कसको पार्टी कत्रो हुन्छ भन्ने कुरा मुख्य हुन्छ । तर, अहिल्यैचाहिँ त्यस्तो सम्भावना देख्दिनँ ।'

महासचिव देव गुरुङको बुझाइ पनि यही छ । तत्कालै एकीकृत समाजवादीसँग एकताको सम्भावना नदेखेका महासचिव गुरुङ भन्छन्, 'यद्यपि, माओवादी कहिल्यै विभाजनको पक्षमा छैन । विचार र सिद्धान्त मिल्ने पार्टीहरूका बीचमा एकता हुनुपर्छ । सम्भावना भन्ने कुरा जहिले पनि रहन्छ ।'

प्रकाशित: १ पुस २०८१ १८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App