मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिएका छन्।
मुख्यमन्त्री सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको “भ्रष्टाचार नियन्त्रण र सुशासन” विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो सुझाव दिएका हुन्।
उनले भ्रष्टाचार गर्नेलाई ५ वर्षदेखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने बताए। भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानून पर्याप्त नरहेको बताउँदै उनले राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै मानिसको जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलासी जीवनशैली जिउनुले नै भ्रष्टाचार प्रश्रय पाइरहेको उल्लेख गरे।
मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलब वृद्धि गरेर भ्रष्टाचार गर्नेमाथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दाबी पनि गरे।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरी नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गरे।
प्रकाशित: १ पुस २०८१ १९:२५ सोमबार