२४ पुस २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

जिल्ला अस्पतालमै सुविधा छैन, गाउँमा खोलेर के गर्नु ?

तनहुँ सदरमुकाम दमौलीमा संचालित दमौली अस्पताल । तस्बिरः श्रीहरि पौडेल/नागरिक

तनहुँको मुकाम दमौलीमा २०५९ मा १५ शैयाको जिल्ला अस्पताल खुल्यो । दमौली अस्पतालले सेवा दिन थालेको झन्डै दुईदशक पुग्न थाल्दा क्षमता अझै पुरानै आकारको छ । आन्तरिक व्यवस्थापनको भरमा ३५ शैयासम्म बिस्तार गरिएपनि अस्पतालको खास क्षमता १५ नै हो ।  

अस्पतालको क्षमता बढाएर ५० शैया पु¥याउने योजना बीचमा नबनेका पनि होईनन, तर, ती योजनाले पूर्णता पाउन सकेका छैनन् । पुरानै क्षमता, पुर्वाधार र जनशक्तिको भरमा जिल्ला अस्पतालले सकसपूर्ण तरिकाले सेवा दिईरहेको अस्पतालका पदाधिकारी बताउँछन् । झन्डै दुईदशकसम्म क्षमता, पुर्वाधार र जनशक्ति विस्तार गर्न नसक्दा जिल्लाबासिले समेत अस्पताललाई विश्वास गर्न छाडेको पदाधिकारीको नै भनाई छ ।

यस्तै अवस्था पर्वत जिल्ला अस्पतालको पनि छ । कुश्मा अस्पताल २०४६ मा १५ शैयाको आकारमा खुलेको थियो । जसोतसो आन्तरिक व्यवस्थापनबाट कुश्मा अस्पताललाई अहिले ३५ शैयाको बनाएपनि खास क्षमता अझैपनि १५ नै हो । अस्पतालको क्षमता मात्र पुरानो आकारको होईन की त्यहाँका पूर्वाधार पनि पुरानै आकारका छन् । पुर्वाधारको हिसाबले अस्पतालको क्षमता स्थापनाकालकै जति छ । विशेषज्ञ चिकित्सकको त अहिलेसम्म जिल्ला अस्पतालले मुखै देख्न पाएका छैन ।

तनहुँ र पर्वत सदरमुकाममा रहेका जिल्ला अस्पतालको अवस्थाका यी उदाहरण हुन् । सबैजसो जिल्लामा संचालित सरकारी अस्पतालको हालत पर्वत र तनहुँकै जस्तै छन् । वर्षाैअघि खुलेपनि जिल्लाका ती अस्पतालको शैया मात्र थोरै होईन की त्यहाँ कार्यरत जनशक्ति र भौतिक पूर्वाधारको अवस्था पनि पुरानै छन् । जिल्लाबासी नै ती अस्पतालको सेवाप्रति सन्तुष्ट हुन नसकेको पदाधिकारी स्वीकार्छन । सरकारले जिल्ला अस्पतालको सेवा, सुविधा, जनशक्ति र प्रविधि बढाउँदै सुविधासम्पन्न बनाउन नसक्दा सदरमुकाममा रहेका ती अस्पतालप्रति स्थानीयको भरोसा घट्न थालेको उनीहरु बताउँछन् ।  

सरकारले केहीदिन अघि स्थानीयतहमा आधारभूत अस्पताल खोल्न बजेटको सुनिश्चितता ग¥यो । ५, १० र १५ शैयाका आधारभूत अस्पताल दुईवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बहुवार्षिक ठेक्का प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ । त्यसै अनुसार यो वर्ष अर्थ मन्त्रालयले स्थानीयतहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी सहमति दिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सबै स्थानीयतहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।

सरकारले सबै स्थानीयतहमा आधारभूत अस्पताल खोल्ने निर्णय यसअघि पनि गरेको थियो । सरकारले हरेक स्थानीयतहमा अस्पताल बनाउने भन्दै आएपनि जिल्लामा संचालित अस्पतालको अवस्था भने दयनीय छ । जिल्ला अस्पताललाई भरिपूर्ण बनाउनुको साटो स्थानीयतहमा अस्पताल खोलेर बजेट खेर फाल्न थालिएको जिल्ला अस्पतालका पदाधिकारीको गुनासो छ । स्थानीयतहमा नयाँ अस्पताल खोल्नुको साटो हाल संचालित जिल्ला अस्पताललाई नै सुविधाले भरिपूर्ण बनाउने हो भने जनताले राहत पाउने उनीहरुको भनाई छ । निशुल्क औषधि र सामान्य सेवा समेत दिन नसक्ने अवस्थाका सरकारी स्वास्थ्य निकायलाई भरिपूर्ण बनाउनुको साटो स्थानीयतहमा अस्पताल खोलेर बजेट छर्न खोजिएको उनीहरु बताउँछन् ।  

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अधिकारी भन्छन, ‘स्थानीयतहमा स्वास्थ्यको पहुँच पु¥याउन खोज्नु नराम्रो होइन । तर, ती अस्पतालले सेवा दिन नसक्दा भोलि झनै आलोचित हुनेछन् । जिल्लामा वर्षाैअघि खुलेका अस्पताल नै जनशक्ति र पूर्वाधारविहीन भएको अवस्थामा अब स्थानीयतहमा खुल्ने अस्पताल पनि सुविधायुक्त हुन्छन भनेर विश्वासै गर्न नसकिने उनले बताए । ‘जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाइदिने हो सबै स्थानीयतहमा ठुलो लगानी गरेर जनशक्तिविहीन तरिकाले चलाउनुपर्ने अवस्था हुँदैन,’ उनले भने, ‘संख्यात्मक रुपमा अस्पताल धेरै हुनेछन्, तर, गुणात्मक सेवा जनताले नपाउने पक्का छ ।’ हाल गाउँमा रहेका स्वास्थ्यचौकीबाटै पनि स्थानीयले सेवा पाउन नसकेको उनले बताए । ‘स्थानीयतहमा अस्पताल खुलेपनि विज्ञ चिकित्सक पुग्छन भन्ने विश्वास छैन । सदरमुकामकै अस्पतालमा चिकित्सक अभाव भएको बेला गाउँमा चिकित्सक पुग्ने छैनन,’ उनले भने, ‘जिल्लाका सबै स्थानीयतहमा बनाइने अस्पतालमा खर्चने बजेट जिल्लाको सरकारी अस्पतालमा खर्च गर्ने हो भने सदरमुकामका अस्पतालमा बल्ल खोजेको सेवा पाईनेछ ।’  

उनका अनुसार वर्षाै अघिदेखि चलेका जिल्ला अस्पतालले अहिलेसम्म विशेषज्ञ चिकित्सकको मुख देख्न पाएका छैनन । जनशक्ति वर्षौ अघिकै आकारमा छ । आइसियु, र भेन्टिलेटर सुविधा अझै छैनन । ‘पिलो चिर्नका लागि दमौली अस्पतालमा नआएर बिरामी पोखरा जानुपर्ने अवस्था छ,’ उनले भने, ‘सदरमुकामका वर्षाैअघिदेखि चलेका अस्पतालको त यो हालत छ भने गाउँमा खुल्ने अस्पताल सुविधासम्पन्न हुनेछन् भनेर विश्वास गर्न सकिन्न ।’ पुर्वाधार र जनशक्ति अभावमा स्थानीयतहमा खुलेका अस्पताल झनै कमजोर हुने उनले बताए ।  

गण्डकी प्रदेशको मुकाम पोखराबाट ५० किलोमिटर दुरीमा तनहुँको दमौली अस्पताल छ । तर, दमौलीको त्यो सरकारी अस्पतालमा सेवा नपाउने भएपछि सामान्य विरामी हुँदा पनि स्थानीय पोखरा धाउने उनले बताए । जिल्ला अस्पतालको सेवाप्रति जिल्लाबासिकै अविश्वास रहेको उनले बताए । ‘जिल्लाको अस्पतालले कहिल्यै पनि जिल्लाबासिको मन जित्न सकेनन,’ उनले भने ।

पर्वत जिल्ला अस्पताल संचालन समितिका अध्यक्ष गोबिन्द पहाडी पनि स्वास्थ्य क्षेत्र अझै केन्द्रीकृत रहेको बताउँछन । प्रशासनीक रुपमा मात्र संघीयता लागु भएको तर स्वास्थ्य क्षेत्रमा जिल्लामा अब्बल अस्पताल नहुँदा बिरामीलाई पोखरा र काठमाडौं धाउनुपर्ने बाध्यता रहेको उनले बताए । ‘सामान्य अवस्थामा जिल्लाका सबै स्थानीयतहबाट पर्वत सदरमुकामसम्म २ घण्टामा गाडीमा आउन सकिन्छ । जिल्ला अस्पताललाई सुविधायुक्त बनाउने हो भने बिरामी जिल्लाकै अस्पतालमा उपचारार्थ आउँथे,’ पहाडीले भने, ‘तर, जिल्ला अस्पतालमा उपचारको सुनिश्चितता नहुँदा सामान्य बिसन्चो हुँदा पनि बिरामी पोखरा धाउन बाध्य छन ।’  

स्थानीयतहमा अस्पताल बनाएपनि जनशक्ति, प्रविधि पाउन धेरै वर्ष लाग्ने पक्का रहेको उनले बताए । ‘२०४६ मा खुलेको जिल्ला अस्पतालको यो हालत छ । अहिलेसम्म विशेषज्ञ चिकित्सक देख्न पाइएन,’ पहाडीले भने, ‘स्थानीयतहमा अब खुल्ने अस्पतालले प्रयाप्त प्रविधि र जनशक्ति पाउँछन् भनेर विश्वासै गर्न सकिन्न ।’ यतिसम्मकी आईसियु र भेन्टिलेटर जस्ता प्रविधि भिœयाउन कोरोना भाइरस आउनुपरेको उनले सुनाए । ‘स्थानीयतहमा अस्पताल खोल्न थाल्दा विरोध गरेका होईनौ, तर, भवन बनाएर अस्पताल चल्दैन,’ उनले भने ।  

पहाडीको अनुभवमा सदरमुकाममा समेत चिकित्सक बस्न मान्दैनन भने गाउँमा बस्ने अवस्था झनै छैन । ‘गण्डकीमा पोखरामा बाहेक चिकित्सक बस्न मान्दैनन्, किनकी चिकित्सकले थप अवसर गाउँ र सदरमुकाममा पाउँदैनन,’ उनले भने । सेवा र सुविधा नपाउँदा स्थानीय तहमा खुलेका अस्पताललाई आफ्नै गाउँका बासिन्दाले अविश्वास गर्ने अवस्था आउने उनले सुनाए ।  

विज्ञहरु पनि स्थानीयतहमा अस्पताल बनाएर बजेट छर्नुभन्दा जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने सुझाउँछन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट डा कालु शर्मा स्थानीयतहमा अस्पताल बनाएपनि प्रविधि, जनशक्ति र औषधि अभाव हुने भएकोले जिल्ला अस्पताललाई नै सुविधाले भरिपूर्ण बनाउनुपर्ने बताउँछन् । ‘वर्षाैअघि संचालित सबै जिल्ला अस्पतालले सुत्केरी गराउन सक्दैनन, अरु सुविधाको त अपेक्षा नै नगरौं,’ शर्मा भन्छन, ‘जिल्लामा अस्पताल छन् भन्ने मात्र हो, सुविधा छैन ।’ जिल्लाका अस्पताल अब्बल नहुँदा क्षेत्रीय अस्पतालमा बिरामीको चाँप पर्ने गरेको उनले बताए ।

‘पोखराको क्षेत्रीय अस्पताललाई रिफरल (जिल्लाबाट रिफर भई आएका) बनाउनुपर्ने हो । तर, अहिले जनरल बनेको छ,’ उनले भने, ‘जिल्लामा सुविधा नहुँदा सबै बिरामी पोखरा आइपुग्छन । क्षेत्रीय अस्पताल जनरल बनेको छ ।’ जिल्लाका अस्पतालमा विशेषज्ञ सेवा सहित पुर्वाधार नहुँदा साधारण बिरामी पनि पोखरा आउनुपर्ने अवस्था रहेको उनले बताए । ‘सामान्य बिरामी पर्दा पनि जिल्ला अस्पतालमा उपचार हुन्छ भन्ने विश्वास छैन । दरबन्दी छ, चिकित्सक पुग्दैनन । पहुँच भएका चिकित्सक राजधानी ताक्छन,’ उनले भने, ‘जिल्ला अस्पतालमा सधैं रित्तै र अभावले ग्रसित छन् ।’  

गाउँमा मेडिकल सेन्टर खोलेर अनुभवि स्वास्थ्यकर्मी खटाउनुपर्ने उनले बताए । ‘गाउँका बिरामीलाई थप उपचारका लागि जिल्ला अस्पतालमा पठाउने व्यवस्थापन गर्नुपर्छ,’ शर्माले भने, ‘तर, अहिले बिरामी जिल्ला अस्पताल जान चाहँदैनन, सिधै क्षेत्रीय ताक्छन् ।’ जिल्लाबाट आएका बिरामीलाई सोध्दा त्यहाँका अस्पतालमा चिकित्सक नभएको, चिकित्सक भएपनि उपचार प्रभावकारी नहुने भनेर अविश्वास गर्ने गरेको शर्माले बताए । ‘जिल्ला अस्पतालप्रति नागरिक सन्तुष्ट छैनन् । त्यसैले स्थानीयतहमा अस्पताल खोल्नुको साटो जिल्लाका अस्पताललाई सुविधाले भरिपूर्ण बनाउनुपर्छ ।’  

प्रकाशित: ८ मंसिर २०७७ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App