८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य संस्था संक्रमण केन्द्र बन्ने खतरा

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआइसियु सेवा अघिल्लो साताको मंगलबारदेखि शुक्रबारसम्म बन्द रह्यो। त्यहाँ कार्यरत पाँच स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोराना संक्रमण देखिएपछि निर्मलीकरणका लागि चार दिन अस्पताल बन्द गर्नुपरेको सूचना अधिकारी डा. विष्णु गौतमले बताए। एनआइसियु खुले पनि सेवा प्रवाहमा भने समस्या भइरहेको अस्पतालकै एक नर्सले बताइन्। ‘पर्याप्त जनशक्ति नभएका बेला एउटा डिपार्टको स्वास्थ्यकर्मी संक्रमित हुँदा त्यसले अन्य डिपार्टलाई पनि प्रभाव पार्छ,’ ती नर्सले भनिन्। अहिलेसम्म उक्त अस्पतालमा कार्यरत ३२ जनामा कोरोना पुष्टि भइसकेको छ।

केही समयअघि बाँकेको भेरी अस्पतालका हाडजोर्नी विशेषज्ञ, फिजिसियन, प्रमुख कन्सल्टेन्ट, कोरोना फोकल पर्सनसहित ३० स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि तीन साता सेवा ठप्पजस्तै भयो। बाँकेको नेपालगन्ज मेडिकल कलेजका ४२, नर्सिङ होमका ३२, नेपालगन्ज नगरपालिकाभित्र १२ स्वास्थ्यकर्मीमा संक्रमण देखिइसकेको छ। चिकित्सक र नर्सहरू नै सक्रमित हुँदा सेवा प्रवाहमा निकै समस्या भइरहेको सम्बन्धित अस्पताल प्रशासनहरूले जनाएका छन्।

स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेपछि बुटवलकै गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा पनि केही समय सेवा प्रभावित भयो। मुटु, मिगौलाजस्ता गम्भीर रोगका बिरामी त्यसको मारमा परे। उक्त अस्पतालका ३६ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। भैरहवाको युसिएमएस मेडिकल कलेजका ५२ जनामा संक्रमण पुष्टि भएको छ। रूपन्देहीमा कोभिड अस्पतालसँगै अधिकांश निजी अस्पतालमा समेत चिकित्सक, नर्स तथा कर्मचारीमा संक्रमण देखिएको छ।

तीन साताअघि नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि करिब एक साता सेवा प्रभावित भयो। त्यस्तै अवस्था कपिलवस्तु, पाल्पा र अर्घाखाँचीका जिल्ला अस्पतालहरूले पनि भोगे। निसंक्रमणीकरणर कन्ट्याक्ट टे«सिङका लागि केही दिन सेवा बन्द गरियो। दरबन्दी नै पूरा नभएका अस्पतालका चिकित्सक र नर्स नै आइसोलेसनमा बस्नुपर्दा कम्तीमा एक महिना सेवा प्रभावित हुने स्वास्थ्यकर्मीहरू बताउँछन्।

प्रदेश ५ मा स्वास्थ्यकर्मीहरूमा संक्रमण बढ्दै जाँदा स्वास्थ्य संस्था नै संक्रमणको केन्द्र बन्ने जोखिम बढेको छ। सरकारी, निजी तथा समुदायिक अस्पतालहरूलाई जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको छ। स्वास्थ्यकर्मीहरूकै मनोबलमा समेत यसले असर गरिरहेको जनस्वास्थ्यविद्हरूको विश्लेषण छ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा २ सय २३ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। तीमध्ये आधाजसो संक्रमणमुक्त भई काममा फर्केको र केही आइसोलेसनमै रहेको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए। बाँकेका प्रजिअ रामबहादुर कुरुम्बाङका अनुसार जिल्लामा १ सय ५० भन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। तीमध्ये आधाजसो अहिले पनि आइसोलेसनमा रहेको प्रजिअ कुरुम्बाङले बताए। कपिलवस्तुमा ३६ जना, दाङमा ३४, नवलपरासीमा १४, प्युठानमा १३, बर्दियामा आठ, अर्घाखाँचीमा चार, गुल्मी र पाल्पामा दुई÷दुईजना र रोल्पामा एकजना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामध्ये आधाजसो संक्रमणमुक्त भएर काममा फर्केको सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरूले जनाएका छन्।

स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएपछि सर्वसाधारणले स्वास्थ्य सेवा लिन हिच्किचाएका घटना पनि छन्। रूपन्देही तिलोत्तमाकी एक गर्भवती महिलाले बुटवलको प्रादेशिक अस्पतालका डाक्टर, नर्स संक्रमित भएको सुनेपछि गर्भ जाँच गराउनै नगएको बताइन्। स्वास्थ्यकर्मीहरूबाटै आफू र आफ्नो बच्चालाई खतरा हुन सक्ने आशंका व्यक्त गरिन्। ‘डेलिभरी पनि घरमै भइदिए हुन्थ्यो, हेरौं के हुन्छ,’ ती महिलाले भनिन्। बुटवलकै मुटु अस्पतलामा उपचार गराइरहेका तिलोत्तमाका एक मिर्गौला रोगीले सो अस्पतालमा कोरोना पसेको भन्दै फलोअपमा जान डर लागेको बताए।

डब्लुएचओका एक प्रतिनिधिले सरकारले जारी गरेको संक्रमण रोकथाम तथा नियन्त्रण निर्देशिकालाई पालना नगर्दा सरकारी अस्पतालहरू नै संक्रमणको केन्द्र बन्ने जोखिम बढेको बताए। तीन महिनाअघि जारी भएको गाइडलाइनमा विशेषगरी इक्युपमेन्टहरूको निर्मलीकरण, फर्निचर, स्टेथोस्कोप, थगथर्मोमिटरजस्ता इक्युपमेन्टहरूलाई अनिवार्य निसंक्रमणीकरण गर्ने, मास्क, सेन्टिइजरको उचित प्रयोग, सामाजिक दूरीसँगै अस्पताल तथा स्वास्थ्य संस्थाहरूको सरसफाइमा विशेष ध्यान दिन भनिएको छ।

तर स्वास्थ्यकर्मी भने जनशक्ति अभाव, बिरामीको बढ्दो चाप, कोभिड र नन कोभिडका बिरामीलाई एउटै अस्पतालले सेवा दिनुपर्ने, बिरामीको पिसिआर टेस्ट नहुनु र पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री नपाउँदा स्वास्थ्यकर्मी संक्रमणको जोखिममा परेको बताउँछन्। ‘स्वास्थ्यकर्मीलाई पनि ज्यानको माया छ, जानाजान कसैले रोग निम्त्याउँदैन,’ बुटवलको कोरोना अस्पतालका डा. सुदर्शन थापाले भने। बुटवलको कोरोना अस्पतालले नथेग्दा लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै संक्रमतिको उपचार गरिएको र त्यसले स्वास्थ्यकर्मीसँगै अन्य बिरामीलाई समेत जोखिमा पारिरहेको डा. थापाले बताए।

दरबन्दीअनुरूपको जनशक्ति नभएका बेला चिकित्सक नर्स नै आइसोलेसनमा बस्नुपरेपछि सेवा प्रवाहमा समस्या भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। ‘सेवा प्रभावित नहोस् भन्ने हो भने सरकारले तत्काल केही जनशक्ति ब्याकअपमा राख्ने व्यवस्था गर्नुपर्छ,’ डा. गौतमले भने। कोभिड र नन कोभिडका बिरामीको उपचार सेपरेट बनाउनुपर्नेमा पनि जोड दिए।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले स्वास्थ्यकर्मीलाई संक्रमण भइदिँदा जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको बताए। प्रदेश सरकारले छिट्टै नै कोभिड अस्पतालहरूमा जनशक्तिसँगै आइसोलेसन, आइसियु र भेन्टिलेटरका बेड थप गर्ने तयारी गरिरहेको पुरानै आश्वासन डा. पौडेलले दोहो-याए।

प्रकाशित: ३ आश्विन २०७७ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App