न्युनतम तलबको माग राख्दै निजामती कर्मचारी अपताल (शिभिल अस्पताल)का कर्मचारीहरू आन्दोलित बनेका छन्। विभिन्न मागसहित अस्पताल परिसरमा कर्मचारीहरुले पाँच दिनदेखि धर्ना दिँदै आइरहेका छन्। महामारीको बेला जोखिम मोल्दै काममा खटिँदा पनि सरकारले उचित पारिश्रमिक नदिएको, तह वृद्धि नगरेको, सेवासुविधा, उपदान रोकेको, सञ्चयकोषमा रकम जम्मा नगरेकोलगायत माग राख्दै धर्ना दिँदै आइरहेका हुन्।
उनीहरुले अस्पताल सञ्चालक समितिले विनियमावली नै गायब बनाएको र कर्मचारीको पीडा नसुनेपछि यस्तो बेलामा पनि धर्ना दिनुपर्ने अवस्था आएको गुनासो गरे। अस्पतालका रेडियोग्राफर प्रदिप शर्माले यो समस्या २ वर्षदेखिकै रहेको बताए। उनले आफूहरुले सम्पूर्ण जिम्मेवारी निभाइरहे पनि अस्पताल सञ्चालन समिति र सरोकारवाला निकायले कर्मचारीको गुनासो नसुनेको जानकारी दिए। उनले भने, ‘हामीले विरामीको उपचार गरेकै छौं, खाजा खाने समयमा धर्ना दिएका छौं, तर कुनै सुनूवाई नै भएको छैन, यसअघि स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई पनि भेटेको हो तर उहाँहरुले टार्दै आउनुभएको छ।’
अस्पतालकी रेडियोग्राफर प्रतिभा पन्तले उच्च जोखिममा रहेर काम गरिरहेको अवस्थामा पनि सरकारी पक्षबाट मनोबल बढाउने कार्य नभएको बताइन्। उनले भनिन्, ‘घरमा तीन महिनाको छोरी छाडेर काम गर्न आएकी छु, यहाँ काम गरेको ८ वर्ष बित्यो तर, नत मलाई स्थायी गरिएको छ नत मेरो सुविधा नै बढाइएको छ,यस्तो बेलामा जोखिम भनेर हामी भाग्दैनौं तर हाम्रो कुरा सरकारले सुनिदिनुपर्छ ।’ बिहीबार स्वास्थ्यकर्मीहरुले कालोपट्टी बाधेर धर्ना दिएका छन्।
स्वास्थ्यकर्मीहरुले सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापनको माग राखेका छन्। यी माग पुरा नभएसम्म महामारीकै बेला भएपनि धर्ना नछाड्ने कर्मचारीहरुको भनाई छ।
निजामती अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले कर्मचारीहरु मारमा परेपछि धर्ना दिनुपर्ने अवस्था आएको बताए। उनले कर्मचारीलाई सरकारले नै अन्याय गर्दै आएकाले माग पुरा गराउन संघ लागिपरेको जानकारी दिए। ‘कर्मचारीहरुले काम गरिरहेकै अवस्थामा पनि कसैमा माग पुरा गर्न सरकारले तत्परता देखाएको छैन, धेरै समय भएपछि धर्ना दिन बाध्य भएका हौं,’ उनले भने।
प्रकाशित: १८ भाद्र २०७७ ०७:४२ बिहीबार





