१३ भाद्र २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टिन : कतै बिजोग कतै रहरलाग्दो

फाइल तस्बिर: नेपालगन्ज

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन स्थानीय तहले पालिकामा रहेका विद्यालयलाई क्वारेन्टिनका रूपमा विकास गरेर भारतलगायत विभिन्न ठाउँबाट आएकाहरूलाई व्यवस्थापन गरिरहेका छन् ।  

कैलालीमा विभिन्न पालिकामा स्थापना गरिएका क्वारेन्टिन मापदण्डअनुसार नहुँदा भने जोखिम पनि बढेको छ । स्थानीय पालिकाले मापदण्डविपरीतका क्वारेन्टिन बनाएर व्यवस्थापन गरिरहेको जिकिर गरिरहँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमण देखिएका अधिकतर क्वारेन्टिनमै बसेकाहरू रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए। निर्देशक अवस्थीका अनुसार मापदण्डविपरीतका क्वारेन्टिन कोरोना सङ्क्रमणको केन्द्र बनेकाले व्यवस्थित बनाउनुपर्छ । 

घोडाघोडी नगरपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालित क्वारेन्टिनको अवस्था दयनीय छ । एउटै कोठामा १५ जनासम्म बसेका छन् । क्वारेन्टिन स्थलमा शौचालय नहुँदा राति बाहिर गएर शौचालय गर्नुपर्ने बाध्यता छ । शुद्ध पिउने पानीको अभाव, विद्युत्, गर्मीजस्ता समस्या क्वारेन्टिनमा छन् ।  

यो पनि पढ्नुहोस्

नाम मात्रैका क्वारेन्टिन

यो घोडाघोडी नगरपालिकाको क्वारेन्टिनको उदाहरण मात्र हो । नगरपालिकाले पालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक भवन प्रयोग गरेर ६५ क्वारेन्टिन बनाएको छ । नगरपालिकाले सञ्चालन गरेका एक–दुई क्वारेन्टिनबाहेक हरेकमा समस्या छ । क्वारेन्टिनको मापदण्ड पूरा नभएका कारण क्वारेन्टिनबाटै सङ्क्रमण फैलने जोखिम पनि छ । घोडाघोडीमै व्यवस्थापन राम्रा भएका क्वारेन्टिन पनि केही छन् । नगरपालिका वडा नम्बर १० मा रहेको कान्ति माविमा सञ्चालित क्वारेन्टिनमा बसेकाहरू पारिवारिक वातावरणमा बस्न पाएको बताउँछन् ।  

क्वारेन्टिनमा बसेर भर्खरै घर फर्किएका घोडाघोडी–१० का नीरज नेपाली भन्छन्, ‘बिहानै चिया खाजा, अनि खाना दिउँसो खाजा, फेरि साँझ खाना खाइन्थ्यो क्वारेन्टिनमा, यस्तो राम्रो व्यवस्थापनमा बस्न पाइएला भन्ने सोचेकै थिएनौं ।’  

स्वयंसेवकहरूको आत्मीय व्यवहारले क्वारेन्टिन बसाइ झनै सजिलो भएको नेपालीको भनाइ छ । गौरीगंगा नगरपालिका–९ का तीन विद्यालयमा रहेका क्वारेन्टिन जिल्लाका अरू ठाउँका भन्दा फरक छन् । त्यहाँका क्वारेन्टिनको व्यवस्थापनमा युवा स्वतःस्फूर्त लागेका छन् । हरेक क्वारेन्टिनमा प्रत्येक दिन बिहान योग प्रशिक्षण गराइन्छ । मनोविमर्शकर्ताबाट क्वारेन्टिनमै मर्नोपरामर्श दिइन्छ र प्रत्येक दिन बेलुकी शारीरिक व्यायाम गर्न प्रेरित गरिन्छ । वडामा सञ्चालित क्वारेन्टिन व्यवस्थापनमा लागेका युवाको नेतृत्व गरेका मिलन ओली ‘विपतका बेला सबै एकजुट भएर अघि बढ्नुपर्ने हुँदा युवा मिलेर व्यवस्थापन तथा खटनपटनमा लागेको बताउँछन् ।

यो पनि पढ्नुहोस्

जुम्लामा एकीकृत क्वारेन्टिन

क्वारेन्टिनमा बसेकाहरूका लागि मनोविमर्शकर्ताबाटै क्वारेन्टिनस्थलमै मनोपरामर्शको व्यवस्थापन गर्ने आफूहरू मात्र भएको जिकिर गौरिगंगा–९ का वडाध्यक्ष हरिप्रसाद तिवारी गर्छन् । भारतबाट आउने क्रम बढ्नु तथा देशभित्रै अन्य स्थानबाट जिल्ला भित्रिने क्रम वृद्धिले क्वारेन्टिनमा बस्नेको सङ्ख्या एक्कासि बढेपछि मापदण्ड कायम गर्न नसक्दा सामूहिक बसाइले जोखिम बढेको व्यवस्थापनमा लागेकाहरू नै बताउँछन् ।

प्रकाशित: १ असार २०७७ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App