२९ भाद्र २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषिमन्त्री र अमेरिकी अधिकारीबीच शिष्टाचार भेट, के–के भयो कुराकानी ?

अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र अमेरिकी सहयोगी नियोग (युएसएआइडी)का मिसन डाइरेक्टर मिस कटिई डोनोहोले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग शिष्टाचार भेट गरेका छन् ।

विहीबार कृषि मन्त्रालयमा भेट भएको हो । भेटमा नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्ध, आपसी सद्भाव, समझदारी, सहयोगका साथै विविध विषयमा छलफल भएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा मन्त्री अधिकारीले अमेरिकाले सन् १९५० को दशकदेखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको स्मरण गरे । र, आगामी दिनमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोगका लागि आग्रह गरेको सचिवालयले जनाएको छ । नेपाल सरकारले दिगो विकास लक्ष्य(एसडिजी)प्राप्तिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, कृषि अनुसन्धानलाई बढवा दिने, कृषि पूर्वाधारको विकासमा तीव्रता दिने, उत्पादनको आन्तरिक एवं बाह्य बजारमा सहज पहुँच राख्ने, नेपालको भौगोलिक क्षेत्र विशेष कृषि उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरी कृषि पर्यटन समेतको सम्भावनालाई साकार पार्ने योजना रहेको मन्त्री अधिकारीले सुनाए । 

‘विश्वव्यापी भोकमरीको अन्त्य गर्न योगदान गर्ने हामीले लक्ष्य लिएका छौं । यी लक्ष्यहरू पूरा गर्न ठुलो लगानीको आवश्यकता पर्ने हुन्छ,’ मन्त्री अधिकारीको भनाई उल्लेख गर्दै सचिवालयस्रोतले भन्यो,‘यसका लागि युएसएआइडीको पहलमा अमेरिकी सरकारबाट आवश्यक भूमिका निर्वाह हुनेछ र सहयोग प्राप्त हुनेछ भन्ने मैले आशा गरेको छु।’ 

यस्तै नेपाल सरकारले चालु आर्थिक वर्षमा ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको पनि मन्त्री अधिकारीले बताए । उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने योजना रहेको उल्लेख गर्दैै अमेरिकी सरकारका तर्फबाट हुनसक्ने थप सहयोगका लागि आग्रह गरे । 

अमेरिकी अधिकारीहरूले आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए । एसएआइडी मिसन डाइरेक्टरले अधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको आश्वासन दिए ।

प्रकाशित: १३ भाद्र २०८१ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App