११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘लकडाउन’को मारमा परेका नगरका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका विपन्न परिवारलाई नगरपालिकाले बैसाख ७ गतेदेखि खाद्यान्न वितरण सुरु गरेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगर स्तरिय समन्वय समितिको बैठकको निर्णय अनुशार ११ वडालाई विनियोजन गरिएको १२ लाख ५० हजार बजेटबाट खाद्यान्न खरिद गरेर विहान बेलुकाको छाक टार्न कठिनाइ बेहोरीरहेका परिवारलाई वितरण सुरु गरिएको नगरप्रमुख इवन राईले बताए । नगरपालिकाले प्रतिवडा ७५ हजारदेखि डेढ लाखसम्म निकासा दिएपछि स्वयं वडा कार्यालयले असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहाय परिवार छानेर चामल, दाल, नुन, तेल, चिनी, साबुन जुटाएर वितरण सुरु  गरेको हो ।

हालसम्म हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ६० परिवारलाई १ हजार ८ सय केजी चामल, १०६ केजी दाल, ५३ केजी नुन, ५३ पोका तेल र १०६ थान सावुन, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ३२ घर परिवारलाई ८४० केही चामल, ८२ केजी दाल, ५६ केजी चिनी, ५६ केजी नुन, ५६ लिटर तेल र ११२ थान साबुन, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ८७ परिवारलाई १ हजार ८५० केजी चामल, १८५ केजी दाल, १८५ केजी नुन, १८५ केजी तेल, १८५ थान साबुन वितरण गरिसकिएको नगरपालिकाले जनाएको छ । धितुङका ७ घरलाई चामल मात्र प्रदान गरिएको छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १२४ परिवारलाई २ हजार ३१० केजी चामल प्रदान गरिएको छ । यस्तै, वडास्तरिय विपद व्यवस्थापन कोषबाट जिल्ला बाहिर वा विदेशबाट आएर होम क्वारेन्टीनमा बस्नेलाई प्रतिव्यक्ती १२ केजीका दरले २० दिन पुग्नेगरी ६९० केजी चामल तयारी अवस्थामा राखिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । अन्य वडाका विपन्न परिवारलाई पनि खाद्यान्न वितरण भइरहेको नगरपालिकाले जनाएको छ ।  

राहत वितरणको तस्बिर खिचाएर प्रचार–प्रसार नगर्ने
हाल थोरै राहत वितरण गर्ने र तस्बिर खिचाएर सामाजिक सञ्जालमा राख्ने होडबाजी नै चलेको देखिन्छ । एक/दुई छाक टर्ने खाद्यान्न बाँडेको तस्बिर खिचाएर ‘पपुलर’ काम गरेको देखाउन सामाजिक सञ्जाल रंगाउने होडले राहत लिने व्यक्ती नै अप्ठ्यारोमा परेको देखिन्छ । तर, हलेसी तुवाचुङ नगरपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहाय परिवारलाई राहत वितरणकाक्रममा प्रचार–प्रसार नगर्ने निती अख्तियार गरेको छ ।

राहत वितरणकाक्रममा नगरप्रमुख राई, नगरउपप्रमुख बिमला राई कुनै पनि वडामा पुगेका छैनन् । आवश्यक परिवारलाई छनौट गरेर राहत वितरणका लागि स्वयं वडाध्यक्षलाई जिम्मा दिइएको नगरप्रमुख राईले बताए । ‘वडालाई नै राहत बाँड्न भनेका छौँ । हामी गएर दुई पोका र चार पोका तेल बाँडेर फोटो चिखाएर जनतालाई हैरान बनाउनु उचित लागेन,’ मेयर राईले भने, ‘थोरै सहयोग गर्नु छ, धेरै प्रचार गरेर मान्छेलाई गरिब देखाएर आफ्नो लोकप्रियता बढ्छ भन्ने सोच्नु ठीक होइन ।’

प्रकाशित: ९ वैशाख २०७७ १६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App