वीर, नर्भिक, बिएन्डबी, ओम, मेडिकेयर कहिँ आइसियु खाली थिएनन्। सुन्धारास्थित लाइफ केयर अस्पतालमा आइसियु कक्ष खाली रहेको थाहा पाएपछि उनलाई त्यहाँ पुर्याइयो। भगवान्लाई धन्यवाद, शान्ता दुई सातापछि डिस्चार्ज भइन्। तर, उनका छोरा अरूणले लाइफकेयर अस्पताललाई उपचारखर्चवापत झन्डै ७ लाख रुपैयाँ तिर्नुपर्यो।
सरकारी अस्पतालमा जनशक्ति भए पनि पर्याप्त आइसियु कक्ष नहुँदा गम्भीर अवस्थाका बिरामी निजीमा महंगो सेवा लिन बाध्य छन्।
'सरकारीमा शैय्या अपर्याप्त छन्, निजीमा आइसियुमा राख्नु भनेको चिकित्सक, औषधी र अन्य शुल्क गरेर दैनिक ५० हजार रुपैयाँ बुझाउनु हो,' नेपाल चिकित्सक संघका अध्यक्ष डा.केदारनरसिंह केसीले भने, 'गम्भीर सेवामा लापरवाही हुँदा पनि न अनुगमन हुन्छ, न सरकारी सेवा विस्तारमा ध्यानै गएको छ।'
सरकारी अस्पताल वीरमा जम्माजम्मी पाँचवटा आइसियु छन्। वीरका एनेस्थेसिया विभाग प्रमुख डा.ब्रम्हदेव झाका अनुसार यहाँ ९ जना आइसियुसम्बन्धी (एनेस्थेसिया) विशेषज्ञ छन् तर थप १० वटा आइसियु सञ्चालन गर्ने उपकरण थन्किएरै बसेका छन्। आइसियु नपाएर दैनिक एक जनाजसो बिरामी यहाँबाट फर्काउनुपर्छ। आइसियुमा लामो समयसम्म राख्नुपर्ने हुँदा बेड हतपति खाली हुँदैन।
मुटु, फोक्सो, मृगौलाजस्ता महŒवपूर्ण अंगले काम गर्न छोडेपछि बिरामीलाई आइसियुमा उपचार गरिन्छ। 'यस्तो महŒवपूर्ण सेवा पनि हामीले प्रभावकारी बनाउन सकेका छैनौं,' एनेस्थेसिया प्रमुख झाले भने।
अर्को ठूलो अस्पताल त्रिवि शिक्षणमा पनि पाँचवटामात्रै आइसियु छन्। दैनिक २/३ जना बिरामी फर्काउनुपर्छ।
'चिनेजानेका साथीभाइबाट मात्रै आइसियु चाहियो भन्दै दैनिक दुई/तीनवटा फोन आउँछन्,' संघका अध्यक्ष डा.केसीले भने, 'राजधानीमा मात्रै २ सय आइसियु चाहिने अवस्था छ, तर निजी र सरकारी गरी ५० वटा पनि छैनन्।'
सरकारी पाटन र कान्तिमा पनि ५/५ वटामात्र आइसियु छन्। निजी ओम, विएन्डबि, नर्भिक, मेडिकेयर, काठमाडौ मेडिकल कलेज, बिपी स्मृतिलगायतका अस्पतालमा ६ देखि १० आइसियु कक्ष छन्। निजी लाइफकेयर अस्पतालमा सबैभन्दा बढी १२ आइसियु कक्ष छ। उपत्यकाबाहिर प्रमुख सहरमा भएकै थोरै आइसियु कक्ष हेर्न पनि विशेषज्ञै छैनन्।
'स्थापना गर्नैदेखि आइसियु स्तरको सेवा धेरै महंगो पर्छ,' ओम अस्पतालका कार्यकारी निर्देशक डा.हरिकिशोर श्रेष्ठले भने।
सामान्यतयाः आइसियुमा भर्ना भएपछि बिरामीलाई कम्तीमा दुई साता राख्नुपर्छ। पछिल्ला दिनमा बिरामीको मृत्युपश्चात आफन्तले चिकित्सकलाई आक्रमण गर्ने प्रवृत्ति बढेपछि गम्भीर बिरामी लिन निजी अस्पताल डराउँछन्। त्यसैले पनि आइसियुमा राख्ने बिरामी सरकारी अस्पतालै धाउँछन्।
यो सेवाका लागि निजीमा दैनिक १० देखि १५ हजार रुपैयाँ लाग्छ भने वीरमा १ हजार ५ सय। शिक्षण अस्पतालमा दैनिक ३ हजारहाराहारी। अधिकांश निजीले महंगो शुल्क लिए पनि आइसियुका बिरामीलाई नर्सिङ स्टाफको निगरानीमा राख्छन् र आवश्यक परेमात्र विशेषज्ञ डाक्छन्। वीर र शिक्षणमा जतिसुकै बेला विशेषज्ञ दिनसक्ने क्षमता छ। अन्तर्राष्ट्रिय मान्यताअनुसार अस्पतालको कुल शैय्यामध्ये १० प्रतिशत आइसियु हुनुपर्छ। तर, ५ सयभन्दा बढी बेडको सबभन्दा ठूलो वीरमै एक प्रतिशतभन्दा कम आइसियु छन्, अरूको त कुरै नगरौं!
आइसियु कक्षमा हुनुपर्ने मेकानिक भेन्टिलेटर, मुटुको अवस्था थाहा पाउने कार्डियाक मोनिटर, बल्ड ग्यासजस्ता विशेष उपकरण पनि कतिपय अस्पतालका आइसियुमा छैनन्। १५ लाखभन्दा बढी पर्ने भ्यान्टिलेटर, झन्डै त्यत्ति नै पर्ने कार्डियाक मोनिटर आइसियुमा हुनैपर्ने उपकरण हुन्।
संघका अध्यक्ष केसीले निजी क्षेत्रको आइसियु सेवाको अनुगमनसम्म हुन नसकेको बताए। चिकित्सकहरूका अनुसार अनुगमन अभावमा महंगो शुल्क लिएरै भए पनि ज्यान जोगाउनुपर्ने हुँदा बिरामी लुट्ने माध्यम बनेका छन् कतिपय निजी अस्पतालका आइसियु। 'आइसियुमा राखेपछि डाक्टर, औषधीलगायत विभिन्न नाममा महंगो शुल्क उठाइन्छ,' निजी अस्पतालका एक चिकित्सकले भने, 'एकपटक आइसियुमा राखेपछि अस्पताल बसेका सबै दिनको खर्च आइसियुकै जोड्छन्।'
लाइफकेयर अस्पतालमा दुई सातासम्म उपचार गराएकी शान्तिका छोरा अरूणका अनुसार एकै दिनमा ७ जनासम्म डाक्टरले हेरेको भनेर विशेषज्ञको २ हजार र सामान्यको १ हजार खर्च जोडेको देख्दा एकपटक त उनी आत्तिए। 'अचम्म त के भने आमालाई आइसियुबाटै डिस्चार्ज गरिएको छ,' उनले भने। लाइफकेयर अस्पतालमै केही दिनअघि बिरामीको मृत्यु भएपछि पनि समयमा पैसा नतिरेको भन्दै तीन दिन आइसियुमै राखेको गुनासो आफन्तले गरेका थिए।
प्रकाशित: २२ कार्तिक २०६७ २२:०६ सोमबार





