१५ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

दसैंमा खानपिनमा होस गर्नुस् है

दीपक दाहाल  - होस पुर्‍याउनुस् है- दसैंमा धेरैको भान्सामा पाक्ने बढी चिल्लो, मसालेदार र सही ढंगले नपकाएको खानाले रोग निम्त्याउन सक्छ।
दसैंमा पाचनसँग सम्बन्धित रोगीको समस्या थपिने चिकित्सकहरूको अनुभव छ।  'भर्खर समस्या सुरू भएका, उमेर पुगेका र वंशाणुगत दृष्टिले खतरा भएकालाई रोगले च्याप्ने बेला हो चाडबाड,' वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी भन्छन्। दसैंमा भान्सामा के पाक्दैन- मासु, अन्य चिल्लो, गुलियो, अमिलो, पिरो, नुनिलो! यस्ता खानाले कोलेस्ट्रोल, ब्लड प्रेसर, युरिक एसिड र सुगर बढाउँछ। 'यस्ता राग लागि नै सकेकालाई त झनै खतरा हुन्छ,' डा.रेग्मी भन्छन्।
चाडबाडका बेला आकस्मिक कक्षमा आउने बिरामी प्रेसर, पक्षाघात, हृदयाघात र मुटुको धड्कन बेतालले चल्ने समस्या लिएर आउने बढी हुन्छन्। मासुसँगै रक्सी पनि खाँदा मुटु धेरै धड्किने समस्या हुन्छ जसलाई प्याङ्क्रियाटिक्स भनिन्छ। 'मेरै अनुभवमा दसैंमा एकछिन फुर्सद हुँदैन, मोबाइल र ल्यान्डलाइनमा यस्ता लक्षण देखिएका बिरामीको फोन आइरहन्छ,' डा.रेग्मीले भने, 'धेरैजसो छाती दुख्यो भन्छन्, रक्सी, मासु, त्यसको मूल कारण हो।'
चिकित्सकहरू मासु खाँदा बोसो र छाला फालेर खान सुझाउँदै खसीभन्दा कुखुरा र माछा स्वस्थकर हुने बताउँँछन्। मासु प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रणबाट बनेको हुन्छ।
'प्रेसर, सुगर र मिर्गौलाका रोगीमा चाडबाडको भोजनले गम्भीर अवस्था निम्त्याउन सक्छ,' शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा.दिव्या सिंहले भनिन्, 'नुनिलो, बोसो र रक्सीले डाइबिटिज पनि बढाउँछ।'
डा.रेग्मीका भनाइमा बोसोयुक्त मासु यसै हानिकारक हो, यसमा हालिने तेलले मुटु, मसलाले कलेजो र नूनले मिर्गौैलालाई प्रत्यक्ष असर गर्छ। 'छाला भएको मासुमा बोसो र कोलेस्ट्रोल बढी हुन्छ, उसिनेर वा रोस्ट गरेर पकाउँदा उत्तम,' उनले भने, 'मासु खाँदा हरियो सागपात र सलादसँंग खानुपर्छ।' सागपात र सलादमा हुने फाइबरले कोलस्ट्रोल घटाउने उनले बताए।
काँचो मासुले पशुपक्षीमा भएका जुका र रोगका जिवाणु सिधै सार्ने सम्भावना हुन्छ। प्रेसर, सुगर, कोलेस्ट्रोल नभएकामा पनि काँचो मासुले पाचनसम्बन्धी समस्या ल्याउन सक्छ। चिकित्सकका अनुसार गर्भवती, मरेको, बुसेलोसिस वा अन्य संक्रमणजन्य रोग लागेका पशुपक्षीको मासु खानु हुँदैन।
'मासुुमा तेल, मसला र नुन सकेसम्म कम राख्नुपर्छ,' डा. रेग्मीले भने, 'खाना पकाउन धेरैजसो वनस्पति तेल प्रयोग गरिन्छ। तेलमा प्रसस्त पाइने ट्ाइग्लिसेराइडले कोलेस्ट्रोल बढाउनुका साथै मुटुमा नकारात्मक असर गर्छ।'
सूर्यमूखी घिउमा कोलेस्ट्रोल र स्याच्युरेटेड फ्याट बढी हुन्छ। तेल, अन्डा, घिउ र डिपफ्राइ गरिएका खाना मुटुरोगीका लागि बढी हानीकारक हुन्छ।

 

प्रकाशित: २७ आश्विन २०६७ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App