८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

जनश्रमदानबाटै खोला तर्न साँघु निर्माण

खोटाङको साकेलामा चलाइएको श्रमदान अभियानबाट एकपछि अर्को विकास निर्माणका कामहरु ध्माधम हुदै गएका छन् । यसै सिलसिलामा भर्खंरै ३ नं. वडाको खिदिमास्थित खोलामा श्रमदानबाटै साँघु (काठे पुल) निर्माण भएको छ ।  

खिदिमाका बोराटोल तथा मखमलेटोलबासीले ३ दिन श्रमदान गरेर काठको साँघु निर्माण गरेका हुन् । दुईवटा टोलबस्तीबीचको चट्टानी खोला खहरेमा स्थानीयलाई आउजाउ गर्न निकै अप्ठेरो भईरहेकाले सहज बनाउन साँघु निर्माण गरेको उनीहरुले बताएका छन् । परापूर्वकालदेखि नै प्राकृतिक ढुङ्गैढुङ्गा थुप्रिएको खहरेमा हिडडुल गर्न निकै गाह्रो हुदै आएकाले साँघु हाल्न श्रमदान गराइएको हो ।  

दुवै टोलबासी स्थानीय मिलेर ३ दिनको श्रमदानबाट १५ मिटर लामो साँघु तयार भएको वडाध्यक्ष गोविन्द तामाङले बताए । उनका अनुसार साँघु निर्माण भएपछि सो अप्ठेरो ठाउँमा बाह्रैकाल आउजाउ गर्न सहज हुने भएको छ । खासगरि बर्खायाममा बालबालिकालाई स्कुल आउजाउ गर्न, बृद्धबृद्धा र अशक्त अपाङ्गता तथा विरामी परेकालाई उपचारार्थ स्वास्थ्य चौकी लान ल्याउन सास्ती हुने ठाउँमा साँघु निर्माण गर्दा अत्यन्त उपलब्धीमूलक भएको वडाध्यक्ष तामाङ बताउँछन् ।  

त्यसैगरि खिदिमाबासीलाई गाउँपालिका केन्द्र मानेभञ्ज्याङ आउजाउ गर्ने नाका भएकाले साँघु बनाइएपछि हिउदबर्खा हिडडुल गर्न अव जोखिममुक्त भएको छ । सानै खोला भए पनि बर्खायाममा आउने बाढीले पैदल यात्रीलाई निकै दुःख दिने गरेको खहरेमा पुल हाल्ने बजेट नभएपछि श्रमदानबाटै काम चलाउ साँघु बनाइएको हो ।  

गाउँपालिकाकै अगुवाईमा भईरहेको श्रमदान अभियानमा पछिल्लो समय स्थानीयहरु सक्रिय सहभागी हुने गरेका छन् । श्रमदानले समुदायमा गाउँको विकास निर्माणप्रति लगाव बढ्दै गएको तथा यसले जिम्मेबार र आत्मनिर्भर हुन सहयोग पुगेको गाउँपालिका अध्यक्ष रविप्रकाश राई बताउँछन् । गाउँपालिकामा आउने सीमित स्रोतसाधन र बजेटले सबै आवश्यक्ता सम्बोधन गर्न नसकिने भएकाले आफै अग्रसर भएर श्रमदान अभियान चलाएको उनले बताए ।  

‘वार्षिक वजेट धेरै कम आउने गरेको छ, आवश्यक्ता र चाहना असीमित छ’ अध्यक्ष राईले भने ‘यस्तो अवस्थामा श्रमदान एउटा उत्तम विकल्प भन्ने लागेर आफै नेतृत्व लिएर श्रमदान अभियान चलाएका हौँ ।’ अध्यक्ष राईका अनुसार ६–७ महिनाअघि सुरु गरेको अभियान अन्तर्गत अहिलेसम्म साकेलामा देखिने र अनुभव गर्न सक्नेखालका थुप्रै विकास निर्माणका कामहरु भएका छन् । खासगरि वजेट अभावले पिल्सिएका, मर्मत संभार नपाएका र साना तर महत्वपूर्ण योजनाहरु श्रमदानबाट सहजै बनाउन सकिने उनको अनुभव छ ।  

श्रमदानले स्थानीय सानातिना समस्या समाधान गर्न र श्रमदानबाट ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने भावनालाई व्यवहारमा उतार्न सहज भएको ठहर उनले गरेका छन् । अध्यक्ष राईले सानो तिनो कामका लागि वजेट माग्दै सरकार गुहार्दे हिड्नुभन्दा गाउँले आपसमा मिलेर श्रमदान गर्दा छिटो र दीगो काम हुने निश्कर्षमा पुगेको बताए । यसअघि विभिन्न खण्डका सडकहरुको ममृतसंभार तथा सरसफाई श्रमदानबाटै गरेर अवरुद्ध यातायात सुचारु गरेको अनुभव सुनाउँदै अध्यक्ष राईले साँघु निर्माणले स्थानीयलाई धेरै सहज भएको बताए ।  

‘जनश्रमदानले एकातिर सानो देखिने तर, महत्वपूर्ण कामहरु सजिलै हुने देखियो भने अर्कातिर स्थानीबासीमा सहकार्य र समन्वय गर्ने परिपाटीको विकास पनि हुने रहेछ’ अध्यक्ष राईले अनुभव साझा गरे ‘अर्को फाईदा नागरिकलाई आत्मनिर्भर बनाउदै श्रम सँस्कारलाई सँस्थागत गर्दो रहेछ ।’ साकेला गाउँपालिकाले लिएको ‘समृद्ध र सुसँस्कृत गाउँपालिका’को नारा पुरा गर्न श्रमदान अभियान एउटा महत्वपूर्ण पाटो सावित हुदै गएकोमा उनी थप खुसी भएका छन् । 

प्रकाशित: १५ पुस २०८२ १७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App