१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सुटुक्कै ज्यान लिने उच्च रक्तचाप !

एक साता अघि नेपाल डेभलपमेन्ट सोसाइटीले काठमाडौंमा गरेको रक्तचाप जाँच शिविरमा एक २७ वर्षीय युवक पुगे। उनको रक्तचाप जाँच्दा स्वास्थ्यकर्मी चकित परे। जाँचको क्रममा रक्तचापको सिस्टोलिक रक्तचाप(माथिल्लो)२४० मिलीमिटर मर्करी र डायस्टोलिक रक्तचाप १४० मिलिलिटर मर्करी  थियो। युवा उमरमै उनमा देखिएको यो परिणाम देखेर शिविरका स्वास्थ्यकर्मी चकित परे। कम उमेरमै देखिएको उनको रक्तचाप देखेर चकित परेका अभियानकर्ताले उनलाई तुरुन्तै उपचारमा जान सिफारिश गरे।

शिविरमा सहभागी नेपाल डेभलपमेन्ट सोसाइटीका सोसाइटीका जनस्वास्थ्य अधिकृत हरिकृष्ण भट्टराईका अनुसार शिविरमा नपुगेको भए उनी लामो समय रक्तचाप रोग पालेरै बस्थे। समयमै उपचार नपाएको भए हृदयघात,मस्तिष्कघात तथा पक्षघात तथा अन्य रोगको ठूलो जोखिममा हुन्थे।  मे महिनाभर सोसाइटी लगायत अन्य स्वास्थ्य संस्थाले बिभिन्न समुदायमा पुगेर रक्तचाप जाँच शिविर चलाए। सोसाइटीले चलाएको बिभिन्न शिविरमा कम उमेरमै उच्च रक्तचाप हुने धेरै रहेको तथ्याकं छ। ‘उच्च रक्तचापको समस्या छ नै,कम उमेरमै बढी देखिन्छ’ शिविरको अनुभव साट्दै भट्टराईल भने।

पछिल्लो समयमा उमेर पुगेका र कम उमेर दुवै समुहमा उच्च रक्तचापको समस्या तिब्र रुपमा बढिरहेको चिकित्सक तथा अभियन्ताहरुले  औल्याएका छन्। गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा दैनिक चार÷पाँच जना उच्च रक्तचापका बिरामी मात्र पुग्छन्। ती मध्ये दुई÷तीन जना युवा अवस्थाकै छन्। ‘ कतिपयको कारण थाहा हुँदैन,उच्च रक्तचापका टाउको दुख्यो,रिंगटा लाग्यो भन्दै आएको देखिन्छ’केन्द्र आकस्मिक कक्षका चिकित्सक डा.जगत अधिकारीले भने। कक्षमा दैनिक औसत ७० जना विरामी पुग्छन्।

केन्द्रका मुटुरोग बिशेषज्ञ डा.दीवाकर शर्माको अनुभवमा हृदयघात,पक्षघात र मस्तिष्कघात भएर पुग्नेमा धेरै जसो उच्च रक्तचापको कारण देखिन्छ। कतिपयको उपचारमा पुग्दा–पुग्दै मृत्यु हुन्छ। डा.शर्मा भन्छन्,‘यो उच्च रक्तचापले सुटुक्कै ज्यानै लिन्छ’। गंगालालमा पुगेका हृदयघातका बिरामी मध्ये १२ प्रतिशत कम उमेरका छन्।

पछिल्लो समय यो रोगको मापदण्ड भन्दा कम उमेरमा देखिने स्थिति प्रति सजक हुनु पर्ने डा.शर्मा बताउँछन्। उनको अनुभवमा वीस वर्ष पहिले र अहिले देखिएको उच्च रक्तचापको स्वरुपमा फरक भनेकै कम उमेरमा देखिनु हो। ‘पहिला चालिस वर्ष भन्दा कम उमेरकामा उच्च रक्तचापको समस्या देखियो भने र्नौलो थियो र चिकित्सकको लागि खोजीको बिषय बन्थ्यो,अहिले उल्लेखनीय संख्यामा छन्’उनले भने।

के हो उच्चरक्तचाप ?

–मुटुले पम्प गरेर शरिरको हरेक अंगमा पु-याउँछ  र विकार तत्व फर्काएर लिएर फोक्सो,मिर्गौैलामा पठाउने काम गर्छ। मुटुले  रगत पम्प गर्दा उत्पन्न हुने चापलाई रक्तचाप भनिन्छ। मुटुको आफ्नै समस्या,रगतका नलीहरुमा आउने समस्या र अन्य रोगको कारणले रक्तचाप बढी हुने अवस्तथालाई उच्च रक्तचाप भनिन्छ। स्वस्थ व्यक्तिको हकमा १२० मिलिलिटर मर्करी भन्दा माथि  सिस्टोलिक रक्तचाप र ८० मिलिलिटर मर्करी डायस्टोलिक रक्तचाप हुनु पर्छ। यी अंक भन्दा माथि भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ। नेपाल तथा विश्वभर द्धितिय र प्राथमिक रोगको कारण उच्च रक्तचापको समस्या साझा समस्या बनिरहेको बिज्ञहरुले बताएका छन्।

विश्व स्वास्थ्य संगठनको अनुसार विश्वको एक तिहाइ मृत्यु उच्च रक्तचापको कारणले हुने गरेको छ। विश्वभर नसर्ने रोगबाट मृत्यु् हुने गरेकोमा पहिलो कारण उच्च रक्तचाप रहेको छ। सन् २०१७ को ग्लोवल वर्डेन अफ सोसाइटीको प्रतिवेदन अनुसार उच्च रक्तचापको कारण नेपालमा प्रति वर्ष २५ हजारको मृत्यु हुने गरेको छ। नेपालको तथ्याकं अनुसार प्रति वर्ष ३३ हजारको मृत्यु उच्च रक्तचापको कारणले हुने गरेको छ।

उच्चरक्तचापको समस्या भएका मध्येमा ५० प्रतिशतलाई थाहा छैन। नेपालमा पनि उच्च रक्तचाप भएका ५० प्रतिशतलाई जानकारी छैन। उच्च रक्तचापको उपचारमा पुगेका मध्ये १० प्रतिशतको मात्र रक्तचाप नियन्त्रणमा छ।

केही वर्ष पहिले समुदायमा गरेको एक अध्ययन अनुसार उच्च रक्तचाप भएका विरामी मध्येमा ४० प्रतिशतलाई आफुलाई उच्च रक्तचाप छ भन्ने जानकारी थियो। रक्तचापको समस्या भएका मध्येमा ३० प्रतिशत मात्र उपचार पुगेका छन्। उपचार गरेका मध्ये ६ प्रतिशतको मात्र रक्तचाप नियन्त्रणमा थियो। विश्वव्यापी रुपमा १६ प्रतिशतमा मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको तथ्याकं छ।

सन् २०१७ देखि विश्व भरि विश्व रक्तचाप दिवस मनाइरहेको छन्। बिगत पाँच वर्षदेखि विश्व भर‘आफ्नो रक्तचाप थाहा पाउँ र रक्तचाप नियन्त्रणमा राखौं’भन्ने मूल नारा अघि सारेको छ। चार वर्षदेखि नै यो दिवस मे महिनाभर मनाउने गरिएको छ। नेपालमा पनि टिचिङ अस्पताल महाराजगंज,गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र,नेपाल डेभलपमेन्ट सोसाइटी,मृगेन्द्र चिकित्सा सम्झना गुठी लगायत स्वास्थ्य संस्थाहरुले नेपालभर यो महिनाभर उच्चरक्तचाप जाँच शिविर तथा जनचेतना शिविरको अभियान चलाए।

उच्च रक्तचापले निम्त्याउँछ यी रोगहरु

उच्च रक्तचापको समयमै उपचार गरी नियमित औषधी सेवन नगरेमा र जीवनशैली परिवर्तन नगरेको अवस्थामा बिभिन्न गम्भिर जोखिम रोग लाग्छन्। कालान्तरमा तिनै रोगहरु मृत्युको कारण बन्ने चिकित्सक बताउँछन्। गंगालाल हृदय केन्द्रका डा.शर्माका अनुसार उच्च रक्तचाप नियन्त्रणमा नभएमा मस्तिष्कघात,हृदयघात,पक्षघात,मिर्गौला बिग्रिने,मुटु फेल हुने र आँखाको दृष्टि गुम्ने जस्ता जटिल रोग लाग्छ। पछिल्लो समय अस्पतालमा बृद्धि भइरहेको यी रोगहरुको कारण पनि उच्च रक्तचाप मुख्य कारण रहेको चिकित्सक औल्याउँछन्।
  उच्च रक्तचाप किन बढ्यो ?

– नेपालीहरुमा फेरिंदै गएको जीवनशैली उच्च रक्तचाप कम उमेरमै बढ्नुको मुख्य कारण रहेको चिकित्सक बताउँछन्। नेपालमा बढ्दो सहरीकरणको कारण शारिरीक श्रम र व्यायम गर्ने चलनको अन्त्य हुँदै गएको छ। त्यसै गरी खानामा नुनको मात्रा बढी समावेश हुनु,चिल्लो तथा वोसोयुक्त खानाहरु बढी खानु र आरमदायी जीवन अपनाउनु यो रोगको मुख्य कारण हो। नेपाल डेभलमेन्ट सोसाइटीका सचिव भट्टराईका अनुसार सोसाइटीले हालै पोखरामा गरेको सर्वेक्षण अनुसार तीन गुणा बढी नुन खपत हुने गरेको पाइएको छ। चिकित्सा बिज्ञान अनुसार दैनिक ४ ग्राम भन्दा बढी नुन खानु हुँदैन। उनीहरुले भने दैनिक १६ मिलिग्राम भन्दा बढी नुन खपत गर्ने गरेको पाइएको छ। त्यसै गरी खाने शैलीमा चुरोट सेवन,रक्सी सेवन,शारिरीक व्यायमको कमी जस्ता गलत जीवनशैली अपनाइएको पाइएको छ।

त्यसै गरी नेपालीको दैनिक भोजनमा फलफूल समावेश गर्ने चलन पनि कमी छ। सन् २०१४ मा विश्व स्वास्थ्य संगठनको स्टेप सर्वेक्षणले नेपालमा फलफलुको खपत कम हुने गरेको देखाएको छ। सहरमा खेल्ने चौर तथा हिंड्ने सडकको अभावमा मानिसहरु घरभित्रै बढी सयम बिताउने गरेको डा.शर्मा बताउँछन्। ‘गाउँको तुलनामा सहरमा यो  समस्या बढी छ’उनले भने। नेपालमा रक्तचाप जाँचको स्थानीय तहमा पहुँच नपुग्नाले पनि यो रोग बढिरहेको छ।

कसरी उच्च रक्तचापको जोखिमबाट कसरी बच्ने ?   

चिकित्सकका अनुसार उच्च रक्तचापले कालान्तरमा गएर मस्तिष्कघात,पक्षघात,मिर्गौला,मुटु बिग्रिने र आँखाको ज्योति गुम्ने जस्ता जटिल रोग लाग्ने हुनाले समयमै आफ्नो रक्तचापको जाँच गर्नु पर्ने छ। पहिल्यै उच्च रक्तचाप भएकाले प्रत्येक ६ महिनामा आफ्नो रक्तचाप जाँच गर्ने र चिकित्सकको सुझावमा औषधी सेवन गर्ने र १८ वर्ष माथिका जो सुकैले हरेक वर्ष रक्तचापको जाँच गरेर आफ्नो अवस्था थाहा पाउनु पर्छ। यो रोगको समयमै पहिचान गर्न सकेमा यो रोगले निम्ताउने दोस्रो जटिल रोगको शिकार हुनु पर्दैन। ‘ समयमै रक्तचाप नियन्त्रणमा राखेमा मुटु,मिर्गौला र मुटुरोगमा लाग्ने निजी र सरकारी खर्च दुवै घटाउन सकिन्छ’सचिव भट्टराईले भने।

नेपालमा स्थानीय तहसम्म रक्तचाप जाँचको पहुँच नभएकोले पनि यो रोगको जटिलता बढ्ने गरेको छ। सरकारले स्थानीय निकायमा रक्तचाप जाँचको पहुँच बृद्धि गर्ने र यो रोगको जनचेतना कार्यक्रम संचालन गरेमा यो रोगको बृद्धि र जटिलता नियन्त्रण गर्न सकिने अभियन्ताहरुको सुझाव छ। उच्च रक्तचापको जोखिमबाट बच्नको लागि हरेकले स्वस्थ जीवनशैली अपनाउनु पर्ने भइसकेकाले नियमित औषधी सेवन गर्न सुझाव छ।

– नियमित व्यायम गर्ने
– श्वाँ–श्वा गर्ने गरी व्यायम गर्ने
– उच्च रक्तचाप हुनेले प्रत्येक ६ महिनामा आफ्नो रक्तचाप जाँच गर्ने
–रक्तचाप भइसकेकाले नियमित औषधी सेवन गर्ने
– खानामा फलफूल र सागसब्जी समावेश गर्ने
–मानसिक तनाव नलिने
– १८ वर्ष माथिकाले वर्षमा एक पटक रक्तचाप जाँच गर्ने
– खानामा नुन र चिल्लोको मात्रा कम समावेश गर्ने
– प्रशोधित खानाहरु जंकफुड नखाने
–धूमपान र मध्यपान नगर्ने

लक्षणहरु

– छाति भारी हुने
–श्वाँ–श्वाँ हुने
–मुटु हल्लिने
– आधामा कुनै पनि लक्षण देखिंदैन
– श्वास फेर्दा गाह्रो हुने

प्रकाशित: १८ जेष्ठ २०७६ ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App